प्राइम सहकारी विरुद्ध उजुरी आह्वान

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले गैरापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारीविरुद्ध उजुरीको आह्वान गरेको छ । प्रहरीले मंगलबार सार्वजनिक सूचनामार्फत त्यस्तो आह्वान गरेको हो ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले प्राइम सहकारीमा बचतकर्ताको बचत हिनामिना भएको भन्ने पत्राचार प्रहरीलाई गरेको थियो । त्यसपछि नै प्रहरीले सूचना गरेको हो । आफ्नो बचतको प्रमाण खुल्ने कागजातसहित उजुरी दिन प्रहरीको आह्वान छ ।
सहकारी पदाधिकारी तथा सञ्चालकले बचतकर्ताको बचत फिर्ता नगरी हिनामिना गरेको गुनासो सुनिएको थियो । प्रहरीले जेठको २० गतेभित्र उजुरी दिन भनेको छ । प्राइम सहकारीमा कति बचतकर्ताको कति रकम हिनामिना भएको हो भन्नेचाहिँ खुलिसकेको छैन ।
‘सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजसहित कानुन बमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्ताहरूमा सूचित गरिएको छ,’ प्रहरीको सूचनामा भनिएको छ ।
पोखराकै अरु सहकारीमा ठगी संलग्नहरु पनि पक्राउ परी कतिपय कारागारमा छन् । इमेज, सूर्यदर्शन, मित्रमिलन लगायत सहकारीको ठगी सम्बन्धी मुद्दाका प्रतिवादीहरु पूर्पक्षका लागि कारागार छन् । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार गितेन्द्रबाबु (जिबी) राई भने फरार छन् । उनी विदेश भागिसकेको हुँदा पक्रन बचतकर्ताहरुको ठूलो दबाब छ ।
राईलाई पक्राउ पर्ने प्रयास स्वरुप प्रहरीले उनको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागलाई भनेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पनि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । तर कास्की अदालतले भने राहदानी रद्द गर्न माग अस्वीकार गरेको छ । आइतबार कास्की अदालतबाट त्यस्तो आदेश आएको हो ।
तपाईको प्रतिक्रिया