सम्पदा संरक्षणकर्मी सुनील उलकलाई नागरिक समाज कास्कीले गर्‍यो सम्मान

समाधान संवाददाता २०८१ वैशाख ६ गते १९:२४

पोखरा ।
नागरिक समाज कास्कीले इतिहास र सम्पदा अध्येता सुनील उलकलाई सम्पदा संरक्षण सम्मान प्रदान गरेको छ । पुराना सम्पदा जोगाउन योगदान गरेको तथा फोटो प्रदर्शन गरी पोखरालाई चिनाउने काम गरेको भन्दै उनलाई बिहीबार समाजले विश्व सम्पदा दिवसको अवसर पारेर सम्मान गरेको हो ।


पुरानो पोखरा अर्थात गणेशटोलको गणेश गुठी भवनमा आयोजित कार्यक्रममा पोखराका मेयर धनराज आचार्यले नागरिक समाजका तर्फबाट उलकलाई सम्मानपत्र प्रदान गरे । पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले उलकलाई दोसल्ला ओढाए ।
त्यस अवसरमा मेयर आचार्यले पुराना सम्पदा जोगाउन सबै मिलेर लाग्नुपर्ने बताए । मौलिक घरका साथै पुराना भेषभुषा र रैथाने परिकार पनि पर्यटकलाई पस्किन सके पोखराको पर्यटनमा सहयोग पुग्ने उनको भनाइ थियो ।


‘पोखरा आउने पर्यटकलाई पुरानो बजारसम्म ल्याउन सक्नुप¥यो, थिएटर बनाएर जात्रा, भैरव नाच, चण्डी नाच लगायत अन्य नाच प्रदर्शन गर्ने योजना बनाउनुप¥यो,’ मेयर आचार्यले भने, ‘पुरानो बजार स्मरण हुने गरी यहाँका मौलिक घर व्यवस्थापन तथा मर्मत गर्न महानगरले सहयोग गर्नेछ ।’

Advertisement


मौलिक घर देखाउने मात्र नभइ यसको फोटो खिचेको शुल्क लिने व्यवस्था भएमा पोखराको पर्यटनमा टेवा पुग्ने सुनील उलकले तर्क गरे । सिद्धार्थ चोकदेखि बिन्दवासिनी मन्दिरसम्म पदयात्रा निर्माण गर्नुपर्ने उनको माग थियो ।


उलक भन्छन्, ‘नयाँ पुस्तालाई पुराना सम्पदाको महत्वका बारेमा जानकारी दिनुपर्छ । मौलिक घरका घरधनीलाई विभिन्न सेवा सुविधा उपलब्ध गराउने, आर्थिक सहयोग गर्ने तथा वडा, महानगरले यसको संरक्षणमा ध्यान दिनुपर्छ ।

Advertisement


पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ, प्रदेश संग्रहालयका प्रमुख करुणा राई, पोखरा महानगर १ का वडाध्यक्ष सहारा प्रधान, ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, समाजका पूर्वअध्यक्ष विष्णुहरि अधिकारी, शोभा श्रेष्ठ लगायतले पुराना सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको संयोजन समाजका पूर्वसंयोजक रामबहादुर पौडेलले गरेका थिए ।

…..
तस्बिरः प्रबिना गैरे

तपाईको प्रतिक्रिया