उपभोक्ताको गुनासो सुन्न कास्की प्रशासनले थाल्यो क्युआर कोड

समाधान संवाददाता २०८१ भदौ ४ गते १६:४६

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पभोक्ता अधिकार संरक्षणका लागि उजुरी, गुनासो र सुझावका लागि क्युआर कोडसहितको अनलाइन प्रणालीको सुरुआत गरेको छ ।

Advertisement

गृहसचिव एकनारायण अर्यालले मंगलबार आयोजित कार्यक्रममा क्युआर कोड सार्वजनिक गरे । बजारमा उपभोक्ता ठगिएको र मर्कामा परेको गुनासो आएपछि यो प्रणाली सुरु गरिएको हो । रात्रिकालीन व्यवसायदेखि विभिन्न वस्तु र सेवा प्रवाहका सबै क्षेत्रका बारेमा गुनासो गर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । साथै जिल्ला प्रशासन कार्यालयकै सेवा प्रवाहमा पनि गुनासो गर्न मिल्ने गरी अर्को क्युआर कोड समेत बनाइएको छ ।

गृहसचिव अर्यालले संविधान र कानुनले उपभोक्ताको अधिकारलाई सुनिश्चित गरेको भन्दै उपभोक्ता आफै पनि सचेत र जागरुक हुनुपर्ने भनाइ राखे । कास्की प्रशासनले सुरु गरेको कामको प्रशंसा गर्दै उनले अब अरु जिल्लामा यसै गर्नका लागि निर्देशन जारी गर्ने प्रतिबद्धता जनाए । यस्ते प्रणालीले कास्कीमा गुणस्तरीय सेवा र वस्तु पाइन्छ भन्ने वातावरण सिर्जना गर्ने उनको भनाइ थियो । ‘ठगिइरहेका उपभोक्ताले कसरी यो क्युआर कोड प्रयोग गरेर गुनासो गर्न सक्छन् भन्ने सचेतना फैलाउन आवस्यक छ, यसका लागि मिडिया र स्थानीय तहले व्यापक प्रचार गर्नुपर्छ ।’

Advertisement

नागरिक वडापत्रमा उल्लेखित कामहरु तोकिए बमोजिम सम्पादन भए नभएको पनि यो क्यु आर कोडले समेटेको छ । कर्मचारीले समयमै काम नगरे क्षतिपूर्तिको व्यवस्था संविधानले गरेको भन्दै उनले वस्तु र सेवा लिदा गुणस्तरहीन भएमा सम्बन्धित पक्षबाट क्षतिपूर्तिको व्यवस्थातर्फ पनि स्थानीय प्रशासनको ध्यानाकर्षण गराए । बजार अनुगमनको पाटो अलि जटिल भएकाले कानुन परिमार्जनको चरणमा रहेको उनले सुनाए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले क्युआर कोडको पूर्ण कार्यान्वयन गर्न र दीगोरुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाए । पोखरामा यसबारेमा निकै नै बढी गुनासो आएकाले यो अभियान थालेको उनले सुनाए । पमेखरा पर्यटकीय क्षेत्रसमेत भएकाले पर्यटक ठगिएमा पोखरा र कास्कीको साख गिर्ने भन्दै उनले यो नहोस् भन्नका लागि क्युआर कोड ल्याइएको प्रजिअ पाण्डेको भनाइ थियो ।

Advertisement

अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले आम नागरिकले गरेको गुनासोलाई प्रशासनले समयमै सम्बोधन गर्नुपर्ने बताइन् ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले संविधानले मौलिक हकका रुपमा राखेको उपभोक्ताको अधिकारको संरक्षणका लागि क्युआर कोडको व्यवस्था गरिएको बताए । वस्तु तथा सेवा विस्तार, प्रविधिसहितको व्यावसायिक गतिविधि बढिरहेकाले अहिले सूचना प्रविधिको उपयोग गरी बजार निरीक्षणको एउटा उपाय अपनाइएको उनले उल्लेख गरे । बजार निरीक्षणको काम पनि भइरहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय कास्कीका कम्प्युटर अपरेटर अनिल थापाले सजिलोसँग गुनासो राख्न सकिने गरी क्युआर कोड बनाइएको र आवश्यकता अनुसार परिमार्जन गर्दै लगिने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगन्द्र केसीले प्रविधिको प्रयोगबाट नागरिकका गुनासालाई सम्बोधन गर्नु राज्यको सबैभन्दा ठूलो दायित्व रहेको भन्दै यस्तो राम्रो कामका लागि आफू र आफ्नो संगठनको सहयोग रहने बताए ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले पुण्यको काम भएको बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले अव पर्यटक नठगिने र ठगिएमा सहजै गुनासो गर्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गरे ।

पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष नविन बरालले घरबाटै गुनासो गर्न पाउँदा बस्तु वा सेवाको उपभोग गर्ने अधिकार सुनिश्चित हुने विश्वास जनाए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले क्युआर कोड कार्यान्वयनको प्रतिवद्धता जनाउँदै नियतवश उजुरी दिनेमाथि पनि कारवाही हुनुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, प्रशासकीय अधिकृत भीष्मराज अर्यालले उपभोक्ताको हितका विषयमा भनाइ राखे । उक्त अवसरमा जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, कार्यालय प्रमुखहरु उपस्थित थिए ।

तपाईको प्रतिक्रिया