४ वर्षअघि जग्गादान, अझै बनेन थासाङको प्रशासकीय भवन

सुन्दरकुमार थकाली २०८१ जेठ १८ गते १०:२४

जोमसोम ।
स्थानीयले ४ वर्षअघि जग्गादान गरेको भएपनि मुस्ताङको थासाङ गाउँपालिकाले अझै प्रशासकीय भवन निर्माण सुरु गर्न सकेको छैन । २०७७ सालमा थासाङ—२ लार्जुङका स्थानीय केही व्यक्तिले गाउँपालिकाका लागि प्रशासकीय भवन बनाउन करिब ६ रोपनी जग्गा दान गरेका थिए । तर, स्थानीयले दिएको जग्गामा राजनीति असमझदारी र विभिन्न कारणले थासाङ गाउँपालिकाले अझै प्रशासकीय भौतिक संरचना निर्माणको प्रक्रिया अघि बढाउन सकेको छैन ।


थासाङ गाउँपालिकालाई प्रशासकीय भवन तथा कर्मचारी आवास भवन निर्माणका लागि थासाङ—२ का स्थानीय प्रवीण गौचन, दुरेन्द्र शेरचन, विष्णुप्रसाद शेरचन र राम थकाली लगायतले करिब ६ रोपनीभन्दा बेसी जग्गा गाउँपालिकाको नाममा नामसारी गरी जग्गा प्रदान गरेका थिए । उनीहरुले बेनी—जोमसोम सडकमार्ग अन्तर्गत थासाङ—२ स्थित कोवाङ स्वास्थ्य चौकीको पश्चिम सडकको सामन्नेको जग्गादान गरेका हुन् ।


संघीयता कार्यान्वयनसंगै कोवाङ खन्तीको भट्टचन समाजघरमा भाडामा कार्यालय सञ्चालन गर्दै आइहेको थासाङ गाउँपालिकाले प्रशासकीय भवन लगायत संरचना निर्माण गर्न सित्तैमा व्यक्ति जग्गा प्राप्त गरे पनि ४ वर्ष बितिसक्दा समेत कुनै पूर्वाधार निर्माण गर्न सकिरहेको छैन ।

Advertisement


चालु आर्थिक वर्ष गाउँपालिकाको प्रशासकीय भवन बनाउन गाउँ कार्यपालिका र गाउँसभाले ३ करोड बजेट विनियोजन गरेको भएपनि संघीय सरकारले बजेट सुनिश्चिता गर्न नसक्दा प्रशासकीय भवन निर्माणको ठेक्का प्रक्रिया अघि बढ्न नसकेको प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारीले जानकारी दिए ।

‘गाउँपालिकालाई पहिल्यै भवन बनाउन जग्गादान भएको रहेछ, गाउँपालिकाले ४० र संघीय अनुदान ६० प्रतिशत साझेदारीमा भवन बनाउने प्रावधान छ, माथिबाट बजेट सुनिश्चित नहुँदा पूर्वाधार निर्माण गर्ने प्रक्रिया अघि बढ्न सकिरहेको छैन,’उनले भने ।

Advertisement


अधिकारीले चालु वर्ष गाउँपालिकाले आफ्नो तर्फबाट विनियोजन गरेको रकम स्रोत सनिश्चित नहुँदा फ्रिज हुने पक्का भएको सुनाए । थासाङका वडाध्यक्ष गौतम शेरचनले गाउँपालिकाको प्रशासकीय भवन बनाउन स्थानीयबाट जग्गादान भएको र त्यसको गाउँपालिकाले समेत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण गरिसकेको जानकारी दिए ।

उनले गाउँपालिकाको प्रशासकीय भवन र कर्मचारी आवास भवन बनाउन गापा अध्यक्षसमेतको टोली मन्त्रालय पुगेर माग गरेको भएपनि त्यसको स्रोत सुनिश्चित हुन ढिलाई भईरहेको बताए । ‘मन्त्रालयले लागत बढी भयो घटाउनु भनेको थियो, हामीले प्रशासकीय भवनको मात्रै लागत सिफारिस गरेका छौं, अझै पनि बजेट आउने नआउने टुंगो लागेको छैन,’ उनले भने ।


थासाङका स्थानीय समाजसेवी कृष्णकुमार शेरचनले थासाङको प्रशासकीय भवन बनाउन २ वर्ष अगावै गाउँपालिकाले बजेट विनियोजन गरेको सुनाए । गाउँपालिकाको बैठकमा बजेट गर्ने बेला नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्षसहित ५ जना वडाध्यक्षहरुले गापाको बजेट विनियोजनप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट गरेकाले त्यसबेला ठेक्का खुलाउन नसकेको बताए ।


संघीयता कार्यान्वयनमा आएसंगै सुरु भएको स्थानीय तहको केन्द्र विवादको समस्याले थासाङको प्रशासकीय भवन निर्माण प्रभावित बन्दै आइरहेको थियो । थासाङमा एक पक्षले गाउँपालिकाको केन्द्र थासाङ—३ लेतेमा हुनुपर्ने अडान राखेको थियो ।

अर्को पक्षले थासाङको केन्द्र कोबाङमा हुनुपर्ने भनेको थियो । भौगोलिक केन्द्र विवादको रस्साकस्सी विवादले थासाङ गाउँपालिकाको भवन निर्माण ओझेलमा पर्दै आइरहेको छ । भौगोलिक र राजनीतिक उतारचढावले गिजोलिएको थासाङको केन्द्र विवाद अझै सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ ।


यसबेला थासाङको केन्द्र हेरफेरका लागि संघीय मामिला मन्त्रालय ६ महिने समय निर्धारण गरेको थियो । बहुमत पक्षले केन्द्र कोबाङमै हुनपर्ने भनेका थिए । सोही अनुसार संघीय सरकारले थासाङको केन्द्र कोबाङमै रहने गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो । थासाङमा कांग्रेस र एमाले पक्षका जनप्रतिनिधिहरुबीचको टसल अझै कायमै छ । जसका कारण थासाङको प्रशासकीय भौतिक संरचना निर्माणको काम सुरु हुन सकिरहेको छैन ।


संघीयताता कार्यान्वयनको सातौं वर्ष पूरा भइसक्दा मुस्ताङका ५ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहले आफ्नै प्रशासकीय भौतिक संरचना निर्माण गरिसकेका छन् । मुस्ताङको लोमान्थाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले प्रशासकीय भवन बनाइसकेका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।


थासाङ गाउँपालिकाले सरकारी कार्यालयको भौतिक संरचना निर्माण गर्न नसक्दा बर्सेनि लाखौ रुपैयाँ भाडा बुझाउँदै आइरहेको छ । गाउँपालिकाको कार्यालय भवन नहुँदा भट्टचन समाजघरको सानो स्पेसमा गाउँपालिकाको नियमित कार्य गर्नुपर्दा समस्या पर्ने गरेको छ भने त्यहाँका स्थानीय तहका कर्मचारीले व्यक्तिगत भाडा तिरेर आवासको व्यवस्था गर्नुपर्ने बाध्यता छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया