विन्दवासिनी सहकारीका अध्यक्षसहित ३ पक्राउ

पोखरा ।
पोखरा ९ मा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारीको करिब सात करोड ठगी आरोपमा ३ जना पक्राउ परेका छन् । कास्की प्रहरीले आइतबार साँझ सहकारीका अध्यक्ष सुवर्णमान नकर्मीसहित ३ जनालाई पक्राउ गरेको हो ।
बचतकर्ताले सहकारीमा ठगी भएको उजुरी दिएपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले विन्दवासिनीमा छानबिन गरेको थियो । आइतबार साँझ विन्दवासिनीको छानबिन प्रतिवेदन बुझाएपछि प्रहरीले तत्कालै ३ जनालाई पक्राउ गरेको हो । सम्बद्ध थप व्यक्तिहरुविरुद्ध चाँडै पक्राउ पुर्जी जारी हुने र कारवाहीअघि बढ्ने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।
‘सहकारीको केसमा हामीले क्विक एक्सन गरेका छौँ । हिजो साँझ साढे ६ बजे आंशिक कारवाहीका प्रतिवेदन हामीकहाँ आयो, त्यसको आधा घन्टामै मुख्य तीन जनालाई नियन्त्रणमा लिएका हौँ,’ प्रमुख भने, ‘अनुसन्धान जारी छ, ठगीमा संलग्न अरुलाई पनि नियन्त्रणमा लिन्छौं ।’
सहकारीका सचिव गंगाधर सुवेदी भने १५ दिनअघि बाटै सम्पर्क निगरानीमा रहे पनि फरार भएको स्रोतले जनाएको छ । पक्राउ परेका तीनै जनालाई सोमबार अदालतबाट सात दिन म्याद थप भएको छ ।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले प्रतिवेदनले विन्ध्यावासिनीमा ७ करोडभन्दा बढी रकम हिनामिना भएको औंल्याएको छ । पक्राउ पर्नेमा सञ्चालक समिति सदस्य ३३ वर्षीय कृष्णमान श्रेष्ठ र ४५ वर्षीय मेडिकल व्यवसायी उदीतसन्दीप पौड्याल छन् ।
पौड्याल पोखरा–८ मा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल कियर प्रालिका अध्यक्षसमेत हुन् । उनीसमेतले मिलोमतोमा सहकारीको जग्गा किनेको आरोप छ । अध्यक्ष नकर्मी र सचिव सुवेदीले मिलेर सञ्चालक समितिका अरुको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनले औँल्याएको छ ।
पोखरा २९ मा सहकारीको नाममा रहेको तीन रोपनी जग्गा किर्ते गरी बेचेर रकम हिनामिना गरेको उनीहरुमाथि अभियोग छ । सहकारीका अरु सञ्चालकले अध्यक्ष नकर्मी र सचिव सुवेदीलाई किर्ते हस्ताक्षर गरी सहकारीको सम्पत्ति हिनामिना गरेको दाबी गर्दै जिल्ला अदालत कास्कीमा दायर गरेको मुद्दा विचाराधीन छ ।
सो जग्गा ३ करोड ५९ लाख ९० हजारमा बिक्री भएको स्रोत बताउँछ । किर्ते गरी बेचिएको जग्गा ८ दिन भित्रमा फिर्ता गर्ने भनी अध्यक्ष नकर्मी र सचिव सुवेदीले गएको पुस २६ गते कागज गरेका थिए । प्रतिवद्धता बमोजिम जग्गा फिर्ता नभएपछि बचतकर्ताहरुले सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिएका थिए ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया