क्रिकेटमा पर्वतको सान्त्वना जित

पोखरा ।
गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा पर्वतले सान्तवना जित निकालेको छ । पोखरा रंगशालामा जारी प्रतियोगिताको समूहबीको अन्तिम खेलमा गोरखालाई ५१ रनले पराजित गरेको हो । यो जितसँगै पर्वतले समूह बिमा ३ अंक जोड्दै तेस्रो स्थानमा कायम भएको छ । पर्वतको जितमा कप्तान अमृत गुरुङले ५३ रनको अर्धशतकीय पारी खेले । उनले आफ्नो अर्धशतक पुरा गर्न ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।
यसअघि टस जितेर व्याटिङ रोजेको पर्वतले १९.४ ओभरमा अतिरिक्त १३ रनका साथ ११२ रन जोडेको थियो । पारी सुरुवात गरेको पवर्त पाँचौ विकेट सम्म खेलमा कुनै गति दिन नसके पनि छैटौं क्रममा आएका अमृतले पारीलाई सम्हालेका थिए । विकास क्षेत्रीले १३ र सुदर्शन कुँवरले १० रन बाहेक अन्य खेलाडी सस्तैमा पेभिलिएन फर्किएका थिए ।
गोरखाका मेहुल श्रेष्ठले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए भने प्रविद्ध बज्रचार्य र पंकज पाण्डेले समान २–२ विकेट लिए । यता जवाफी व्याटिङका लागि उत्रिएको गोरखा १४.१ ओभरमा ६१ रनमा धरासयी भयो । गोरखाका कपिल कट्टेलले सर्वाधिक १३ रन बनाए । खेलमा पर्वतले ७ जना बलरलाई मौका दियो । हरेक बलरले विकेट हात पारे । रोशन गौतम र लक्ष्मण थापाले २–२ विकेट लिएका थिए । फाइनल खेल बिहीबार कास्की र स्याङ्जाका बीच हुनेछ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनोटसमेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
गण्डकी प्रदेशस्तरीय महिला टि–२० मा चार टिम
गण्डकी प्रदेशस्तरीय महिला टि–२० क्रिकेटमा ४ टिमको सहभागिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको ब्यवस्थापनमा उक्त प्रतियोगिता असार ७ गते सुरु हुने प्रतियोगितामा ४ टिमले सहभागिता जनाएका हुन् ।
प्रतियोगिताका कास्की, पर्वत, नवलपुर र स्याङजाको सहभागिता हुने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा असार १० गतेसम्म सञ्चालन हुने प्रतियोगिता राउन्डरोविनको आधारमा सञ्चालन हुने छ ।
पहिलो दिन कास्की र पर्वत तथा स्याङ्जा र नवलपुरका बीच हुनेछ । दोस्रो दिन असार ८ गते स्याङ्जा र पर्वत तथा दोस्रो खेलमा कास्कीले नवलपुरको सामना गर्नेछ । त्यसै गरी असार ९ गते पर्वत र नवलपुर तथा दोस्रो खेल कास्की र स्याङजाका बीच हुनेछ । असार १० गते हुने फाइनलमा समूहको बिजेता र उपविजेताका बीच हुने कास्की क्रिकेटले जनाएको छ ।
तपाईको प्रतिक्रिया