आलु महोत्सवका लागि स्टल बन्दै

समाधान संवाददाता २०८० चैत २१ गते १३:२०

पोखरा ।
१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव २०८० को तयारी अन्तर्गत स्टल निर्माण र स्थानीयलाई पास वितरण सुरु गरिएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने उद्घोषका साथ विष्णुपादुका क्लब हेमजाको आयोजनामा महोत्सव चैत २५ देखि वैशाख ५ गते सम्म विष्णुपादुका खेल मैदानमा हुँदै छ ।

Advertisement


हेमजालाई व्यावसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउँदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सव अन्तर्गत स्टल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । कुल १ सय ४० स्टलमध्ये ४० स्टल कृषि उपजको प्रवद्र्धनका लागि छुट्टाइएको छ । प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ ।


स्थानीय पासको लागि २ सय ५० मा दिउँसोको कार्यक्रम तथा ५ सयमा दिउँसो र पप कन्सर्टमा सहभागी हुन पाउने व्यवस्था गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिए । महोत्सवमा प्रतिकेजी३८ देखि ४० का बीचमा आलुको कारोबार हुनेछ ।

Advertisement


महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवं लाइभ पप कन्सर्ट लगायत रहनेछन् ।


हेमजाको१२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् । यस वर्षको महोत्वव अन्तर्गत हेमजामा करिब ८० टन आलुको कारोबार हुने आयोजकको अपेक्षा छ ।

Advertisement

तपाईको प्रतिक्रिया