लेकसाइडमा सार्वजनिक शौचालय नबनाउन आदेश

समाधान संवाददाता २०८० फागुन ३० गते ११:०५

पोखरा ।
लेकसाइडको बाराहीचोकस्थित नेपाल भ्रमण वर्ष (भीएनवाई) पार्कमा सार्वजनिक शौचालय बनाउन उच्च अदालत पोखराले रोक लगाएको छ । उक्त स्थानमा पोखरा महानगरपालिकाले शौचालय निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै काम अघि बढाएको थियो । त्यसका विरुद्ध रिट परेको थियो ।

Advertisement


न्यायाधीशद्वय अमृतबहादुर बस्नेत र मिलनकुमार राईको संयुक्त इजलासले पार्कलाई पार्क नै रहन दिन र कुनै पनि भौतिक संरचना निर्माण नगर्न मंगलबार आदेश गरेको हो । यसअघि अदालतले असार २८ गते अन्तरिम आदेश गर्दै काम रोक्न भनेको थियो । मंगलबार सोही आदेश सदर भएको हो ।


सूर्य नेपाल प्रालिले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत १ करोड ४० लाख रुपैयाँ सहयोग गर्ने भएपछि सार्वजनिक शौचालय बनाउने महानगरपालिकाले निजी कम्पनी ‘एरोसान सस्टेनेबल स्यानिटेसन’ लाई जिम्मा दिएको थियो । त्यसका विरुद्ध असार २७ गते रिट अदालतमा परेको हो ।

Advertisement


अदालतले लेकसाइडको सडकभन्दा दक्षिण पश्चिमको भाग तालको मापदण्ड पर्नेसमेत जनाएको छ । सोही कारण पनि भौतिक संरचना निर्माण नगरी पार्कलाई खुला ठाउँ नै रहन दिनुपर्ने भनिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया