लक्ष्मी ग्रुपले थाल्यो नेपालमै हुन्डाई गाडी उत्पादन

स्वदेशमा बनेका गाडी आयातीतभन्दा सस्तो हुने

समाधान संवाददाता २०८१ वैशाख ३१ गते १२:२३

पोखरा ।
पोखराको औद्योगिक घराना तथा हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले नेपालमै कार उत्पादन गर्ने एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको छ । उक्त एसेम्बल प्लान्टको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदघाटन गरे । कोरियाली उद्योग हुन्डाईले लक्ष्मी मोटर कर्पाेरेसनसँग गाडी उत्पादनका लागि साझेदारी गरेको छ ।

Advertisement


५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग सुरु भएको हो । ५ वर्षभित्र वार्षिक २० हजार थान गाडी उत्पादन गर्ने योजना छ । प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएपछि भने वार्षिक ५० हजार थानसम्म गाडी उत्पादन गरिने जनाइएको छ । प्लान्टमा २ सय जनाले रोजगारी पाइसकेको पनि कर्पोरेसनले जानकारी दिएको छ ।


सरकारले स्वदेशमा गाडी उत्पादन गर्दा अन्तशुल्कमा ५० प्रतिशत छुटको नीतिगत व्यवस्था गरेको छ । पाटपुर्जा आयातमा पनि ५० प्रतिशत छुट छ । यस्तो व्यवस्थाको माग उद्यमीहरुले धेरै अघिदेखि गर्दै आएका थिए । अन्तशुल्क छुट भएको हुँदा स्वदेशमा बनेका गाडी आयातीतभन्दा सस्तो हुने अनुमान छ । तर अहिले नै नेपालमा बन्ने हुन्डाई गाडीको मूल्य सार्वजनिक भएको छैन ।


पार्टपुर्जा आयात गरेर नै उद्योगले गाडी बनाउने छ । पछि भने नेपालमै पार्टपुर्जा उत्पादन गर्ने लक्ष्य पनि छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका १२ मोडेलका कार बिक्री गर्दै आइरहेको छ । जसमा स्यान्ट्रो, ग्रान्ड आई१० एनआईओएस, आई२०, ओरा, भेन्यु, वर्ना, अल न्यु क्रेटा, टक्सन, सान्टा फे, पैलिसेड, आयनिक इलेक्ट्रिक र कोना इलेक्ट्रिक छन् ।


लक्ष्मी ग्रुपले मिठाइबाहेक अटोमाबोइल, इलेक्ट्रोनिक्स, प्लास्टिक, ट्रेडिङ र स्टिल उत्पादन व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । सुजल फुड प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई तथा एमएमएल इसुजु, सुजल डेरी प्रालि, समृद्धि स्टिल्स, सिद्धि लक्ष्मी स्टिल्स, जयमा इन्टरकन्टिनेन्टल, जयमा लक्ष्मी टेक्नो सेन्टर लगायत व्यवसाय लक्ष्मी ग्रुपअन्तर्गत छन् ।

Advertisement


लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीमा प्लान्ट स्थापना गरेर हुन्डाई भेन्युको परीक्षण उत्पादन सकिसकेको छ । उक्त प्लान्टमा एसेम्ब्ली लाइनदेखि बनेका कार परीक्षण गर्ने उपकरणसमेत जडान गरिएको छ ।


त्यसपछि गत माघमा कर्पाेरेसनले एकैचोटि भेन्यु गाडी एसेम्बल गर्न १ सयभन्दा बढी सीकेडी किट आयात गरेको थियो । लक्ष्मी मोटर कर्पोरेसनले ९ सय ९८ सीसीको भेन्यु एस (ओ), ११ सय ९७ सीसीको भेन्यु एस १.२ एमटी र ११ सय ९७ सीसी भेन्यु एसएक्स १.२ एमटी मोडेलका सीकेडी ल्याएर एसेम्बल थालेको छ ।

एसेम्बलपछि तयार हुने भेन्यु पेट्रोल इन्जिन गाडी हो । दक्षिण कोरियामा १९६७ डिसेम्बर १९ का दिन चाङ जु युङले ‘हुन्डाई मोटर्स’ स्थापना गरेका थिए । हुन्डाईको सुरुवात हुन्डाई इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी र पछि हुन्डाई मोटर कम्पनीका रूपमा भएको हो ।

तपाईको प्रतिक्रिया