
पर्वत ।
स्वाद, बास्ना र गुणस्तरका हिसाबले छुट्टै पहिचान बनाउन सफल पोखरेली जेठो बुढो धानको यहाँ उन्नत बीउ उत्पादन गर्न थालिएको छ । धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट र वडा नं ११ पकुवा तथा फलेबास नगरपालिकाको वडा नं ६ देविस्थान र विहादी गाउँपालिका वडा नं २ बर्राचौरमा पोखरेली जेठो बुढोको उन्नत बीउ उत्पादन गर्न लागिएको हो ।
पछिल्लो समय नेपाली भान्छामा मात्र नभई विदेशमा रहेका नेपाली रेष्टुरेन्टमा पनि जेठो बुढो धानको चामलको माग अत्यधिक बढ्दै गएपछि जिल्लामा यसको व्यावसायिक खेती सुरु गरिएको हो । यस वर्ष जिल्लाको ३ सय रोपनी क्षेत्रफलमा स्रोत बीउ उत्पादन गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङ एकाइ पर्वतले जनाएको छ ।
अहिले रोपिएको धान कात्तिक अन्तिम साता भित्र्याइन्छ । अहिले कार्यक्रम लागू भएका ५ वटै स्थानमा धमाधम पोखरेली जेठो बुढो धानको रोपाइँ भइरहेको परियोजनाका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिए । उक्त क्षेत्रफलबाट ४० टन धानको स्रोत बीउ उत्पादन हुने अनुमान गरिएको पौडेलले सुनाए ।
कुश्मा नगरपालिका वडा नं ११ पकुवामा मात्रै १ सय ५ रोपनी क्षेत्रफलमा जेठो बुढो धान रोपिएको छ । स्थानीय साना किसान कृषि सहकारी संस्थामार्फत धानखेती गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना सञ्चालन भएपछि धान उत्पादनमा प्रविधि, यन्त्र उपकरण र उन्नत बीउका साथै सिँचाइलगायत अन्य प्राविधिक विषयमा कृषकलाई सहयोग पुगेको कुश्मा वडा नं ११ मा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष अगुवा कृषक डम्बर विकले बताए ।
उनले १ सय ५ रोपनी क्षेत्रफलमा पोखरेली जेठो बुढोको उन्नत बीउ उत्पादन गर्दै आएको जनाए । विकले यहाँ उत्पादित बीउ पोखरासँगै बागलुङ र पर्वतका विभिन्न ठाउँमा बिक्री गर्ने गरेको सुनाए । उनी धान उत्पादनभन्दा बीउबाट दोब्बर आम्दानी गर्न सकिने भएकाले कृषक बीउ उत्पादनमा आकर्षित भएको सुनाउँछन् ।
विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा जेठो बुढोको धानखेती हुँदै आए पनि यस वर्ष बीउसमेत उत्पादन गर्न थालिएको परियोजना प्रमुख नारायण पौडेलको भनाय छ । कार्यालयले खेतमा धानको बीउ उमार्नेदेखि रोप्ने, गोडमेल गर्ने, उत्पादन, बीउ छनोट तथा भण्डारणसम्मका काममा प्राविधिक सहयोग गर्ने गरेको छ । त्यसैगरी मिनिटेलर हलो, मूल बीउ, साना सिँचाइ योजनालगायतका सहयोग कार्यालयले गरेको छ ।
परियोजनाको धान जोन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा रु एक करोडभन्दा बढी सहयोग गरिएको परियोजनाले जनाएको छ । कृषकले बीउ बिक्री गरेर राम्रो आम्दानी गर्नसक्ने भएका छन् । प्रतिकिलो १ सय ८० का दरले बीउ बिक्री हुने गरेको कार्यालयले जनाएको छ ।
बीउ उत्पादनका लागि यस वर्ष परियोजनाले ५ सय ८० किलो मूल बीउ वितरण गरेको थियो ।
पोखरेली जेठो बुढो धानको उन्नत बीउ उत्पादनका लागि चालु आर्थिक वर्षमा १० लाख विनियोजन भएको कार्यालयले जनाएको छ । सिँचाइको सुविधा पुगेका समथर र समुद्री सतहदेखि १ हजार मिटरसम्मको उचाइमा उत्पादन गर्न सकिने यो धानखेतीको विस्तारक्रम बर्सेनि बढ्दो क्रममा छ ।
पर्वतको करिब ९ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लाभर २६ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा असार अन्तिमसम्म झण्डै ६५ प्रतिशत खेतमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शंकर पौडेलले जानकारी दिए ।
जेठो बुढोबाहेक जिल्लामा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, युएस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, खुमल–१६, बास्मती, पहेँले, गौरिया, झिनुवा, वीरमफूल, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिडलगायत जातको धान लगाउने गरिन्छ । केही रैथाने जातको धान भने लोप भइसकेको केन्द्रले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया