मुस्ताङमा २२ हजार गाँजाका बोट नष्ट

जोमसोम ।
मुस्ताङको थासाङमा प्रहरी र जनप्रतिनिधिद्वारा प्राकृतिक रुपमा उम्रिएका २२ हजार गाँजाको बोट नष्ट गरिएको छ । जिल्ला समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालय मुस्ताङको सक्रियतामा इलाका प्रहरी चौकी लेते र प्रहरी चौकी कोबाङमा कार्यरत सुरक्षाकर्मी एवं स्थानीय जनप्रतिनिधि लगायतले थासाङ क्षेत्रमा आइतबार अवैध गाँजाको बोट नष्ट गरेका हुन् ।
थासाङको विभिन्न स्थानमा प्राकृतिक रुपमा गाँजाको बोट अनाधिकृत रुपमा पलाएको सूचनासँगै जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी निरीक्षक विशाल अधिकारीको कमान्ड र इलाका प्रहरी कार्यालय लेतेको समन्वयमा थासाङ—३ धम्पु र थासाङ—५ टिटी ताल वरपर अवैध गाजाको बोट फडानी गरिएको हो ।
प्रहरीको अभियानमा जनप्रतिनिधिले समेत साथ दिएका हुन् । थासाङमा प्रहरीको गाँजा फडानी अभियानमा थासाङ—३ का वडाध्यक्ष हरिप्रसाद स्वयं खटिएका थिए । थासाङको धम्पु र टिटी ताल क्षेत्रको गाउँबस्तीका सार्वजनिक बाटोघाटो, खुलाचौर, झाँडी, बुट्यान र जंगलमा ठूलो मात्रामा प्राकृतिक रुपमा उम्रिएका गाँजाको बोट फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
मुस्ताङ प्रहरीले यसको २ दिन अघि थासाङ गाउँपालिका—२ कोवाङको सार्वजनिक स्थानमा प्राकृतिक रुपमा उम्रिएका करिब ६ सय बोट गाँजा फडानी गरी नष्ट गरेको थियो । कोबाङको सार्वजनिक स्थानमा पलायको गाँजा फडानी अभियान त्यहाँका वडाध्यक्ष गौतम शेरचनसहित स्थानीय नागरिकले साथ दिएको प्रहरीले जनाएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाका क्षेत्र हरियाली क्षेत्र भएकाले यहाँ प्राकृतिक रुपमा गाँजा फस्टाउने गरेको छ । ६ महिनाअघि पनि मुस्ताङ प्रहरीले थासाङको टिटी ताल क्षेत्रमा करिव ४ हजार अवैध गाँजाको बोट फडानी गरी नष्ट गरेको थियो । प्रहरी निकायले थासाङ क्षेत्रमा पटक/पटक गाँजाको बोट फडानी गरेपनि प्राकृतिक रुपमा आफै उम्रिने भएकाले गाँजाको बोट नियन्त्रण गर्न समस्या पर्दै आइरहेको छ ।
थासाङ क्षेत्रमा प्राकृतिक रुपमा उम्रिएका गाँजाले युवापंक्तिमा दुव्र्यसनीको जोखिम बढेको प्रहरीको बुझाइ छ । गाँजा सेवनले युवालाई कुलतको बाटोतर्फ धकेल्दै लगेको भन्दै केही दिनअघि प्रहरीको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीयले प्रहरीको ध्यानार्कषण गरेका थिए । त्यसो त प्रहरीको नागरिक सुनुवाइमा गाँजाले युवापंक्तिलाई दुव्र्यवसनीको जोखिम बढाएको भएपनि पशुचौपायाको उपचारमा गाँजा औषधिको रुपमा प्रयोग हुँदै आइरहेको बताएका थिए ।
सरकारले गाँजालाई वैधता दिने बहसको विषय बनेको छ । प्राकृतिक रुपमा पलाउने गरेको गाँजालाई कृषि उत्पादनको रुपमा व्यावसायिक बनाउँदै लैजान पर्ने चर्चा पनि चल्ने गरेको छ । तर, सरकारले गाँजा खेतीबारे स्पष्ट धारणा बनाउन नसक्दा र आवश्यक कानुन निर्माण गर्न नसक्दा गाउँघरमा प्राकृतिक रुपमा उम्रिने गाँजाको बोट त्यसै खेर गइरहेको छ ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया