मनाङ अस्पतालमा भवन र जनशक्तिको समस्या

राष्ट्रिय समाचार समिति (रासस) २०८१ जेठ २३ गते १०:४५

मनाङ ।
मनाङमा हालसम्म सुविधासम्पन्न अस्पताल छैनन् । सामान्य उपचारका लागि छिमेकी जिल्ला पुग्नुपर्ने बाध्यता छ । लामो समयदेखि जिल्लामै उपचार गर्न पाउने पर्खाइमा मनाङबासी छन् ।

Advertisement


२०४६ फागुन १९ मा निर्मित जिल्ला अस्पतालको भवन जीर्ण भइसकेको छ । नयाँ भवन निर्माण भएको छैन । मनाङ पर्यटकीय जिल्ला भएकाले पर्यटकलाई लेक (हाइअल्टिच्युड) लाग्ने समस्याले बिरामीहरु जिल्ला अस्पतालमा उपचारका लागि आउँछन् ।

तर भने जस्तो उपचार सेवा नपाउँदा समस्या हुने गर्छ । अस्पताल भवन जीर्ण हुँदा बिरामीलाई आरामसँग राखेर उपचार गराउने ठाउँको अभाव छ ।


सामान्य जाँच गर्न पनि हेलिकप्टर मगाउनुपर्ने अवस्था छ । नयाँ अस्पताल भवन निर्माण गर्ने ठेक्का लागेको वर्षौँ भइसकेको छ । पटक पटक म्याद थप गर्दा पनि अस्पताल भवन निर्माण हुन सकेको छैन ।

१४ करोडमा ओम बुद्ध/बुद्ध जेबी कम्पनीले विसं २०७६ मा ठेक्का सम्झौता गरेको थियो । १५ शैय्यामा स्तरोन्नति गरेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यले भवन निर्माण गर्न प्रदेश सरकारले ४ वर्षमा ३ पटक म्याद थप गरिसकेको छ ।

Advertisement

जिल्ला अस्पतालमा १८ जनाको स्थायी दरबन्दी छ । तर, अस्पतालमा ५ जनामात्र कार्यरत छन् ।


ओम बुद्ध÷बुद्ध जेवी कम्पनीका ठेकेदार अनिल घिमिरेले आर्थिक रूपमा ८० र भौतिक रूपमा ९८ प्रतिशत काम सम्पन्न गरेको बताए । उनले रङरोगन तथा टायल बिच्छ्याउने काम भइरहेको जानकारी दिए ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले विसं २०७५ देखि गण्डकी प्रदेश अन्तर्गत सञ्चालन हुँदै आएको अस्पतालबारे भर्खरै मात्र प्रदेशमा समस्याबारे जानकारी गराएको बताए ।


अध्यक्ष घलेले भौतिक रूपमा कार्य प्रगति मूल्यांकन गरेर यही असार मसान्तसम्ममा नयाँ भवनबाट अस्पतालले सेवा दिनेमा आफू विश्वस्त रहेको सुनाए । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा भारती मेहताले मुख्य ठेकेदार र स्थानीय (पेटी) ठेकेदार बीचमा आन्तरिक कुरा नमिल्दा अस्पताल भवन निर्माणले तीव्रता पाउन नसकेको सुनाइन् । भनिन्, ‘भवनमात्रै भएर के गर्नु, दुर्गममा दरबन्दी अनुसार दक्ष जनशक्ति हुनुपर्‍यो त्यो छैन,’ उनले भनिन् ।


जिल्ला अस्पतालमा १८ जनाको स्थायी दरबन्दी छ । तर, अस्पतालमा ५ जनामात्र कार्यरत छन् । १३ जनाको दरबन्दी रिक्त छ । डा भारतीका अनुसार दरबन्दी अनुसारको दक्ष जनशक्ति नहुँदा दुई ‘सिफ्ट’मा काम गर्ने अवस्था छैन । दुर्गममा कर्मचारी आउनै नमान्ने भएकाले थोरै जनशक्तिबाट धेरै काम गर्नुपरेको उनको गुनासो छ ।


डा भारतीले भनिन्, ‘अन्य अस्पतालको वार्षिक आम्दानी ५ करोडभन्दा बढी हुन्छ । हाम्रोमा २० को टिकटले मुस्किलले वर्षमा २ लाख उठ्छ । कसरी कर्मचारीलाई भत्ता व्यवस्थापन गर्ने ? जिल्लाभरि नै सशुल्क फार्मेसी छैन । सरकारले दिने ९८ प्रकारका निःशुल्क औषधीबाट जिल्ला अस्पताल चलाउनु परेको छ ।’


पदयात्राको प्रवेशद्वार मानिने चामेमा अवस्थित अस्पतालले विदेशी तथा स्वदेशी पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । प्रत्येक वर्ष लेक लागेर अकालमा हुने मृत्यु दर घटाउन अस्पतालले सेवा दिइरहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया