
पोखरा ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई मान्यता दिने गरी कार्यविधि बनाउन लागेपछि यातायात व्यवसायी आन्दोलनमा उत्रेका छन् । रातो नम्बर प्लेटका गाडीलाई राइड सेयरिङमार्फत मान्यता दिने गरी सरकारले कार्यविधि बनाउन लागेको भन्दै यातायात व्यवसायी आन्दोलित भएका हुन् ।
यातायात व्यवसायीले बिहीबार मुख्यमन्त्री कार्यालय नै घेराउ गरे । मुख्यमन्त्री कार्यालय जाने बाटोमा उनीहरुले ट्याक्सी लामबद्ध गरी राखेर कार्यविधिको विरोध गरेका हुन् । रातो नम्बर प्लेटका निजी सवारी साधन भाडामा लगाएर सार्वजनिक यातायात व्यवसायलाई धराशायी बनाउन लागेको उनीहरुको आरोप छ ।
‘असक्षम यातायात मन्त्री राजीनामा दे’, ‘विदेशी अवैध एप खारेज गर’, ‘सम्पूर्ण यातायात व्यवसायी एक हौैं’, वैज्ञानिक भाडादर लागू गर’, यातायात व्यवसायी मार्न पाइँदैन’, अवैध धन्दा बन्द गर’, प्रदेश सरकार खारेज गर’, ‘प्रदेश सरकार चाहिँदैन’ जस्ता नारा लगाएर उनीहरुले विरोध गरेका हुन् ।
७ बुँदे माग राख्दै यातायात व्यवसायीले प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । २ र ४ पांग्रे निजी साधनलाई यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने, श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुुरक्षा योजना तत्काल लागू गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।
यातायात प्राधिकरण गठन गरी सञ्चालनको कार्यविधि बनाउनुपर्ने, वैज्ञानिक भाडादर लागू गर्नुपर्ने र यातायात मजदुरहरुको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने ध्यानकर्षण पत्रमा उल्लेख छ । यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदल क्रियाशील बनाउनुपर्ने पनि उनीहरुको माग छ ।
यातायात व्यवसायी यसअघि नै गण्डकी प्रदेश सरकारले बनाएको ऐन र नियमानवलीमा आफूहरुले असहमति जनाएर ध्यानकर्षण बुझाइरहेका बेला फेरि कार्यविधि बनाउन लागेको भन्दै विरोधमा उत्रिएको जनाएका छन् । गण्डकी प्रदेश सरकारले यसअघि प्रदेश सवारी यातायात व्यवस्था ऐन २०७६ र गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०८० बनाएको छ । ‘गण्डकी प्रदेश सरकारले आम यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ कुनै परामर्श नै नगरी, ऐनमा व्यवस्था नै नभएको रातो नम्बर प्लेट ४ पांग्रे र २ पांग्रे सवारी साधनहरुलाई सार्वजनिक सवारी सहर यात्रु ओसारपोसार गर्न दिन लागेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रदेश सरकारले ट्याक्सी व्यवसायी सिध्याउन लागेको उनीहरुको आरोप छ । प्रदेश सरकारले यसअघि नै राइड सेयरिङलाई वैधता दिने घोषणा गरेको छ । त्यसैलाई टेवा पुग्ने गरी कार्यविधि निर्माण भएको र मन्त्रिपरिषद् बैठकले पारित गर्न लागेकाले विरोधमा उत्रिएको उनीहरुको भनाइ छ । राइड सेयरिङलाई मान्यता दिने कुरा सवारी ऐन २०४९ को दफा ८ विपरीत भएको उनीहरुको ठहर छ ।
कार्यविधि बनाएर प्रदेश सरकारले रातो नम्बर प्लेटलाई वैधता दिएर यात्रु ओसारपोसार गर्न दिए आन्दोलनमा उत्रिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका अध्यक्ष केदार पौडेलले चेतावनी दिए ।रातो नम्बर प्लेटलाई मान्यता दिए कालो नम्बर प्लेटको महत्व के भयो भन्दै उनले प्रश्न गरेका छन् । ‘कालो नम्बर प्लेट लिएर राज्यसँग रुट परमिटर लिने, त्यही अनुसारको पैसा बुझाउने, त्यसका लागि संघर्ष गर्ने अब रातो नम्बर प्लेट लिनेले पनि यात्रु ओसारपोसार गर्न पाए त्यसको अर्थ के भयो,’ उनले प्रश्न गरे ।
राइड सेयरिङलाई मान्यता दिए यात्रु ओसारपोसार गर्न आफूहरुले विद्यार्थी परिचयपत्र छुट, ज्येष्ठ नागरिक छुट, जनयुद्ध बेपत्ता घाइतेका नाममा दिइएको छुट पनि नदिने र राज्यले दिएको छुट पनि नलिने उनीहरुको भनाइ छ । ‘राज्यको नियम नमान्ने हो भने अब राज्यले बनाएको टाइम टेबलमा पनि हिँड्दैनौं, जब यात्रु भरिन्छन् । तब हिँड्छौं । त्यस्तो गर्न राज्य तयार हो रु,’ उनले प्रश्न गरे, ‘त्यसो हो भने रातो नम्बर प्लेटलाई पनि सञ्चालन गर्न दिन्छौं । नीति नियममा हामी बाँधिनुपर्ने अनि रातो नम्बर प्लेटलाई पनि चलाउन दिए पनि हाम्रो व्यवसायी के हुन्छ ।’
कार्यविधि बनाएर व्यवसायीलाई पीडित बनाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्र केसीले आरोप लगाए । उनले रातो प्लेटका सवारीले यात्रु ओसारपसार गर्ने नीति कार्यान्वयनमा ल्याए आन्दोलनमा उत्रिने बताए । ‘साउन १३ गतेसम्म समय दिएका छौं । हाम्रा माग यथाशीघ्र सम्बोधन नभए साउन १३ गतेदेखि आ–आफ्ना सवारी साधनहरू घर ग्यारेजमा राख्छौं अनि आन्दोलन गर्छौं,’ उनले भने ।
मिटरमा गुड्दैनन् पोखराका ट्याक्सी
जिल्ला ट्राफिक कार्यालय कास्कीको तथ्यांकले भन्छ—ट्याक्सीहरु मिटरमा गुड्न मान्दैनन् । गत आर्थिक वर्षमात्र मिटरमा नहिँड्ने ५ सय ७८ वटा ट्याक्सीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।यो त प्रत्यक्ष प्रहरीको घेरामा आएको तथ्यांकमात्र हो । ट्याक्सी अनुगमन गर्न पुग्दा प्राय मिटरमा नहिँडेको तथ्यांकले नै देखाएको छ । फलस्वरुप यात्रुहरु चर्को भाडादर तिरेर यात्रा गर्न बाध्य छन् । पछिल्लो समय पोखरामा राइड सेयरिङ लोकप्रिय बन्दै गएको छ । यसले यात्रुले राइड सेयरिङ एपमार्फत यात्रा रुचाएको देखाउँछ । सस्तो र छिट्टो सेवा पाइने भएपछि यात्रुले पठाओ र इन्ड्राइभ जस्ता राइड सेयरिङमार्फत यात्रा गर्न थालेपछि सडकमा पालो पर्खेर यात्रु ओसार्दै आएका ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रेका छन् ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया