
कुनै जमानामा होटल ड्रागन पोखरामा चर्चित होटलमा गणना हुन्थ्यो । २०२६ सालमा खुलेको यो होटलसँगै पोखरामा फिस्टेल लज, होटल क्रिस्टल, अन्नपूर्ण खुलेको प्रसंग सुनाउँछन् होटल ड्रागनका सञ्चालक हरिध्वज तुलाचन । उनी भन्छन्, ‘त्यस बेला पोखरा आउने माध्यम भनेको हवाइजहाजमात्र थियो ।’
दिनमा एकाध जहाज चल्थ्यो । त्यही जहाजमा आउने पाहुना नै ती होटलका अतिथि हुन्थे । २०३० सालमा पृथ्वीराजमार्ग र सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालन भएपछि पोखरा भित्रिने पर्यटक ह्वात्तै बढे । २०१९ सालमा पोखरामा स्थायी बसोबास गरेका पुराना होटल व्यवसायी हरिध्वज तुलाचनले होटल व्यवसाय गर्नुअघि औषधी उपचार पनि गर्दथे । उनी थान्का बनाउन, मूर्ति बनाउन, राम्रो चित्र कोर्न पनि सीपालु थिए ।
२०३० पछि उनले होटल व्यवसायलाई बढाउँदै लगे । होटल बढाउँदै लग्दा आफ्नै समस्या पनि बढ्दै गयो । त्यस बेला बैंकले पनि राम्रै सहयोग ग¥यो । पर्यटकको आतिथ्यता राम्ररी गर्ने भएकाले पाहुनाको कमी त भएन, तर होटल व्यवसायमा फड्को मार्ने सपना बोकेका कारण जति पाहुना आए पनि कमी नै लागेर काठमाडौँमा गई ट्राभल एजेन्सीसँग कुराकानी गरे ।
एउटा ट्राभल एजेन्सीले प्रति कोठा २ सय पाउने शर्तमा पाहुना पठाउन थालेपछि हरिध्वजलाई भ्याईनभ्याई नै भयो । उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा होटललाई परिचित गराउन होटलमा साँस्कृतिक कार्यक्रम गर्ने परम्परा थालनी गरे । हरिध्वजले आफ्ना सन्तानलाई होटल व्यवस्थापनबारे ज्ञान लिन विदेशमा पढ्न पठाए ।
पर्यटकका सेवा, सुविधालाई प्रधानता दिएका कारण होटल व्यवसायी तुलाचन पश्चिमाञ्चल होटल एसोसियनका संस्थापक अध्यक्ष पनि बन्न भ्याए । उनी सामाजिक सेवा कार्यका साथै धार्मिक गतिविधिमा पनि त्यत्तिकै सक्रिय छन् । वि.सं. २०११ साल असार १५ गते मुस्ताङमा जन्मिएका हरिध्वज अहिले पनि आफ्नै पर्यटन व्यवसायमा आवद्ध छन् । व्यवसायमा परिवारको पनि पूर्ण साथ र सहयोग मिलेकोमा उनी हर्षित छन् । भन्छन्ः हामीले बडो मेहनतका साथ थालनी गरेको यस व्यवसायलाई जेनतेन जोगाई राखेको छौँ ।
उनी सँगसँगै स्थापना भएको होटल अन्नपूर्ण, होटल क्रिस्टल बन्द भएकोमा निकै दुःखी पनि छन् । तुलाचन नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, पोखरा लायन्स क्लब संस्थापक सदस्य, थकाली सेवा समिति पोखरामा पूर्व अध्यक्ष, धर्मोदयसभा, बुद्धजयन्ती मूल समारोह समिति कास्कीका पूर्व अध्यक्ष भएर पनि सेवा गरेका छन् । नेपाल आर्चरी संघका पूर्व केन्द्रीय अध्यक्ष हरिध्वज विभिन्न सेवा कार्यमा संलग्न छन् । उनले लायन्स क्लब अफ पोखराको अध्यक्ष हुँदा ढिकुटी खेलाएर कोष वृद्धिसमेत गरेका थिए भने उनको कार्यकालमा स्कुल भवन, स्वास्थ्य केन्द्र निर्माण भएका थिए ।
साढे ५ दशकदेखि होटल व्यवसायमा आवद्ध हिरध्वज तुलाचनले समाजसेवा र खेलकुदमा समेत उल्लेख्य योगदान गरेका छन्क
पोखराको विश्वशान्ति स्तूपको निर्माण हेतु उनले सुनको औंठी दान दिए । अत्यन्त मिलनसार, सहयोगीका रूपमा परिचित समाजसेवी तुलाचनले थकाली सेवा समितिमा पूर्व केन्द्रीय उपाध्यक्ष भएर सेवा पुर्याए । तुलाचन पर्वतारोहण संघ अन्नपूर्णका संस्थापक अध्यक्ष पनि हुन् । हाल उनी सल्लाहकार छन् ।
तत्कालीन पोखरा उपमहानगरपालिकाले उनको विशुद्ध सामाजिक सेवा कार्य र लामो समयसम्म पर्यटन क्षेत्रको माध्यमबाट पोखरालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने कार्यको कदरस्वरूप २०५९ सालमा उनलाई पोखरेली नवरत्न सम्मान प्रदान गर्यो । व्यक्तिगत प्रचारप्रसारमा रुचि नराख्ने उनको आफ्नै स्वभाव छ । भन्छन् – म आफ्नै कार्यमा व्यस्त छु । मैले जानेर, नजानेर पोखराका लागि केही गर्न चाहन्छु ।
पर्यटन व्यवसायी तुलाचनले केही पुस्तक पनि लेख्न भ्याएका छन् । उनका प्रकाशित पुस्तकमा महाकाल गुम्बाको पुरातात्विक चिनारी, ल्हसेव देवता उदय ०७३ र लामा धर्मध्वज तुलाचन प्रमुख छन् । हाल पत्नी मन तुलाचन र छोरा, बुहारीका साथ उनी होटल ड्रागनमा नै बस्छन् ।

रवीन्द्र माकाजु
(माकाजु स्वतन्त्र लेखक हुन् )
तपाईको प्रतिक्रिया