जन्मदिनमा शैक्षिक सामग्री वितरण

पोखरा ।
समाजसेवी विश्वमोहन गौचनले ८५ औं जन्मदिन शैक्षिक सामग्री हस्तान्तरण गरेर मनाएका छन् । गौचनले अन्नपूर्ण गाउँपालिका ३ मा अवस्थित पाउँदुर आधारभूत विद्यालयका विद्यार्थीलाई अत्यावश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
गौचनले आफूले २०१६ सालमा खाली चौरबाट शिक्षण सुरु गरेको विद्यालय कस्तो अवस्थामा होला भन्ने मनमा जिज्ञासा भए तापनि आज ६५ वर्षपछि सुविधा सम्पन्न अवस्थामा देख्न पाउँदा ज्यादै खुसी लागेको बताए ।
उनले शिक्षकको एउटै उद्देश्य आफ्ना विद्यार्थी अब्बल बनून् भन्ने हुने र त्यो चाहना पूरा हुँदा जीवन नै धन्य हुने धारणा राखे । गौचनका विद्यार्थी प्राध्यापक टेकबहादुर गुरुङले माटोले पोतेको चौरमा एउटा भोटो लगाएर पढ्न पाउँदाको स्मरण गर्दै आफ्ना गुरुलाई सोही विद्यालयमा दीर्घायुको कामना गर्न पाउँदा ज्यादै गौरवबोध भएको बताए ।
शिक्षासेवी तथा पूर्ववडाध्यक्ष चन्द्रबहादुर गुरुङले विगतलाई स्मरण गर्नु नै अग्रजको सम्मान रहेको बताए । पत्रकार असफल गौतमले शिक्षाका लागि राज्यको ठूलो बजेट लगानी भए तापनि जागिर सरकारी, सेवासुविधा निजीका पछाडि दौडने मानसिकताले सरकारी विद्यालयमा विद्यार्थी संख्या न्यून रहेकाप्रति चिन्ता व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक वसन्ती देवकोटाले विस्थापित हुन लागेको विद्यालयलाई पुनःस्थापित गर्नका लागि सिंगो समुदाय र पालिका लागेको बताइन् । उनले गौचनले पोखराबाट पैदल आएर शिक्षाका लागि बालेको ज्योति आज पनि जाज्वल्यमान बनेको बताइन् ।
समारोहमा समाजसेवी मैता गुरुङ, सिर्जना आमा समूहकी अध्यक्ष सुशीला पौडेल, शिक्षक जनक पौडेल, मिठु कुँवर, सरस्वती परियार, सीता विक, देवी गौतम अधिकारी, रीता पौडेल, अमृता परियारलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयका शिक्षक तथा सूचना अधिकारी राम अधिकारीले ५ कक्षासम्म अध्यापन हुने विद्यालयमा हाल ८० जना विद्यार्थी रहेको जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङले विद्यालयप्रतिको माया र सद्भाव निरन्तर रहोस् भन्दै जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया