३ स्रष्टालाई ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानको सम्मान

समाधान संवाददाता २०८१ वैशाख ३ गते ११:३७

जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिका—२ कोबाङमा फरक/फरक विधाका ३ जना प्रतिष्ठित स्रष्टा सम्मानित भएका छन् । उनीहरुलाई ओमविकास गौचन तथा देउकुमारी स्मृति प्रतिष्ठानले शुक्रबार दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो ।


२०६२ साल चैत ३० गते अकल्पनीय घटनामा परी दिवंगत भएका तत्कालीन सांसद एवं समाजसेवी ओमविकास गौचन र धर्मपत्नी देउकुमारी गौचनको १८ औं स्मृति दिवस, प्रतिष्ठानको तेस्रो अधिवेशन तथा छैटौं साधारण सभा कार्यक्रममा प्रतिष्ठानले दोसल्ला ओढाएर प्रमाणपत्रसमेतले स्रष्टा सम्मान गरेको हो ।


लोपोन्मुख समुदायमध्यको थकाली जातिले विभिन्न चाडपर्वहरुमा गाउने थकाली भाषाको गीत रचना गर्दै थकाली संस्कृतिको संरक्षण, संम्वद्धन र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै घरपझोङ—४ जोमसोम निवासी ७० वर्षीय नरेन्द्रकुमार तुलाचनलाई प्रतिष्ठानले सम्मान गरेको छ ।

Advertisement

थकाली गीतका लागि सिर्जनशील भूमिका निर्वाह गर्दै १० वटा थकाली गीत लेखिसकेका तुलाचनले कतिपय गीतमा आफैले गाइसकेका छन् । २०५४ सालदेखि हालसम्म थकाली भाषाको गीत रचना गर्ने र विभिन्न चाडपर्वमा थकाली गीतमार्फत संस्कृति संरक्षण र समुत्थानमा अतुलनीय योगदान गर्दै आइरहेका जोमसोमका तुलाचनलाई प्रतिष्ठानले कोवबङमा सम्मान गरेको हो ।


ओमविकास तथा देउकुमारी प्रतिष्ठानले लामो समयसम्म कोबाङस्थित जनआदर्श अमरसिंह माध्यमिक विद्यालयको प्रधानाध्यापक भई शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको, थासाङ गाउँपालिकाको मुखिया र तेह्र गाउँको मिरमुखिया भई सामाजिक योगदान पुर्‍याएको भन्दै थासाङ गाउँपालिका—२ कोबाङका ८३ वर्षीय जुहार भट्टचनलाई सम्मान गरेको छ । शैक्षिक व्यक्ति एवं समाजिक योगदान पुर्‍याएका भट्टचनले २०२१ सालदेखि जनआदर्श अमरसिंह माध्यमिक विद्यालयमा प्रधाानाध्यापक भई ९ वर्ष काम गरेका थिए ।

Advertisement


प्रतिष्ठानद्वारा घरपझोङ गाउँपालिका—५ की सफल महिला उद्यमी ६० वर्षीय ज्ञानु थकालीलाई पनि सोही समारोहमा दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मानित गरिएको थियो । सम्मानित सफल महिला उद्यमी थकालीले २०५८ सालदेखि २०७४ सालसम्म कुमारी माडा उद्योग दर्ता गरी मुस्ताङमा उत्पादित फलफूलहरु प्रशोधन गरी उद्योग प्रवद्र्धन र विकासमा योगदान दिएको प्रतिष्ठानले उल्लेख गरेको छ । उनले आफ्नो उद्योगमा ५ जनालाई रोजगारी समेत दिएकी छिन् । उनको उद्योगमा स्याउका परिवकारहरु एप्पल क्यान्डी, एप्पल माडा,स्याउ र खुर्पानीका सुकुटी, स्याउ प्रशोधन गरी जाम र साइडर आदि बनाएर बिक्री गर्ने गरेकी छिन् ।


प्रतिष्ठानले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सर्वउत्कृष्ट अंक प्राप्त गरी जिल्ला टप्ने विद्यार्थीलाई नगद १० हजारसहित प्रमाणपत्रले सम्मान गरेको छ । एसइई २०७९ मा जिल्लामै सर्वाेत्कृष्ट अंक ल्याई जिल्ला प्रथम हुने थासाङ—२ कोबाङकी छात्रा सीमा भट्टचनलाई नगदसहित सम्मान गरेको हो । उनले धौलागरी बोर्डिङ स्कुल जोमसोमबाट २०७९ मा एसइई परीक्षा दिएकी थिइन् ।


यसैगरी दलित कोटातर्फ एसइई परीक्षामा सर्वउत्कृष्ट अंक ल्याउने जनहित माध्यमिक विद्यालयका छात्र रोहित विकलाई नगदसहित सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।


सम्मानित व्यक्तित्व तथा पुरस्कृत विद्यार्थीहरुलाई संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ, उपप्रमुख आइतेलाल थकाली र प्रतिष्ठानकी अध्यक्ष सवी शेरचन गौचनले सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका थिए ।


यसअघि प्रतिष्ठानको १८ औं स्मृति दिवस, तेस्रो अधिवेशन तथा छैटौं साधारण सभाको संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङले उद्घाटन गरेका थिए । संविधान सभा सदस्य गुरुङले तत्कालिन सांसद ओमविकास गौचन जिवनी बारे चर्चा गरे । उनले तत्कालीन सांसद गौचन राजनीति व्यक्तित्व मात्र नभई सामाजिक क्षेत्रमा समेत अतुलनीय योगदान पुर्‍याएको बताए । जिसस उपप्रमुख आइतेलाल थकालीले दिवंगत तत्कालीन सांसद गौचन मुस्ताङका लागि पथप्रदर्शक भएको बताए ।


जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका अध्यक्ष कृष्णकुमार शेरचनले स्वर्गीय गौचनले दिएका योगदानलाई निरन्तर पछ्याउन सकेमात्र सच्चा श्रद्धान्जली अर्पण हुने बताए । कार्यक्रममा नरसिंह गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष इन्दुकुमार शेरचनले समेत अधिवेशन तथा साधारण सभा सफलताको शुभकामना दिएका थिए ।


प्रतिष्ठानको तेस्रो अधिवेशन तथा छैटौं साधारण सभाले प्रतिष्ठानको समिति पुनर्गठन गरेको छ । पूर्नगठित समितिको अध्यक्षमा सवि गौचन शेरचन तेस्रो कार्यकालका लागि दोहोरिएकी छिन् । समितिको वरिष्ठ उपाध्यक्षमा गिरिसिंह शेरचन, महिला उपाध्यक्षमा शर्मिला गुरुङ, सचिवमा गौतम शेरचन, कोषाध्यक्षमा जीवन थकाली र सहसचिवमा सिर्जना फगामीलाई सर्वसम्वत चयन गरिएको प्रतिष्ठानले जनाएको छ । सदस्यहरुमा महेन्द्र शेरचन, तेजेन्द्र गौचन, दिपक थकाली, गोविन्द बागदास, सोजन हिराचन, लक्ष्मी विके र जमुना घताने छन् ।


प्रतिष्ठानकी अध्यक्ष सवी गौचन शेरचनले स्वर्गीय बुबा ओमविकास र स्वर्गीय माता देउकुमारीको योगदानलाई पछिल्लो पुस्तासम्म स्मरण र ताजा राख्न प्रतिष्ठान गठन गर्नुपरेको बताईन् । उनले प्रतिष्ठान मार्फत कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक व्यक्तिहरुको सम्मान र उत्प्रेरणा जागृत गर्न संस्थाले भूमिका निर्वाह गरिरहेको जानकारी दिइन् ।


प्रतिष्ठानको स्मृति सभा, अधिवेशन र साधारण सभा कार्यक्रममा जनआदर्श माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरेका थिए । यसअघि थासाङ—२ खन्तीमा रहेको दिवंगत तत्कालीन सांसद ओमविकास गौचनको सालिकमा सविधान सभा सदस्य गुरुङ र प्रतिष्ठानकी अध्यक्ष सवी गौचन शेरचन लगायतले खादा लगाएर माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया