ठेकेदार वेपत्ता, पुल अलपत्र

जोमसोम ।
उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला)सडक आयोजनाद्वारा निर्माणाधीन मुस्ताङखण्डको २ वटा पुल लामोसमयदेखि अलपत्र छ । कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजना अन्तर्गत मुस्ताङको छुसाङ र घमी खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल निर्माण कम्पनीको ढिलासुस्ती र चरम बेवास्ताका कारण अलपत्र परेको हो ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकखण्ड अन्तर्गत मुस्ताङको मार्फा, छुसाङ र घमी खोला पुल निर्माणको जिम्मा एउटै निर्माण कम्पनी हिमढुङ ठोक्कर इमोटल जेभी कन्ट्रक्सनले जिम्मा लिएको थियो । तर एउटै कम्पनीले यी ३ स्थानका पुलमध्ये मार्फा खोला पुलमा थोरैमात्र काम भइरहेको छ ।
छुसाङ र घमी खोला पुलको काम भने निर्माण कम्पनीको बेवास्ताका कारण एक वर्षदेखि ठप्पै भएको हो । राष्ट्रिय राजमार्ग सडकलाई जोड्ने गौरवको सडक अन्तर्गतका यी ३ वटै पुलको म्याद पटक/पटक थपिँदै आइरहेको हो ।
गौरवको सडक आयोजना अन्तर्गत कोरला नाका जोड्ने लोघेकर दामोदरकुण्ड गाउँपालिका—२ घमी खोलामा ४० मिटर लामो पुल बनाउने जिम्मा हिमढुङ ठोक्कर इमोटल जेभीले लिएको थियो । उक्त जेभीले २०७५ साल पुस १६ गते ६ करोड ८० लागतमा ३ वर्षमा पुल बनाउने ठेक्का सम्झौता गरेको थियो ।
घमी खोलामा पुल बनाउने ठेक्का सम्झौता अनुसार २०७८ साल पुस ९ गतेसम्म पुलको काम सकिनुपर्ने थियो । तर, निर्माण कम्पनीले अनुकुल समयमा समेत उपकरण र जनशक्ति परिचालन गर्न नसक्दा घमी खोलामा निर्माणाधीन पुल अलपत्र पर्दै आइरहेको हो ।
कालीगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडक आयोजनाका अनुसार घमी खोला पुलको पछिल्लो भौतिक प्रगति ५० प्रतिशत छ भने पुलको वित्तीय प्रगति ४५ प्रतिशत छ । हालसम्म घमी खोला पुल निर्माण कम्पनीका प्रतिनिधिले ३ करोड ११ लाख रुपैयाँ भुक्तानी लगिसकेको आयोजनाले जनाएको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले कोरलानाका जोड्ने घमी खोला पुल निर्माण कम्पनीको चरम ढिलासुस्तीले एक वर्षदेखि पुल निर्माणको काम रोकिएको जानकारी दिए । अध्यक्ष बिष्टले भने, ‘काम गर्ने ठेकेदार पनि बेपत्ता छन्, अहिलेसम्म पुल बनिसक्नुपर्नेमा काम अघि बढ्नै सकेको छैन ।’ अध्यक्ष बिष्टले विकास र समृद्धिको काममा बिलम्व गर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउनुपर्ने जनाए । घमी खोला पुलको ४ पटकसम्म म्याद थप भइसकेको छ ।
मुस्ताङको छुसाङ र घमीमा पटकपटक म्याद थपिए पनि पुल निर्माण अपुरै
सोही निर्माण कम्पनी हिमढुङ ठोक्कर इमोटल जेभी कन्टक्सनले जिम्मा लिएको मार्फा खोला पुल र छुसाङको नरसिंह खोला पुलमध्ये मार्फा खोलामा अहिले कामदारहरु देखिन थालेका छन् । छुसाङ खोलामा पुलको काम अलपत्र परिरहेको छ ।
मार्फा खोला र छुसाङ खोला पुलको एउटै ठेक्कामा हिमढुङ ठोक्कर इमोटल जेभीले २१ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । मार्फाको राज खोलामा ३ स्पानको १२० मिटर लम्बाइ र छुसाङ खोलाामा ३ स्पानका ९० मिटर लामो पुल बनाउने सम्झौता गरिएको थियो ।
२०७५ साल साल भदौ ६ गते ठेक्का सम्झौता भएको मार्फा खोला पुल र छुसाङ खोला पुलको समग्र भौतिक प्रगति ८० प्रतिशत छ । एउटै ठेक्काको मार्फा र छुसाङ पुल निर्माण कम्पनीले यहाँबाट १७ करोड १६ लाख रुपैया भुक्तानी लिईसकेको आयोजनाले जनाएको छ ।
मार्फा र छुसाङ खोला पुल सुरुवाती सम्झौता अनुसार २०७८ साल भदौं २० गते सम्पन्न भई आयोजनालाई हस्तान्तरण गरिनुपर्ने थियो । तर, निर्माण कम्पनीले जनशक्ति तथा उपकरणको व्यवस्थापन गर्न नसक्दा विगत एक वर्षदेखि पूरै काम अलपत्र बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—३ का वडाध्यक्ष विनोद गुरुङले जानकारी दिए । ‘पुल निर्माण अन्तिम चरणमा रहँदा ठेकेदार सम्पर्कविहिन छन,यहाँ पुलको काम हुनै सकेको छैन,’ वडाध्यक्ष गुरुङले भने, ‘केही दिनअघि काम गर्नुप¥यो भनेर ठेकेदारका मान्छेहरु आएका थिए, खै किन हो काम सुरु गर्न सकेको छैन ।’
छुसाङ खोला पुल निर्माणका ठेकेदारले पुलको काममा चरम लापारवाही र ढिलासुस्ती गरेकाले तत्काल कानुन बमोजिम कडा कारबाही गर्न वडाध्यक्ष गुरुङले सम्बन्धित निकाय समक्ष माग गरेका छन् । छुसाङमा एकातिर ठेकेदारको ढिलासुस्ती पुलको काम अलपत्र परेको छ भने अर्कोतर्फ छुसाङको ठाँडो नरसिंह खोलाको नदी उकासले छुसाङमा १५ घर उच्चजोखिममा रहेको सुनाए ।
यता, मार्फा खोला पुलको काममा ढिलासुस्ती हुँदा बेनी हुँदै मुक्तिनाथ र कोरलानाका जानेआउने पर्यटकलाई खोलाको सतह उच्च हुँदा आवतजावतमा समस्या उत्पन्न हुने गरेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । ‘मार्फा राजखोला पुल निर्माणमा ढिलासुस्ती भएको छ, आकलझुकल काम भएको जस्तो देखिन्छ,’ अध्यक्ष लालचनले भने, ‘पुल बनाउने काममा खासै तीब्रता छैन, काम गर्ने ठेकेदारले मन लगाएर काम गरिदिनु प¥यो ।’
कालिगण्डकी करिडोरको राष्ट्रिय गौरवको सडक अन्तर्गत निर्माणाधीन मार्फा छुसाङ पुलको ३ पटक म्याद थप भइसकेको आयोजनाले जनाएको छ । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले मार्फा, छुसाङ खोला पुलको चौथो र घमी खोला पुलको पाँचौंपटकका लागि सार्वजनिक खरिद नियमावली ऐनको १३ औं शंसोधन अनुसार म्याद थपको प्रक्रियामा रहेको जानकारी दिए । राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना २०७४ सालदेखि सुरु भएको हो । आयोजना अन्तर्गत मुस्ताङ खण्डमा निर्माणधिन पुलमध्ये हालसम्म ७ वटा पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको छ ।
कोरलानाका जोड्ने उपल्लो मुस्ताङको ४ वटा सडक पुल २०७६ सालमा ठेक्का सम्झौता भएकोमा यी पुल आयोजनालाई हस्तान्तरण भईसकेको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईं ले उल्लेख गरे । यसैगरी जोमसोम—मुक्तिनाथ जाने पाण्डा खोला पुल, थासाङको छाक्ताङ खोला पुल र लेते खोला पुल पनि निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको छ । आयोजनाद्वारा कागबेनी खोलामा निर्माणाधीन २५ मिटरको पुल ८० प्रतिशत भौतिक प्रगति हुँदा कागेखोला बाढीले क्षति बनाएको थियो । त्यहाँ अर्को पुल व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
तपाईको प्रतिक्रिया