निर्माणाधीन तालचोक बेगनास सडकमा विवादै विवाद

समाधान संवाददाता २०८१ साउन १७ गते १९:०८

पोखरा । निर्माणाधीन तालचोक बेगनास सडकमा देखिएका समस्याहरूको बारेमा स्थानीय सरोकारवालाहरूसँग छलफल गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा सम्पन्न छलफलमा सडक निर्माणका क्रममा देखिएका समस्या र विवादहरू एक साता भित्र समाधान गर्ने समझदारी भएको छ।

Advertisement

हाल उक्त सडकका चार स्थानमा समस्या देखिएको छ । शिशुवाचोक नजिकै ६० मिटर लम्बाइमा राइट अफ वे, शिशुवा चोक स्थित राइट अफ वे भित्र रहेको पुरानो घर विस्थापन गर्नु पर्ने, देउराली खोलामा बन्ने पुलको उचाइ र त्रिकाङचोकदेखि तल सेन्टर लाइन र राइट अफ वेको समस्या रहेको पाइएको छ ।

यी समस्याहरूको समाधानमा लागि आवश्यक समन्वयका लागि नगर प्रमुख आचार्य, महनागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगी, महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ, वडा नं.३० का वडा अध्यक्ष दुर्गा सुवेदी र वडा नं.३१ का वडा अध्यक्ष ढकनाथ कँडेल, योजनाका फोकल पर्सन इ.नवीन गौतम लगायत रहने गरी एक विवाद समाधान समिति गठन गरिएको छ ।

Advertisement

उक्त समितिले विवादहरूको समाधान गरी निर्माण कार्यमा आवश्यक सहजीकरण गर्नेछ । नगर प्रमुख आचार्यले महानगरको गौरवको आयोजनाको रूपमा रहेको उक्त आयोजनाको म्याद अब धेरै नरहेकाले समयमा नै सम्पन्न गर्नु पर्ने बाध्यता रहेको बताए । विश्व बैकको सहयोगमा निर्माण भइरहेको उक्त आयोजना निर्माणमा विलम्ब हुँदा त्यस क्षेत्रका नागरिकहरूले सास्ती खेप्नु परेको उनले बताए । आयोजनाका कारण स्थानीय उपभोक्ताहरूलाई परेको समस्याहरू माथि खुला छलफल गर्न महानगरपालिका तयार रहेको बताउँदै उनले अल्पकालीन भन्दा पनि यसको दीर्घकालीन फाइदाहरूका बारेमा सोच्न आग्रह गरे ।

आयोजना स्वच्छन्द सपना वल्डवाइड जेभिले निर्माणको ठेक्का पाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया