गण्डकी प्रदेशमा विपद्
असारमै २१ जनाको ज्यान गयो

पोखरा ।
यसपालिको बर्खा सुरु भएपछि आइतबारसम्म गण्डकीमा २१ जनाले ज्यान गुमाएका छन् । बर्खासँगै सुरु भएको विपद्का कारण असार महिनामा मात्र २१ जनाले ज्यान गुमाउँदा १९ जना घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
विपद्मा तनहुँको शुक्लागण्डकी नगरपालिका ७ काउरेमा ठूलो मानवीय क्षति भएको छ । शनिबार पहिराले घर पुरिएर बेपत्ता भएका तीनै जनाको शव आइतबार फेला परेको छ । हीरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट पहिरो जाँदा पुरिएकामध्ये शनिबार एक जनाएको शव भेटिएको थियो । आइतबार बिहान बेपत्ता २ जनाको शव फेला पारेका हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पहिराले ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको शव फेला परेको छ । यसअघि शनिबार राति नै ४० वर्षीया हीरा नेपालीको शव फेला परेको थियो । पहिरामा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् ।
घाइतेको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।
पर्वतको फलेवास नगरपालिका वडा नम्बर १ कार्कीनेटाको टिमुरबोटका कुलप्रसाद पाध्याको घर माथिबाट आएको पहिरोले गोठ पुरिँदा स्थानीय ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला ३ निवासी ३३ वर्षीय तुलसीप्रसाद शर्माको मृत्यु भएको छ ।
घरमाथिबाट पहिरो झर्न थालेपछि गोठमा भैंसी, बाख्रा बचाउन गएका उनीहरुको मृत्यु भएको हो । शनिबार दिउँसो साढे ३ बजेतिर बेपत्ता भए पनि बेलुका अबेर उनीहरुको शव फेला परेको थियो । उक्त घटनामा पाध्याका घरमा पालेका २ भैंसी, १ पाडो र ४ बाख्रा पनि मरेका छन् ।
अहिलेको अविरल वर्षाअघि असार १२ गते लमजुङको क्व्होलासोथार गाउँपालिका ३ बगुमका ४ जनाको पहिरोबाट ज्यान गएको थियो । ज्यान गुमाउनेमा ६७ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ८ महिनाकी ईच्छा गुरुङ, ५ महिनाकी निश्मा गुरुङ छन् ।
असार १२ गते नै लमजुङको दोर्दी गाउँपालिका धैरेनीमा १४ वर्षीय बालकको पहिरोमा परेर ज्यान गएको थियो । सोही दिन कास्कीको मादी गाउँपालिका चितेपानीकी १३ वर्षी आयुश्मा रानाभाट र पोखरा २७ आरुपाटका ३ वर्षीय नाबालक अनमोल सुनारको पहिरोमा परेर मृत्यु भएको थियो ।
त्यस रात नवलपुर काबासेती १४ अग्यौलीका ४६ वर्षीय महिलाको चट्याङबाट मृत्यु भएको थियो । असार १४ गते स्याङ्जाको फेदीखोजा ५ बाँगेकी ३१ वर्षीय दुर्गा जिटी र ३ वर्षीय बालक निसिका जिटीको मृत्यु भएको थियो । असार १५ गते बागलुङ गल्कोट नगरपालिका ८ बिसौनाका ५५ वर्षीय प्रेम विक र ५० वर्षीय वसन्त विकको पहिरोबाट मृत्यु भएको थियो ।
पहिरोमा भागेका दम्पत्तीको पहिरोबाटै मृत्यु
स्याङ्जामा पहिरोमा परेर २ ठाउँमा गरी ४ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो बिरुवा गाउँपालिका ६ लामाखेतमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ७१ वर्षीय माधव शर्मा, उनकी श्रीमती ६५ वर्षीय गुहेश्वरी शर्मा मरासिनी र छिमेकी ६७ वर्षीय हरिमाया शर्मा छन् ।
घटनाअघि उनीहरु आफ्नो घरमा आएको पहिरोबाट जोगिएर ईश्वरी लम्सालको घरमा आश्रय लिन पुगेका थिए । तर, आश्रय लिएको घरमा पनि माथिबाट पहिरो खस्दा तीनै जनाको मृत्यु भएको हो । लम्सालको परिवारका ८ जना सदस्य पनि त्यही घरमा थिए । ५ जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रदेश प्रहरीले जनाएको छ ।
स्याङ्जाको भीरकोट नगरपालिका ५ स्वरेक जिमिरेमा घरमाथिबाट खसेको पहिरोले एकजना वृद्धाको मृत्यु भएको छ । सडकमाथिबाट खसेको पहिरोमा पुरिएर ७५ वर्षीय खिनाकुमारी मल्लको मृत्यु भएको हो । उनकी बुहारी भने भागेर ज्यान जोगाउन सफल भएकी छन् ।
तपाईको प्रतिक्रिया