धर्म, संस्कृति जोगाउन महायज्ञ

समाधान संवाददाता २०८० फागुन २१ गते ११:५४

पोखरा ।
सबै धार्मिक संघ, संस्थाको पहलमा पोखरामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको छ । लोक कल्याणार्थ सत्कर्मबाट नववर्षको प्रारम्भ गर्न अभिप्रायले २०८१ वैशाख १ देखि १० गते सम्म पोखराको प्रर्दशनी केन्द्रमा महायज्ञ गर्न लागेको महायज्ञका संयोजक लक्ष्मण पौडेलले जानकारी दिए ।

Advertisement


सन्त समाज नेपालका अध्यक्ष ज्ञानानन्द सरस्वती महाराजले विशुद्ध रुपमा धार्मिक यज्ञ गर्न लागेको बताए । उनले क्याम्पस, स्कुल, बाटोघाटो लगायत आधुनिक शिक्षालयको लागि समेत महायज्ञ लगाउने गरेको उल्लेख गरे ।


‘सनातन धर्म माग्ने मात्र भाँडा होइन,’ उनले भने, ‘रकम संकलन गर्ने वाहानामा लगाएका महायज्ञबाट विकृति बढेको छ । हाम्रो महायज्ञमा कसैसँग हात थाप्ने होइन ।’ उनले २ सय ५० देखि ३ सयसम्म कर्ताका लागि केही खर्च लाग्ने जानकारी दिए । उनले धर्म संस्कृतिको रक्षा गरी नेपाल विश्वको गुरु भूमिको रुपमा रहनुपर्ने प्रस्ताव गरे ।

Advertisement


विश्व हिन्दू महासंघ नेपालका उपाध्यक्ष शंकर खरालले अहिले भइरहेका महायज्ञ भन्दा फरक ढंगले कार्यक्रम गर्ने बताए । उनले यज्ञ अवधिभर दान दिने व्यक्तिको नाम घोषणा नगर्ने उल्लेख गरे ।


महायज्ञका संयोजक पौडेलले महायज्ञमा हरिहर सन्यास आश्रम देवघाटका पीठाशीश ज्ञानानन्द सरस्वति महाराजबाट प्रवचन हुने बताए । उनले सप्ताहमा देशभरीका सन्त महन्त पीठाधीशको सहभगिता रहने जनाए । महायज्ञ मुल समारोह समितिका उपाध्यक्ष हिक्मतबहादुर कुँवरले सप्ताह ज्ञान महायज्ञबाट बचत हुने रकम वैदिक गुरुकुलको सहयोगका लागि खर्च गरिने उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया