सम्पादकीयः गृहमन्त्रीका चुनौती

समाधान संवाददाता २०८० फागुन २९ गते ११:५५

संघ सरकारमा १३ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फर्किएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकै सरकारबाट गत वर्ष २२ माघमा रास्वपा बाहिरिएको थियो । रास्वपा सभापति रवि लामिछाने अदालतको आदेशबाट पदमुक्त भएपछि पार्टी नै सरकारबाट बाहिरिएको थियो । त्यस बेला रास्वपा सरकारबाट बाहिरिनुपर्ने सार्वजनिक कारण थिएन । लामिछानेले पाएको गृहमन्त्री अरुले नपाउने अवस्था नभएपछि रास्वपा सरकारबाट हटेको थियो ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछाने पार्टी सभापति, उपप्रधान एवं गृहमन्त्री र सांसद पदबाट मुक्त भएका थिए । पदमुक्त भएपछि रविलाई प्रधानमन्त्री प्रचण्डले फेरि सोही मन्त्रालय दिन मानेनन् । जवाफमा रविले आफ्ना दलका अरु मन्त्रीहरुलाई पनि फिर्ता बोलाएका थिए । श्रम मन्त्री डीपी अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्रीबाट डा तोसिमा कार्कीले राजीनामा बुझाएका थिए । त्यस बेला रास्वपा सभापतिले हट्नुपर्दा सरकारबाटै पार्टी हटेको थियो । त्यसलाई धेरैले स्वभाविक मानेका थिएनन् ।


त्यसयता सरकारबाहिर रहेको रास्वपाको १ वर्ष सामान्य गतिविधिमै बित्यो । रास्वपाले पार्टी संगठन निर्माणसहित केही दबावमुलक गतिविधि सञ्चालन गरेको थियो । संघीय संसदीय भूमिकामा रास्वपाका केही सांसद अब्बल देखिए । सुमना श्रेष्ठ, विराजभक्त महर्जन लगायतका सांसको भूमिका प्रशंसनीय मानियो । यो बिचमा उपनिर्वाचनमा रविसहित डा स्वर्णीम् वाग्लेसहित सांसद भएर आइसकेका थिए । तीनै श्रेष्ठ र महर्जनलाई साथमा लिएर रवि फेरि सरकारमा गएका छन् ।

Advertisement

धेरैले स्वर्णीम् पनि सरकारमा सामेल हुने अपेक्षा गरेका थिए । तर रास्वपाले उनलाई सरकारमा पठाएन । पार्टीका उपसभापति डीपी अर्याल र राविले पुरानै मन्त्रालय पाएका छन् । श्रेष्ठलाई शिक्षा र महर्जनलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी छ । अर्याल, सुमना र विराजभभक्त महर्जनलाई नयाँ पुस्ताले आशाको नजरले हेरेको छ । उनीहरुले केही न केही परिवर्तन गर्ने, परिवर्तन नभए पनि परिवर्तनको सुरुआत गर्ने अपेक्षा छ ।


पार्टी गठनको सात महिनाभित्रै अप्रत्यासित मत पाएर रास्वपा राष्ट्रिय राजनीतिमा स्थापित भएको थियो । यसो हुनुमा पुराना दलप्रति वितृष्णा जनाउने युवा पुस्ताकै साथ मुख्य हात छ । प्रवासमा रहेका युवा र देशभित्रको सहरी जनसंख्याको आकर्षण रास्वपाप्रति छ । रास्वपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराउने पंक्ति युवा हुन् । उनीहरु तुलनात्मक अस्थीर हुन्छन् । रास्वपाले जसरी पहिले सरकार छोड्यो फेरि प्रचण्डकै सरकारमा सामेल भयो, अब त्यसको उत्तर कामबाट दिनुपर्ने हुन्छ । परिस्थितिमा ठूलो बदलाव नभई सरकार त्याग र सामेल हुँदा पुरानै दलहरुको रोग रास्वपामा पनि भएको टिप्पणी हुन थालेको छ ।

Advertisement

प्रधानमन्त्रीपछि सबैभन्दा बढी शक्तिको अभ्यास हुने र धेरैको आकर्षण मानिएको गृहमा रविको दोस्रो इनिङ चुनौतीपूर्ण छ । एकातिर सत्ता साझेदार दलको सन्तुलन मिलाउँदै उनले काम गर्नुपर्ने हुन्छ भने अर्कातिर युवाको अपेक्षाको भारी उनीमाथि छ । सँगसँगै उनले आफूमाथि लागेको सहकारीको अनियमितताको आरोपलाई चिर्नु पनि छ ।

तपाईको प्रतिक्रिया