त्यो मोबाइल, जसले हत्यारालाई कस्टडी डोर्यायो

सञ्जय रानाभाट
पोखरा ।
होटलको कोठामा छिरेका पुरुष पार्टनर जब हतासिँदै बाहिर निस्के, पोखरा नागढुंगाको ‘होटल युनिक’की सञ्चालिका ‘कोठा नम्बर २०२’ मा पुगिन् । त्यहाँ केही समयअघि सकुशल छिरेकी सुकु विक अचेत अवस्थामा भेटिइन् ।
तनहुँको भीमाद घर भई पोखरा ८ नागढुंगाको शिला रेस्टुरेन्टमा काम गर्दै आएकी उनलाई तत्काल नजिकैको चरक मेमोरियल अस्पतालमा पु¥याए पनि अस्पतालले मृत घोषणा गर्यो । तर, उनीसँगै होटलको कोठामा पुग्ने युवक को थिए पत्ता लागेन । प्रहरीले घटनाबारे अनुसन्धान गर्न होटल सञ्चालकसहित ५ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्यो । तर, पनि होटल पुग्ने युवकको संकेतसम्म फेला पारेन ।
सिसिटिभी क्यामेराबाट युवकको चेहेरासमेत पत्ता नलगाए पनि उनले लगाएको ‘द नर्थफेस’ जाकेट प्रहरीले ख्याल गर्यो । होटल कोठामा भेटिएको थियो—एक बोटल बियर र २ वटा जुस र गिलास । घटना २०८० मंसिर ५ गतेको हो । यसबीचमा प्रहरीले अनेक उपाय लगाएर ती अज्ञात युवक खोजिरह्यो । ८ महिनापछि मात्रै प्रहरीलाई सफलता हात लागेको छ । बागलुङ गलकोट नगरपालिका वडा नम्बर ९ मल्मका २९ वर्षे सञ्जय विक सुकुको हत्या आरोपमा पक्राउ परेका छन् ।
सञ्जयलाई कास्की प्रहरीले ०८१ साउन २ गते नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर १२ हर्कपुरबाट नियन्त्रणमा लिएको हो । प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाका अनुसार पोखरा ७ घारीपाटन डेरा गरी बस्दै आएका सञ्जय पछिल्लो समय गैंडाकोटमा डेरा लिएर बस्दै आएका थिए ।
एसपी थापाका अनुसार सञ्जय घटना लगत्तै भारत पुगेका थिए । भारतबाट फर्केर उनी पोखरा आएपनि त्यसपछि पुन उनी भारत नै पुगेको प्रहरीले पत्तो लगाइसकेको छ । भारत पुगेर उनी फेरि फर्केर गैंडाकोटमा आएर डेरा लिएर बस्दै आएका हुन् ।
होटलको कोठामा कुनै संकेत नछाडेका सञ्जयलाई प्रहरीले कसरी पक्राउ गर्यो त ? अस्पतालले सुकुको मृत्युको कारण हत्या भन्ने रिपोर्ट दिएको थियो ।
घाँटीमा गहिरो चोट रिपोर्टले देखाएको थियो । त्यसपछि उनका मोबाइल र सुनको सिक्रीसमेत भेटिएका थिएनन् । प्रहरीले उनको मोबाइल, गहना र पैसाका लागि हत्या गरिएको हुन सक्ने अनुमान गर्यो । नभन्दै कास्की प्रहरीलाई २०८० मंसिर १५ गते केन्द्रीय अनुसन्धान ब्युरोबाट फोन आयो—सुकुले बोक्दै आएको ‘आइफोन १३ प्रो’ महोत्तरी बर्दीबास नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय राजेश बुढाथोकीले चलाइरहेका छन् । कास्की प्रहरीले सुकुले बोक्दै आएको मोबाइलको ‘आइएमइआई’ नम्बरबाट अनुसन्धान थालेको थियो ।
सिआइबीले उपलब्ध लिएको जानकारीपछि प्रहरीले महोत्तरीका राजेश बुढाथोकीलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो । ‘राजेशले साथी सञ्जय विकसँग ४० हजार ५ सय रुपैयाँमा त्यो मोबाइल किनेको बयान दिए,’ एसपी थापाले भने, ‘त्यसपछि प्रहरीले सञ्जयमाथि निगरानी बढायो । उनी घटना लगत्तै भारत पुगे । फेरि फर्के । अनि फेरि भारत पुगे । पछि उनी गैंडाकोट बस्दै आएको पत्ता लगाएपछि नियन्त्रणमा लियौं ।’
सञ्जयलाई नियन्त्रण लिएपछि प्रहरीले उनको डेराबाट पोको कम्पनीको मोबाइलमा सुकुको मोबाइल स्क्रिनसर्ट राखिएको फोटो भेट्यो । उनलाई नियन्त्रणमा लिएर प्रहरीले होटल युनिक पुगेर उनको सनाखत समेत गरेपछि उनलाई पत्रकार सम्मेलनमार्फत शुक्रबार सार्वजनिक गरेको हो ।
विवाह गर्न नमान्दा सुकुलाई मारेको बयान सञ्जयले दिएको एसपी थापाले बताए । सञ्जयले प्रहरीलाई हत्याको कारण विवाह गर्न नमान्दा भनेपनि प्रहरीले सामान चोरी गर्न हत्या गरेको निष्कर्ष निकालेको छ । प्रहरीकै भनाइमा सञ्जय यस्ता व्यक्ति हुन्, जो ०७२ असार १९ गते कास्की प्रहरीमा नै चोरी कसुरमा पक्राउ परेका थिए । ०७३ भदौ १ गते बैदाम प्रहरीले उनलाई कार्यालयमा अभद्र व्यवहार गरेको कसुरमा पनि पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिया