आर्मी ब्यारेकभित्रको महानगरको भवन फिर्ता

प्रमिला कुँवर २०८१ वैशाख ७ गते १०:४२

पोखरा ।


न्युरोडमा पोखरा नगरपालिकाको कार्यालय भवन हुनुभन्दा अगाडि रानीपौवामा थियो । महेन्द्रपुलभन्दा ठिक पूर्व शोभा भगवती मन्दिर छेवैको कार्यालय भवन अहिलेचाहिँ नेपाली सेनाको फूलबारी ब्यारेक कम्पाउन्डभित्र छ । जसै नगरपालिका न्युरोड सर्‍यो, रानीपौवाको भवन परित्यक्त झै थियो । पछि सैनिक ब्यारेकको परिसरभित्र पर्‍यो र सेनाकै जस्तो भयो ।


३० को दसकमा हो पोखरा नगर पञ्चायतको कार्यालय न्युरोडमा सरेको । त्यसयता त्यत्तिकै रहेको पुरानो कार्यालय भवन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाली सेनाबाट फिर्ता ल्याउन सफल भएका छन् । आचार्य मेयर भएपछि प्रधान सेनापतिसँगै कुरा गरेर नगरपालिकाको भवन फिर्ताका लागि पहल गरेका थिए ।

Advertisement


नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पत्र पठाएर नगरपालिकाको भवन नगरपालिकालाई नै उपलब्ध गराउने पत्र पठाएको जानकारी मेयर आचार्यले दिए । भवनलाई मर्मत सम्भार गरेर त्यसलाई संग्रहालय बनाइने आचार्यले योजना बुनेका छन् ।


‘संग्रहालयमा पोखराका पुराना फोटो, पोखरा सम्बन्धी भएका रिसर्च, पोखरालाई झल्काउने, पोखराका बारेमा जानकारी दिने वस्तु आदि राखिनेछ,’ उनले भने, ब्यारेकलाई असर नपर्ने गरी काम गर्न प्रधानसेनापति प्रभुराम शर्मासँग कुरा भएको छ ।’ नागरिक समाजले विश्व सम्पदा दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा मेयर आचार्यले उक्त जानकारी दिएका थिए ।

Advertisement

भवनलाई संग्रहालय बनाएर त्यहाँ पुराना फाेटाे रिसर्च सामग्री आदि राखिनेछ


पोखराका पुराना पत्रकार बद्रीविनोद प्रतीकका अनुसार पञ्चायत कालमा २०२६ मा प्रधानपञ्च दिलीप पालिखेको पालामा भवन बनाउने निर्णय गरेर भवन बनाउन सुरु गरिएको थियो । तर प्रधानपञ्च रुद्रबहादुर कार्कीको समयमा भवन निर्माण सम्पन्न भएको थियो । पत्रकार प्रतीककै भनाइ अनुसार लगभग १ लाख रुपैयाँमा भवन निर्माण भएको हो । कार्कीले त्यहीबाट कार्यकाल सुरु गरेका थिए । त्यसअघि तेर्सापट्टी भाडाको घरबाट नगर पञ्चायतले सेवा प्रवाह गर्ने गरेको पत्रकार प्रतीक सम्झन्छन् ।


कार्कीपछि प्रधानपञ्च बनेका गणेश शेरचनले रानीपौवाबाट सेवा दिएका थिए । प्रतीकका अनुसार १० वर्षसम्म रानीपौवास्थित भवनबाट सेवा प्रवाह गरेपछि प्रधानपञ्च श्रीप्रसाद गुरुङको कार्यकालमा सेवा दिन सास्ती भएको भन्दै पायक पर्ने र फराकिलो ठाउँ भनेर न्युरोड सारिएको थियो ।


उनी भन्छन्, ‘न्युरोड पहिला डम्पिङ साइटको रुपमा थियो, त्यहाँ पोखरी थियो, पोखरी पुरेर २०३६ सालतिर भवन निर्माण गरिएको हो । त्यस बेला आर्मीको भवन माथि सानो थियो, ठूलो खाली चौर थियो । नेपाली सेनाले आफ्नो क्षेत्र विस्तार गरेर वरिपरि बार लगाउने क्रममा भवन बारभित्र पर्न गयो ।’


ब्यारेकभित्र विद्यालय, अस्पताल बनाउँदा प्रश्न नउठेको भने होइन । नगरवासीको आवाज सम्बन्धित निकायसम्म पुग्न सकेको थिएन । ‘नगरपालिकाको जग्गा हो, फिर्ता गर्नुपर्छ भनेर बोल्ने कसैको हिम्मत भएन,’ पत्रकार प्रतीक भन्छन्, ‘पञ्चायत कालमा सेना भनेपछि राजाकै सेना भन्ने बुझिन्थ्यो । राजाको विरुद्ध बोल्ने आँट भएन, राजाको नियम चुपचाप मान्न पर्‍यो, नगरपालिकाले वास्ता गरेन । सेनाले सञ्चालन गरेको विद्यालयमा जनताका छोराछोरीले पनि पढिरहेका छन्, त्यसैले जनतालाई पनि वास्ता भएन । पूर्व महानगर प्रमुख मानबहादुर जिसीले पनि फिर्ता ल्याउन प्रयत्न गर्नुभएको थियो ।’


महानगरको जग्गा फिर्ता लिएर ब्यारेकसँगैको शोभा भगवतीको मन्दिरलाई अलिकति जग्गा दिएर बाटोपट्टिको जग्गामा मिसाए महेन्द्रपुलको सडक व्यवस्थित र फराकिलो बन्ने प्रतीकको तर्क छ ।


महानगरले नयाँ प्रशासनिक भवन निर्माण गर्न जग्गा खोजिरहेको छ । नयाँ ठाउँमा भवन निर्माण गर्नुभन्दा अहिले भइरहेको ठाउँलाई व्यवस्थित गरेर सुविधा सम्पन्न बहुतले भवन निर्माण गरे राम्रो हुने बद्रीविनोदको सुझाव छ ।


पुरानो बजारमा आयोजित कार्यक्रममा मेयर आचार्यले पुरानो पोखरालाई पर्यटकीय गन्तव्य बनाउने योजना पनि सुनाएका थिए । उनले सिद्धार्थचोकदेखि नालाकोमुखसम्म सवारी साधन निषेध गर्ने र त्यहाँका बासिन्दालाई आउजाउका लागि वैकल्पिक बाटो व्यवस्था गर्नुपर्ने सुनाए ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया