पर्यटन र कृषिमा सम्भावना खोज्न आग्रह

सुन्दरकुमार थकाली २०८१ जेठ १५ गते ११:५०

जोमसोम ।
नेपालका लागि युरोपेली युनियनकी राजदुत भेरोनिक लोरेन्जोले मुस्ताङ पर्यटकीय ब्रान्ड भएको उल्लेख गरेकी छन् । लोरेन्जो भन्छिन्, ‘सबैका लागि मुस्ताङ निकै लोकप्रिय छ । यहाँ अथाह पर्यटन र कृषि उत्पादन दुवैको सम्भावना छ ।’


सोमबार मुस्ताङको घरपझोङ गाउँपालिका२ मार्फामा महिला उद्यमी संघ नेपाल मुस्ताङले आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो धारणा व्यक्त गरेकी हुन् । ३ दिने मुस्ताङ भ्रमणमा आएकी लोरेन्जोले मुस्ताङका महिलालाई उद्यम विकास समर्पित भएर लाग्न उत्प्रेरित गरिन् ।


‘नेपालको परिवेशमा महिलालाई व्यवसाय र उद्यम गर्न सजिलो छैन, तर तपाईहरुको ज्ञान, सीप र हातेमालोले राम्रो प्रतिफल प्राप्त हुनेछ भन्ने आशा छ,’ उनले भनिन् । मुस्ताङका महिला उद्यमीका समस्या सुनेपछि राजदुत लोरेन्जोले कृषि उत्पादनलाई लेबलिङ, ब्रान्डिङ र प्याकेजिङ गर्न ध्यान दिन सुझाइन् । यो समस्या सम्बोधन गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने उनले जनाइन् ।

Advertisement


उनले यहाँको उत्पादन बढाउन र सेवाग्राहीमाझ पुर्‍याउन सकेमात्र यहाँका महिला उद्यमीको आर्थिक विकासमा टेवा पुग्ने उनले जनाइन् । राजदुत लोरेन्जो र दुतावासका सिनियर कार्यक्रम निर्देशक मीन हमालसहितको ६ सदस्यीय टोली सोमबार बेनी जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आइपुगेको हो ।

युरोपेली युनियनद्वारा मुस्ताङमा च्यांग्रापालन र पश्मिना उत्पादन प्रर्वद्धनका लागि भइरहेको कार्यक्रम अवलोकन तथा हिमाली क्षेत्रको आर्थिक विकासका सम्भावनाको बिषयमा अध्ययनका लागि टोली आएको हो ।

Advertisement

युरोपेली युनियनले मुस्ताङमा नेपाल पश्मिना उद्योग महासंघ मिलेर च्यांग्रापालन तथा पश्मिना उत्पादन प्रर्वद्धनमा सघाएको छ


टोलीलाई महिला उद्यमी संघ नेपाल मुस्ताङकी अध्यक्ष सूकुन रसाइलीले स्वागत गरिन् । महिला उद्यमीहरुले टोलीलाई हिमाली जिल्ला मुस्ताङमा महिला उद्यमीले भोग्नु परेका समस्या र चुनौतीबारे जानकारी गराए । संस्थाकी अध्यक्ष रसाइलीले कोभिड माहामारीपछि हिमाली क्षेत्रका महिला उद्यमीले विभिन्न प्रकारका समस्या र चुनौती भोग्नु परेको सुनाइन् ।


उनले यहाँका महिलाको उद्यम, व्यवसाय जोखिममा परेको जनाइन् । ‘हामी आर्थिक विकासमा सबल र सक्षम हुन नसक्दा विभिन्न प्रकारका सामाजिक तथा आर्थिक हिंसा व्यवहोर्नु परेको छ । आर्थिक रुपमा सबल नभएसम्म महिला उत्पीडन र दमनको पराकाष्टा रोकिदैन,’ उनले भनिन् ।


रसाइलीले जतिसुकै महिला सशक्तीकरण र महिला उत्थानका कुरा गरे पनि महिला आर्थिक विकासमा पछि नै रहेको दाबी गरिन् । महामारीका बेला महिला उद्यमीलाई ३ तहकै सरकारले खासै सहयोग उपलब्ध गराउन नसकेको उनको गुनासो छ । यहाँका उत्पादनलाई ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ गर्ने र महिला उद्यमीलाई सीप विकास गर्न तालिममा दिन कसैले पहल नलिएको उनको गुनासो छ ।


अध्यक्ष रसाइलीले जलवायु परिवर्तनका कारण कृषि, पशुपालन र उद्योग व्यवसायमा समेत नकारात्मक प्रभाव परेको उनको भनाइ छ । मुस्ताङकै सफल महिला उद्यमीको रुपमा स्थापित अध्यक्ष रसाइलीले सञ्चालन गरेको मार्फा फलफुल तथा प्रशोधन उद्योग लोरेन्जोसहितको टोलीले निरीक्षण गरेको छ ।


महिला अभियान्ता सुकुनले १० वर्षअघि विदेश गएका श्रीमान्लाई फर्काएर आफ्नै उद्यमशील कर्ममा जोेडेकी थिइन् । उनले उद्योगमा स्याउ लगायतका फलपूmललाई प्रशोधन गरी बिक्री गर्ने गरेकी छन् ।


राजदुत लोरेन्जोसहितको ६ सदस्यीय टोली उपल्लो मुस्ताङका बिभिन्न कार्यक्रममा सहभागी हुने दुताबवासका सिनियर कार्यक्रम निर्देशन हमालले जानकारी दिए । युरोपेली युनियनले मुस्ताङमा नेपाल पश्मिना उद्योग महासंघ मिलेर च्यांग्रापालन तथा पश्मिना उत्पादन प्रर्वद्धनमा सघाएको छ । पश्मिनाको भुवा उत्पादनका लागि इयुको आर्थिक सहयोगमा इन्टनेसनल ट्रेड सेन्टर (आइटिसी)ले पश्मिना प्रर्वद्धन तथा च्यांग्रापालन कार्यक्रम सञ्चालन गरेको छ ।


१ वर्षअघि मुस्ताङमा ८ सय च्यांग्राको पश्मिनाको नमूना संकलन गरिएको थियो । सोको नतिजा सार्वजनिक गर्न र च्यांग्रा पालकलाई थप सल्लाह सुझाव दिन पश्मिना महासंघ र आइसिटी टोली अहिले उपल्लो मुस्ताङमा छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया