गण्डकीमा अन्तर प्रदेश खेलकुदको तयारी

समाधान संवाददाता २०८० फागुन २३ गते १२:३३

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीले बागमती प्रदेशमा पहिलो पटक हुन लागेको अन्तर प्रदेश राष्ट्रिय खेलकुदकोे तयारीका लागि जिम्मेवारी तोकेको छ । परिषदको कार्यकारी समितिको बैठकले परिषद सदस्यलाई विभिन्न ९ खेलका लागि संयोजक तोकेको छ ।

Advertisement


परिषदका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा भएको बैठकले परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, कार्यकारी सदस्य दिलबहादुर गुरुङ र ऋषिराम गौतमलाई अनुगमन समिति सदस्यको जिम्मेवारी दिएको छ । पुरुष भलिबलको संयोजकमा परिषदका सदस्य वसन्तराज दवाडी, महिला भलिबलको संयोजकमा शुभकन्या गुरुङ, फुटबलतर्फ आकृति भण्डारीलाई संयोजक तोकेको छ ।


क्रिकेटको संयोजकमा परिषदका सदस्य केशव पाठक, तेक्वान्दोमा योगिता सहानी, बक्सिङमा कार्यकारी सदस्य ऋषिराम गौतम, कराँतेमा योगेन्द्र शेरचन, एथलेटिक्समा गिरमान गुरुङ, पौडीमा योगेन्द्र गुरुङ र ब्याडमिन्टनको संयोजकमा विनय थापालाई जिम्मेवारी दिएको छ । प्रतियोगिता अन्तर्गत महिला/पुरुष फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, ब्याडमिन्टन, एथलेटिक्स, कराँते, तेक्वान्दो, भलिबल, पौडीखेलहरु सञ्चालन हुने छन् ।


बैठकले महिला फुटबलको २१ देखि चैत १ गतेसम्म नवलपुरमा प्रशिक्षण हुनेछ भने पुरुष फुटबल, तेक्वान्दो, एथलेटिक्स, पौडी, ब्याडमिन्टनको छनोट खेल यही फागुन २६ र २७ गते पोखरामा तथा कराँतेको सोही मितिमा पर्वतमा छनोट खेल आयोजना गर्ने गरी निर्णय गरेको छ । भलिबल महिला तथा पुरुष र बक्सिङको छनोट खेल २३ र २४ गते र क्रिकेट छनोट फागुन २६ देखि २८ गतेसम्म पोखरामा हुने छन् ।


सदस्य सचिव शर्माले सबै खेलका लागि खेलाडी छनोट गर्न परिषद र सम्बन्धित खेल संघमार्फत खुला आह्वान गरिने जनाउँदै छनौटमा सफल हुने खेलाडीलाई कम्तीमा पाँच दिनको बन्द प्रशिक्षणमा समावेश गर्ने बताए । छनोटलाई पारदर्शी र मर्यादित बनाउन आग्रह गर्दै सदस्य सचिब शर्माले सबै सदस्यलाई पहिलो पटक अन्तर प्रदेशमा हुने सहभागिताले दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत तयारीले प्रभाव पार्ने बताए ।

Advertisement


बजेटको सीमिततालाई ध्यानमा राख्दै छनोट कार्यक्रम गरेको बताउँदै उनले सीमित स्रोत र साधनका बाबजुद पनि खेलाडीहरुको मनोबल उच्च बनाउने गरी कार्य गर्नुपर्ने उनको भनाइ छ । बागमतीमा हुने अन्तर प्रदेश खेलकुदका लागि गण्डकीबाट ९ खेलमा करिब २ सय ५० खेलाडीको सहभागिता हुनेछ । प्रतियोगिता अन्तर्गत अधिकांश खेल चितवन र फुटबल हेटौडामा हुने तय छ ।

तपाईको प्रतिक्रिया