तोरन्ल गोल्ड कप सुरु

सुन्दरकुमार थकाली २०८० चैत २ गते १३:२९

जोमसोम ।

चारचन थकालीको महान पर्व तोरन्लको पूर्व सन्ध्यामा मुस्ताङमा १२ औं संस्करणको तारा खेल गोल्ड कप प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना तथा ङ्हसाङ थकाली क्षेत्र घाँसाको सहआयोजनामा घाँसामा बिहीबारदेखि अन्तर क्षेत्र तारा गोल्डकप प्रतियोगिता आरम्भ भएको हो ।


थकाली सेवा समिति केन्द्रले प्रत्येक ३ वर्षमा फरक फरक स्थानमा प्रतियोगिता गर्ने गरेको छ । परम्परागत तारा खेल पछिल्लो समय परिमार्जित हुँदै आर्चरीमा रुपमा स्थापित भएको छ । पुख्र्यौली थातथलो मुस्ताङमा बसोबास गर्ने थकालीहरु परापूर्व कालमा आत्मरक्षा, शत्रुको मुकाबिला गर्न र शिकार खेल्न प्रयोग धनुष वाँण प्रयोग गर्ने गर्थे । यही धनुष बाँण परम्परागत तारा खेलको रुपमा विकास हुँदै गएको हो ।

Advertisement


तोरन्ल आउन २ साता बाँकी रहँदा देशभरका चारचनले पर्वलाई अझै परिष्कृत र जीवन्त बनाउन तारा खेल आयोजना गरेका हुन् । तोरन्लमा पुरुषहरुले धसामा तारो प्रहार गर्ने र महिलाले कौडा (नाका भोटे) खेलेर मनोरञ्जन लिने गर्छन् । परम्परा जीवन्त राख्न तोरन्ल मनाउने गरिएको थकाली सेवा समिति केन्द्रले निरन्तर गोल्ड कप आयोजना गर्ने गरेको केन्द्रीय अध्यक्ष गजेन्द्र तुलाचन बताउँछन् ।


उनी तारा खेल बिनाको तोरन्ल निरर्थ हुने बताउँछन् ।‘थसेस केन्द्रले देशभरी छरिएर रहेका थकालीलाई एउटै मञ्चमा उभ्याएर प्रत्येक ३ वर्षमा तारा गोल्डकप आयोजना गर्छ,’ अध्यक्ष थकालीले भने, ‘यसअघि ११ पटक गोल्ड कप म्याग्दीको बेनीमा भएकोमा अहिले मुस्ताङमा हुँदै छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

Advertisement


गोल्डकपमा भाग लिन स्वदेश तथा विदेशमा बस्ने थकाली समुदायका युवा मुस्ताङ आएका छन् । प्रतियोगिता सुरु हुनुअघि ¥याली निकालिएको थियो । नेपालमा रहेका थकाली समुदायका १९ क्षेत्र र विदेशमा रहेका ३ मध्ये २ क्षेत्रका थकाली युवा तारा खेल्न मुस्ताङ आएका छन् ।


प्रतियोगिताका संयोजक सोमप्रसाद तुलाचनले गोल्ड कपमा सहभागी हुन २ सय ३ खेलाडी मुस्ताङ आएको बताए । खेलमा थकाली समुदायका २२ क्षेत्रका २९ टिमको सहभागिता छ । प्रतियोगितामा प्रत्येक क्षेत्रबाट ६ खेलाडीले भाग लिन पाउँछन् ।
१ सय ३२ पूर्णांकमा प्रत्येक क्षेत्रका खेलाडीले २२ पटकसम्म धसामा तारा प्रहार गर्न पाउने छन् । खेलाडीलाई एक डोर खेल खेल्न ४ मिनेट समय निर्धारण गरिएको छ । थकाली सेवा समिति टीकापुरका रोशनले थातथलो मुस्ताङमा आउँदा गौरावान्वित भएको सुनाए ।


प्रतियोगिताका च्याम्पियनले सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्रसहित नगद १ लाख पुरस्कार पाउने छन् । उपविजेताले ५० हजार र तेस्रो हुने टिमले नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । विशिष्ट धनुर्धरले नगद ७ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र जित्ने छन् भने अनुशासित टिमलाई समेत विशेष सम्मानसहित पुरस्कार दिइनेछ ।


प्रतियोगिता मुस्ताङका संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले धसामा तारा प्रहार गर्दै उद्घाटन गरेका थिए । कार्यक्रममा संघीय सांसद थकाली, पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकाली, प्रदेश सांसद विकल शेरचन, बिमला गौचन, मुस्ताङका सिडिओ जनकराज पन्त, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, थासाङ अध्यक्ष प्रदीप गौचन लगायतले बोलेका थिए ।


थकाली समुदायले वसन्त ऋतुको आगमनमा बर्सेनि तोरन्ल पर्व मनाउने गर्छ । दिवंगत पिृतको सम्झना गर्दै ३ दिनसम्म मीठा परिकार बनाएर मध्यरातमा स्नान गरी चोखो कपडा लगाएर पितृलाई खानेकुरा चढाउने चलन छ । यसरी पिृतलाई खानेकुरा चढाएर पूजा गर्दा पितृ प्रशन्न हुने विश्वास गरिन्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया