‘सहकारीका पैसा बाँडेर खायौ, धुरुधुरु रुवायौ’

पोखरा ।
पोखरामा सहकारी पीडितले बचत फिर्ताका लागि सरकारलाई दबाब स्वरुप प्रदर्शन गरेका छन् । बचत गरेको रकम फिर्ता नपाएको भन्दै उनीहरुले आइतबार सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।
पोखराका सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज र बलिदानी गरी पोखराका ७ वटा सहकारी बचतकर्ताको रकम अपचलन गरेर बन्द भएका छन् ।
संसदमा प्रतिपक्ष दलले माग गरेजस्तै बचत रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन उनीहरुको माग छ । ¥यालीमा सहभागीले ‘जिबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘आन्दोलनरत बचत पीडितकर्ताको जिउधनको सुरक्षा गर’, ‘पीडितलाई धम्क्याउनेलाई कानुनी कारबाही गर’, ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कस्ले गर्छ हाम्रो बचतको सुरक्षण ?’ ‘हाम्रा सहकारीका पैसा बाँडेर खायौ, वृद्धदेखि बालकसम्म धुरुधुरु रुवायौ’ लगायत नारा लगाएका थिए । ती नारासहितका ब्यानर र प्लेकार्ड लिएर पीडितहरु प्रदर्शनमा उत्रिएका थिए ।
सहकारी बचत पीडित संघर्ष समिति कास्कीले डाकेको विरोध प्रदर्शनमा राजनीतिक दलका नेता कार्यकर्तासमेत सहभागी थिए । उनीहरुको प्रदर्शनमा जिल्लामा सक्रिय ७ राजनीतिक दलहरुको पनि समर्थन छ । सिर्जनाचोकदेखि नाराबाजी गर्दै निक्लेको ¥याली पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भयो ।
पाेखराका ७ वटा सहकारी बचतकर्ताकाे रकम अपचलन
सहकारी पीडित संघर्ष समिति संयोजक किरण श्रेष्ठका अनुसार पोखराका मात्रै ४० हजार जना पीडित बनेका छन् । संयोजक श्रेष्ठले सहकारीकोे रकम राज्यसत्तामा रहेका व्यक्तिको नाममा दुरुपयोग भएको उनको आरोेप लगाए । सहकारीको रकम अपचलन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि पनि छानबिन गर्न उनले माग गरेका थिए ।
निरन्तर संघर्षमा रहे पनि न्याय नपाएको उनले सुनाए । सहकारी पीडितले गृहमन्त्रीको राजीनामा माग गर्नुका साथै बचत रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन माग गरेका थिए ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट मात्र १ अर्ब ३१ करोड बढी अपचलन भएको छ । प्राइम सहकारीमा डेढ अर्ब अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सूर्यदर्शनका पूर्वअध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गीतेन्द्र बाबु (जिबी) राई सहकारी ठगीमा अझै फरार छन् । ‘इमेज बचत तथा ऋण सहकारी संस्था’ को २ अर्ब रुपैयाँ अपचलन भएको छ ।
सहकारीको रकम हिनामिना हुँदा कमजोर वर्गका व्यक्तिहरु नै पीडित भएका छन् । ज्यालामजदुरी तथा ससानो व्यापार गरेर जोगाएको पैसा डुबेपछि उनीहरू मर्कामा छन् । सहकारीमा रकम डुबेका बचतकर्तालाई दैनिकी चलाउन पनि अप्ठ्यारो भएको छ ।
तपाईको प्रतिक्रिया