राष्ट्रिय माविको हीरक महोत्सव

एक वर्षमा विभिन्न २२ कार्यक्रम

समाधान संवाददाता २०८० चैत ७ गते १३:२८

पोखरा ।
स्थापनाको ७५ औं वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयले महोत्सव वर्षभरि विभिन्न २२ कार्यक्रम गरी मनाउने भएको छ । २० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औं वर्ष पूरा गरी ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरी मनाइरहेको छ ।

Advertisement


यसअघि गत २० मंसिरमा प्रभातफेरीसँगै हीरक महोत्वको शुभारम्भ गरिएको थियो । एक वर्षमा गरिने २२ कार्यक्रममध्ये विभिन्न १० कार्यक्रम सम्पन्न भएका छन् भने अन्य १२ कार्यक्रम आउदो २० मंसिरभित्र सम्पन्न गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणाले जानकारी दिए ।


महोत्सव अन्र्तगत प्रभातफेरि, विद्यालयका संस्थापक र जग्गादातालाई सम्मान, खेलकुद सप्ताह, योग तथा जुम्बा, खुला रक्तदान, संस्थापक सेक्रेटरी ऋषिकेशव पराजुलीको नामक पुस्तक विमोचन, स्वास्थ्य शिविर, पत्रकार भेटघाट, एचआइभी एड्स सम्बन्धी सचेतना मुलक प्रतिवद्धता र लक्ष्मी फिल्म प्रदर्शन, बृहत् सरसफाई कार्यक्रम सम्पन्न भइसकेका मूलआयोजक समितिका उपाध्यक्ष शिवप्रसाद पराजुलीले जानकारी दिए ।

Advertisement


अव विद्यालयले ८ वैशाखमा बृहत् पुनर्मिलन समारोह, वैशाख अन्तिम साता विद्यार्थीहरु बिचमा म्याराथन, जेठ दोस्रो साता जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता, असार दोस्रो साता अन्तर विद्यालय चित्रकला प्रतियोगिता, साउन दोस्रो साता अन्तर विद्यालय निवन्ध लेखन प्रतियोगिता, भदौ पहिलो साता शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय समुदाय तथा सरोकारवालाहरुको विचमा शैक्षिक संवाद, भदौ तेस्रो साता अन्तर विद्यालय कविता प्रतियोगिता, असोज पहिलो साता अन्तर विद्यालय जिल्ला स्तरीय भलिबल प्रतियोगिता, कात्तिक पहिलो साता पूर्व विद्यार्थी/शिक्षक, वर्तमान विद्यार्थी/शिक्षक/कर्मचारी तथा सरोकारवालाहरुका बिचमा शुभकामना आदान प्रदान कार्यक्रम, कात्तिक दोस्रो साता चन्दादाता, विशिष्ट योगदान गर्ने महानुभावहरुलाई सम्मान तथा अभिनन्दन, १७ मंसिरमा विज्ञान प्रर्दशनी र २० मंसिर २०८१ मा स्मारिकका विमाचनसँगै हीरक महोत्सव समापन गरिने विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटाले जानकारी दिए ।


हीरक महोत्सव अन्र्तगत ८ वैशाखमा विद्यायलमा पुर्नमिलन कार्यक्रम हुने भएको छ । हीरक महोत्सव बृहत् पुनर्मिलन कार्यक्रमका संयोजक वसन्तराज अधिकारीका अनुसार कार्यक्रममा विद्यालयको स्थापनाकालदेखि हालसम्म अध्ययन गरेका पूर्व विद्यार्थी, पूर्व शिक्षक/कर्मचारी, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरुहरुको सहभागिता रहनेछ । कार्यक्रममा एक हजार आठ सय जनाको सहभागिता रहने अधिकारीले जानकारी दिए । परिचयसँगै अनुभव आदानप्रदान गर्ने उद्देश्यले पुनर्मिलन समारोह आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

Advertisement


संयोजक अधिकारीका अनुसार आफू पढेको विद्यालयप्रतिको भावनात्मक सम्बन्ध प्रगाढ बनाउन, परिचय तथा बन्धुत्व अभिवृद्धि, तथ्यांक अध्यावधिक, भौतिक संरचनाहरुको अवस्था जानकारीसहित आर्थिक स्रोत जुटाउने, शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि राय सुझाव संकलन, विद्यालयको सतवार्षिकी कार्यक्रमका लागि संकल्प प्रस्ताव तयार गर्ने, स्मारिकका प्रकाशन गर्नका लागि लेख रचना उपलब्ध गराउन र राष्ट्रिय गान भने झै विद्यालयको गान रचना गरी सहभागीहरुले उपलब्ध गराउने उद्देश्य पुनर्मिलन कार्यक्रम छ ।


कार्यक्रम सम्पन्न गर्न विभिन्न १० वटा उपसमितिहरु समेत गठन गरिएको छ । कार्यक्रम सम्पन्न गर्न करिब १४ लाख खर्च लाग्ने र लागने खर्च पूर्व विद्यार्थी एव सहयोगदाताहरुबाट उपलब्ध हुने उपसमितिको सह संयोजकमा माया सिग्देल पराजुलीले जानकारी दिइन् ।


हीरक महोत्सवको अवसरमा विद्यालय परिसरमा विद्यालयको मूल प्रवेशद्वार निर्माण, विद्यालय मञ्च, हीरक स्मारक स्तम्भ, प्रशासनिक भवन निर्माण, शौचालय र ई–लाइब्रेरी निर्माण जस्ता भौतिक निर्माण योजनाहरुसमेत अघि सारिएको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष एवं हीरक महोत्सव प्रचार उपसमितिका सहसंयोजक रमेशप्रसाद पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया