सरुभक्तलाई हेमराज पुरस्कार

समाधान संवाददाता २०८० चैत २५ गते १७:४९

पोखरा ।
हेमराज पहारी स्मृति पुरस्कार २०८० बाट साहित्यकार सरुभक्तलाई सम्मान गरिने भएको छ । पुरस्कार राशि नगद एक लाख र ताम्रपत्र छ ।


प्रतिभा छनोट समिति संयोजक पद्यराज ढकालले नेपाली साहित्यमा सरुभक्तको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको उल्लेख गरे । प्रतिभा छनोट समितिका सदस्यमा कृष्णप्रसाद पौडेल र सरस्वती श्रेष्ठ ‘सरु’ थिए ।


नेपाल संगीत तथा नाट््य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका सरुभक्त ५ दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन् । साहित्यका सबैजसो विधामा कलम चलाउने उनका चार दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

Advertisement


साहित्यकार एवं समाजसेवी हेमराज पहारीको स्मृतिमा स्थापित हेमराज पहारी स्मृति प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारबाट यसअघि सत्यमोहन जोशी, राप्ती साहित्य परिषद्, विमल गुरुङ स्मृति पुस्तकालय, लोककवि अली मियाँ, झरना साहित्य परिवार र साहित्य सन्ध्या सम्मानित भइसकेका छन् ।


साहित्यकार पहारीको गीत सञ्चयन ‘हेमराज पहारीका गीतहरु’, नियात्रा सञ्चयन ‘उत्तरी गोलाद्र्धको एक फन्को’ र कविता सञ्चयन ‘देशको अभिभारा’ प्रकाशित छन् । प्रतिष्ठानले हेमराज पहारीका बाँकी सिर्जना प्रकाशन, उनका योगदान र सिर्जनाको प्रवद्र्धन एवम् नेपाली साहित्यको उत्थानका लागि काम गरिरहेको अध्यक्ष रीता पहारी बताउँछिन् । वैशाख ७ गते हुने समारोहमा पुरस्कार अर्पण गर्ने प्रतिष्ठानले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया