पोखरालाई हरित सहर बनाउन रणनीतिक प्रतिवेदन तयार

२९ सार्वजनिकस्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवाहरू लगाइने

समाधान संवाददाता २०८१ जेठ २१ गते २०:११

पोखरा ।
पोखरा महानगरपालिकालाई ‘स्वच्छ सहरः हरित सहर’को रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति सहितको अध्ययन प्रतिवेदन महानगरपालिकाले बुझेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा.शेषकान्त भण्डारीको संयोजकत्वमा गठित कार्यदलले सो प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई बुझाएको हो ।

Advertisement


प्रतिवेदनमा महानगर क्षेत्रको ७ सय किमी सडक तथा राजमार्ग, झन्डै ६९ किमी नदी तथा खोला किनार, २९ सार्वजनिकस्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवाहरू लगाइने छ । सहरी वन विकास तथा हरियाली प्रवर्द्धनका लागि वर, पीपल, समी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, अशोका, कल्की फूल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौँ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जंगली केरा लगायत बिरुवाहरू लगाइने छ ।


महानगर क्षेत्रमा २ लाख २६ हजार २६१ बिरुवाहरू लगाइनेछ । जस अन्तर्गत सार्वजनिक खुला क्षेत्रमा ७३ हजार ४९० र सडक, नदी तथा खोला किनारमा १ लाख ५२ हजार ७७१ वटा बिरुवाहरू लगाउन सकिने कार्यदलका संयोजक डा.भण्डारीले बताए । सहरी वन व्यवस्थापनमा पूर्वाधारको अभाव, मानवीय अतिक्रमण, जनचेतनाको कमी, कानुनी जटिलता, जनशक्ति अभाव, प्राविधिक उपकरणको अभाव, अन्तर निकाय समन्वयको अभाव र मौजुदा व्यवस्थाहरू कार्यान्वयनको कमजोर अवस्था लगायत चुनौतीहरू रहेको प्रतिवेदनमा औँल्याइएको छ ।


प्रतिवेदनमा बिरुवा रोप्ने खाडल र बिरुवाको आकार, माटो, बिरुवा रोप्ने समय, वृक्षरोपण अभियानमा सिर्जनात्मक तरिका तथा प्रोत्साहनजनक कार्यहरू, मल्चिङ, बिरुवाको नाम लगायतको विवरण अभिलेखीकरण, ट्री गार्ड, सरोकारवालाको निक्र्यौल, सहरी वनलाई सबल बनाउने उपायहरूको अवलम्बन, जनचेतना अभिवृद्धि, दण्ड, जरिवाना र क्षतिपूर्ति लगायतको व्यवस्था गर्न आवश्यक रहेको जनाइएको छ ।


महानगर क्षेत्रमा सहरी वनको व्यवस्थापन आवश्यक रहेको र खाली तथा खुला स्थानहरूमा वृक्षरोपण गर्नुपर्ने भएकाले विज्ञहरूको कार्यदल बनाई सम्भावित स्थानहरुको पहिचान गरिएको नगर प्रमुख धनराज आचार्यले बताए ।

Advertisement

हरित सहरको निर्माण केवल हरियालीसँग मात्र नजोडिने भन्दै प्रमुख आचार्यले यो वातावरणीय स्वच्छताप्रति स्थानीय सरकारको प्रतिबद्धतासमेत भएको बताए । प्रतिवेदनले पोखरालाई स्वच्छ सहरः हरित सहरको रूपमा विकास गर्न माइलस्टोनको रूपमा काम गर्ने उनले विश्वास व्यक्त गरे । आफूहरू यसको कार्यान्वयनका लागि तत्काल काम थाल्ने उनले प्रतिबद्धता जाहेर गरे ।


नगर प्रमुख आचार्यको विशेष पहलमा पोखरा महानगरको सहरी वन कार्यक्रमलाई सुदृढ गर्न र र स्वच्छ सहर हरित सहरको लक्ष्य हासिल गर्न, सम्भावित वृक्षरोपण स्थलहरू पहिचान गर्न, सहरी वन कार्यक्रम प्रवर्द्धन गर्न, उपयुक्त वनस्पति प्रजातिहरू पहिचान गर्ने र महानगर क्षेत्रमा वृक्षरोपण सम्भाव्यताको योजना तयार गर्ने उद्देश्यले उप प्राध्यापक डा.भण्डारी सहित उप प्राध्यापक सुमन भट्टराई र उप प्राध्यापक विकास अधिकारी सम्मिलित अध्ययन टोली गठन गरिएको थियो ।


रैथाने प्रजाति, स्थानीय बासिन्दाको रोजाइ, सौन्दर्य बढाउने प्रजाति, सदाबहार प्रजाति, धार्मिक महत्वका प्रजाति, पोखरा महानगर भित्र राम्रोसँग हुर्किरहेका प्रजाति, हावाहुरीबाट सजिलै नभाँचिने प्रजातिका आधारमा वृक्षरोपण गरिने बिरुवाका प्रजातिहरू छनोट गरिएको कार्यदलले बताएको छ ।

तपाईको प्रतिक्रिया