डिजाइन स्वीकृत नगरी ठेक्का लगाउँदा मादीको अस्पताल निर्माण अलपत्र

समाधान संवाददाता २०८१ साउन ११ गते ५:४२

पोखरा। सम्झौता बमोजिम काम भएको भए २०८० असारमै कास्कीको मादी गाउँपालिकाको आधारभूत अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरिसक्ने थियो । ०७८ कात्तिक ८ गते प्रतिष्ठा धुलिखेल जेभीसँग १७ महिनामा काम सक्ने गरी भवन निर्माण सम्झौता भएको थियो । सम्झौता सकिएको १ वर्ष बितिसक्दासमेत अस्पतालको डिजाइन नै यकीन भएको छैन ।

Advertisement

स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा दिन नेपाल सरकारले २०७७ मंसिरमा एकैपटक तीन सय ९६ पालिकामा अस्पताल निर्माण शिलान्यास गरेको थियो । मादी गाउँपालिकाको वडा नम्बर ७ छाचोकमा २१ करोड ९९ लाखमा १५ शैयाको अस्पताल भवन बनाइँदै छ । शिलान्यासबाट भौतिक प्रगति शून्य रहेकोमा गत वर्ष जग्गामा मेसिनरी वाल लगाइएको छ ।
प्रतिष्ठा धुलिखेल जेभीले गएको मंसिरबाट वाल लगाएर त्यसवापतको ९५ लाख भुक्तानी लिइसकेको छ । ३ ब्लक जोडिएको साढे २ तले भवन बनाउने योजना छ । अस्पताल भवन १ हजार ८७ वर्ष मिटरमा हुने पछिल्लो स्वीकृत हुन बाँकी डिजाइनमा उल्लेख छ । साइटको व्यवस्थापन, ड्रइङ तथा डिजाइन स्वास्थ्य मन्त्रालयबाट स्वीकृत हुनुपर्नेमा स्वीकृत नगरी ठेक्का हुँदा निर्माणमा समस्या अएको थियो ।

मन्त्रालयबाट ड्रइङ तथा डिजाइन स्वीकृत गरी २०८० असारमा पठाए पनि भूगोल अनुसार उपयुक्त नहुँदा त्यसमा परिमार्जन प्रक्रिया जारी छ । प्रतिष्ठा धुलिखेल जेभीका इन्जिनियर धीरज खत्रीले अहिलेसम्म आर्किटेक्चर र स्ट्रक्टर डिजाइनमात्र आएको जनाउँदै बाँकी डिजाइन आएपछि काम सुरु हुने बताए ।

Advertisement

कम्पनीले डिजाइन फाइनल भएको डेढ वर्षमा काम सक्ने जनाएको छ । ‘अस्पतालको डिजाइन, ड्रइङ र आर्थिक कारणले नरोकिने हो भने हामी सम्झौतामा भने जस्तै डेढ वर्षका काम सक्छौँ,’ उनी भन्छन्, ‘जग्गामा थप सेयर वाल लाउनुपर्ने अवस्था छ । भदौबाट वाल लगाउन थाल्छौँ ।’ यो वालको मात्र लागत ७० लाखभन्दा माथि आउने अनुमान छ ।

अस्पताल निर्माणका लागि २०७८।७९ मा तीन करोड प्राप्त भएकोमा ६३ लाख २६ हजार पेश्की दिइएको थियो भने बाँकी रकम फ्रिज भएको थियो । दोस्रो वर्ष यसका लागि बजेट विनियोजन नै भएन भने गएको वर्ष ४० लाख बजेट थियो ।

Advertisement

गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ हतारमा निर्माणअघि बढाइँदा समस्या आएको जनाउँदै अब नयाँ डिजाइन अनुसार डेढ वर्षभित्रै अस्पतालको नयाँ भवन तयार हुने बताउछन् । ‘मादीलाई सुविधा सम्पन्न अस्पताल नभई हुँदैन,’ उनी भन्छन्, ‘अब नयाँ भवन चाँडै बनाउन लाग्छौँ । बनेपछि सेवाग्राहीको चापलाई हेरेर आवश्यक जनशक्ति र स्वास्थ्य उपकरण थप्छौँ ।’

१२ वडा रहेको मादी गाउँपालिकामा १६ हजारको बसोबास छ । अस्पतालले गत वर्षबाट छाचोकको आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सुविधा दिन सुरु गरेको छ । अस्पतालमा मेडिकल चिकित्सक, प्रयोगशाला, भिडियो एक्सरे तथा एक्सरेलगायतका सेवा उपलब्ध छन् । अस्पताललाई रोटरी क्लब पोखरा अन्नपूर्णले ४१ लाख र गाउँपालिकाले १४ लाख गरी ५५ लाखका उपकरण किनेर दिएका थिए ।

तपाईको प्रतिक्रिया