राेजगारी खाेज्दै श्रमाधान मेलामा

प्रमिला कुँवर २०८१ जेठ २१ गते १६:५५
तस्बिर: प्रेम थापा/ पोखरा इन्भेन्ट

पोखरा ।

Advertisement


पोखरामा दुई दिने श्रमाधान रोजगार मेला सुरु भएको छ । मेलामा जागिर खोज्दै भौंतारिरहेका युवा तथा कामदार खोजीरहेका कम्पनिहरुको घुइँचो थियो ।


त्यहि घुइँचोमा भेटिइन् रुपागाउँपालिका ६ की मुस्कान गुरुङ । पोखरामा बस्दै आएकी गुरुङले ३ वर्ष भइसक्यो जागिर खोज्न थालेको, उनले जागिर त पाइनन् निराशामात्र पाइन् ।

Advertisement


व्यवस्थापन विषयमा स्नातक गरेकी उनले भने जस्तो जागिर नपाउँदा बेरोजगार हुनुपरेको विवशता सुनाइन् । ‘योग्यता अनुसारको काम पाइँदैन, ८/१० हजार को जागिरले कसरी जीवन धान्ने ? उनको प्रश्न छ ।


‘विदेश जाने सोच छैन तर बेरोजगारीले खाडी देश भएपनि जाने बाध्यता आएको छ । देशमा बेरोजगारी चरम छ । सरकारले युवाका समस्या बुझ्दैनन् । देशको अवस्था देख्दा दिक्क लागेको छ ।’ गुरुङले गुनासो पोखिन् ।

Advertisement


नेपालमा श्रमको सम्मान गर्ने सोचको विकास गर्न सकेमा बेरोजगारी समस्या कम हुने तनहुँका केशवबहादुर थापा तर्क राख्छन् । कामका आधारमा हुने व्यवहार देख्दा ननिको लाग्ने उनले बताए ।


थापाले ३ महिनादेखि प्लम्बिङको तालिम लिइरहेका छन् । गर्न सक्यो भने नेपालमै राम्रो कमाइ हुने उनको भनाइ छ ।


‘नेपालमै केहि गर्ने सोच छ, काम सानो ठूलो हुन्न सबै कामलाई सम्मान दिनुपर्छ भन्ने सोचाइ विकास गर्न प्रयास गरिरहेको छु,’ उनले भने ‘देशको अवस्था हेर्दा सोचे जस्तो हुन्छ जस्तो लाग्दैन । मेरो पनि अन्तिम विकल्प विदेश नै हुन्छ कि मनमा त्रास छ ।’

विदेश जाने सोच छैन तर बेरोजगारीले खाडी देश भएपनि जाने बाध्यता आएको छ । देशमा बेरोजगारी चरम छ । सरकारले युवाका समस्या बुझ्दैनन् ।

मेलामा पोखराका शुशिला प्रधानांग र मेरिना श्रेष्ठ अचारको प्रचारमा निकै व्यस्त देखिन्थे । उनीहरु पोखरेली दिदी बहिनी कोसेली घरका सञ्चालक हुन् । २०७७ सालमा ६ जना मिलेर स्थापना गरिएको कोसेली घरमा आँप, खुर्सानी, मासु, अमलाको अचार, टिमुरको छोप र लोकल चिप्स पाइन्छ ।


जानेको सिपबाट आत्मनिर्भर बन्न सकिने, घरमै उत्पादन गर्न सकिने तथा थोरै समय दिए पनि हुने भएकाले अचार उद्योग सञ्चालन गरेको उनीहरुले बताए । ३ लाख लगानीमा सञ्चालन गरिएको कोसेली घरबाट आम्दानी १७ लाख सम्म भएको प्रधानांगले बताइन् ।


वैदेशिक रोजगारमा जानु अघि अभिमुखिकरण तालिम लिएर गएमा सहज हुने राष्ट्रिय अभिमुखिकरण तालिम संघका कोषाध्यक्ष दानबहादुर आलेले उल्लेख गरे । दुई दिने अभिमखिकरण तालिम लिएपछि मात्र सरकाले अन्तिम श्रम स्वीकृति दिने उनले बताए ।


‘अभिमुखिकरण तालिममा जान लागेको देशको भाषा, धर्म, संस्कृति, नियमका बारेमा जानकारी दिइन्छ । जानकारी लिएर गएमा सहज हुन्छ भने दुर्घटनामा कमि आउँछ ।’ आलेले भने ।


मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा भएको हो ।


मेलाको संयोजनमा होटल संघ नेपाल (हान) र सहआयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्था छन् ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कामदारले काम र रोजगारदाताले कामदार पाउन सकुन् भन्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।


नेपालमा रोजगारी खोज्नेको जमात ठूलो रहेको र रोजगारदाताले पनि श्रमिक नपाउने अवस्था रहेको उनको भनाइ छ ।
‘कामदारले योग्यता अनुसारको काम पाउँदैनन्, रोजगारदाताले योग्य जनशक्ति पाउँदैनन् । यो समस्या निकै जटिल छ । समस्या समाधान गर्न श्रमाधान रोजगार मेलाको अवधारण ल्याएका हौँ,’ मन्त्री अर्यालले भने ।


कार्यक्रम पूर्वतयारी विना गरिएकाले त्यति प्रभावकारी हुन नसक्ने बताउँदै आगामी दिनमा संयुक्त रूपमा तिनवटै सरकारले मिलेर प्रदेशमा मात्र सीमित नरहेर पालिकास्तरमै पुगेर कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरे ।


बेरोजगारी नेपालको मुख्य समस्या रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको तर्क छ । कृषि र उद्योगलाई उपेक्षा गर्दा बरोजगारीका साथै युवा पलायनका समस्या सृजना भएको पाण्डेले धारणा राखे ।


पाण्डेले भने, ‘गाउँमा जग्गा बाँझै छन्, कृषि क्षेत्रलाई उत्थान गर्न सकेमा रोजगारी सृजना हुने थियो । युवालाई पलायन हुनबाट रोक्न तिनै तहबाट प्रयास पनि भएको छ तर सफल हुन सकेको छैन ।’


मेलामा ४१ वटा स्टल छन् जसमा वैदेशिक रोजगार विभाग, सीजी ग्रुप, इसेवा, होङ्सी सिमेन्ट, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका स्टलहरू छन् ।


मंगलबारसम्म चल्ने मेलामा श्रमाधानका बहुआयामिक पक्षबारे छलफल हुनेछ । मेलामा सिप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानुन र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकता सम्बन्धि अन्तक्र्रिया हुनेछ ।


सोमबार मेलाको पहिलो दिन श्रम आप्रवासनः कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अवसर, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा अन्तक्र्रिया भएको थियो ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया