बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने

राष्ट्रिय समाचार समिति (रासस) २०८१ वैशाख २७ गते १०:२०

ढोरपाटन ।
बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन गर्ने भएको छ । गाउँपालिकाले खेर गएको पानीलाई सदुपयोग गरी ऊर्जा उत्पादन गर्ने भएको हो ।

Advertisement


ग्रिन हाइड्रोजन उत्पादनका लागि प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । वडा नं २ मा रहेको गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाबाट शत्प्रतिशत स्वच्छ ऊर्जा उत्पादन गरिने उनको भनाइ छ ।


ग्रिन हाइड्रोजन उत्पादनका लागि नेपाल इनर्जी फाउन्डेसन, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, इन्भोटेक युके, इन्भेस्टिन ग्रिन लगायत संस्थासँग सहकार्य गरेको अध्यक्ष अधिकारीले सुनाइन् । जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि खेर गएको पानीलाई सदुपयोग गरी हाइड्रोजन उत्पादन गरिने अध्यक्ष अधिकारी जनाइन् । विश्व बजारमा नयाँ प्रविधिमार्फत उत्पादन गरिने ऊर्जाका रूपमा रहेको ग्रिन हाइड्रोजन खासगरी खाना पकाउनका लागि उपयोग हुने अधिकारीको भनाइ छ ।

Advertisement


अध्यक्ष अधिकारीले भनिन्, ‘विभिन्न संघ, संस्थासँग सहकार्य गरेर नयाँ कामको सुरुआत गरेका छौँ, अब गिरिङ्गी जलविद्युत् आयोजनामा हाइड्रोजन प्लान्ट निर्माण गरिनेछ, अहिले आवश्यक उपकरण, प्लान्ट ल्याउने काम हुँदै छ, योजनाअनुसार काम सम्पन्न भएमा सन् २०२४ भित्रै हाइड्रोजन उत्पादनको काम सम्पन्न हुनेछ, सुरुआतमा गिरिङ्दी खोलाका उपभोक्तालाई चुल्हो र सिलिन्डर वितरण गरी यसको प्रयोगमा ल्याइनेछ, पछि सबैतिरै विस्तार गर्ने योजना छ ।’


गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनका विभिन्न असर पर्दै गएको हुँदा गाउँपालिकाले शत्प्रतिशत स्वच्छ ऊर्जा मानिने ग्रिन हाइड्रोजनको उत्पादन गरी र प्रयोग बढाउने उल्लेख गरे । अन्य ऊर्जाको तुलनामा सुरक्षित, वातावरणीय पर्यावरणलाई समेत असर नगर्ने हाइड्रोजन एलपी ग्यासको तुलनामा सस्तोसमेत हुने उनको भनाइ छ । उत्पादित हाइड्रोजनलाई सिलिन्डरमार्फत उपभोक्तालाई घरघरमा वितरण गरिने उपाध्यक्ष वन बताउँछन् ।

Advertisement


हाइड्रोजन उत्पादन गर्ने लक्ष्यका साथ मङ्गलबार वडा नं २ खर्बाङमा हाइड्रोजनद्वारा खाना पकाउने प्रविधिबारे प्रदर्शन गरिएको छ । हाइड्रोजनको महत्व र यसको व्यावसायिक उपयोगिताबारे जानकारी दिने उद्देश्यले परीक्षणका रूपमा काठमाडौँबाट ल्याइएको हाइड्रोजनबाट खाना पकाएर नमूना प्रदर्शन गरिएको थियो ।

हाइड्रोजनको प्रयोग बढाउन र यसको उत्पादनपश्चात् उपभोक्ताले कसरी प्रयोगमा ल्याउन सक्छन् भन्नेबारे नमूना प्रदर्शन गरिएको उपाध्यक्ष वनले बताए । हाइड्रोजनमार्फत खाना पकाएर नमूना देखाइएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया