लोकमार्गले लेखनाथको खानेपानीमा समस्या

पोखरा ।
लेखनाथ क्षेत्र र पुरानो पोखरामा खानेपानीको आपूर्तिका लागि छुट्टाछुट्टै पानीका स्रोत र मुहान छन् । पुरानो पोखरामा अधिकतर पानीको स्रोत मर्दी खोला हो । लेखनाथमा भने विजयपुर खोलाभन्दा पनि माथिको गिउजे खोलाको पानी जान्छ । अहिले त्यही गिउजे खोलाको पानी आपूर्ति (सप्लाई)मा अवरोध आएको छ, त्यो पनि सडक निर्माणका कारणले ।
लेखनाथ खानेपानी उपभोक्ता संस्थाको मादी गाउँपालिका ७ को गिउजे खोलाको मुहान पुरिएको हो । गएको हिउँदमा लोकमार्ग निर्माणका क्रममा बाटोमुनि रहेको माटो र आएका दर्जनौं पहिरा गिउजे खोलामा पुगेपछि मुख्य मुहानबाट खानेपानी आपूर्ति नै बन्द भएको छ । लेखनाथ क्षेत्रमा करिब १७ हजार धारामार्फत् संस्थाले खानेपानी वितरण गर्दै आएको छ । यो क्षेत्रमा खानेपानी संस्थानको सेवा छैन । संस्थाले सवा लाख बासिन्दालाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।
यसपालिको वर्षामा अस्थायी मूलसहित बोरिङबाट खानेपानी आपूर्ति गरिएको छ । संस्थाका अध्यक्ष मुरारी शर्माले वैशाख लागेपछि मुख्य मूलबाट खानीपानी आपूर्ति बन्द भएको उल्लेख गरे । पानीमा लेदो माटो आइपुगेको र मुहानसमेत पुरिएकाले समस्या भएको हो । ‘अहिले बर्खाभरी आउने अस्थायी मूलबाट पानी ल्याएका छौं । मुख्य मुहानबाट पानी नै ल्याउने अवस्था छैन,’ उनले भने, ‘८ वटा बोरिङ र दुई सम्प वेलबाट खानेपानी आपूर्ति गरे पनि उपभोक्ताको माग धान्न सकिएको छैन ।’
अस्थायी मूल असोजपछि सुक्ने भएकाले यो क्षेत्रमा खानेपानीको हाहाकार हुने निश्चित छ । समस्या समाधानका लागि संघीय खानेपानी मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमार्फत सरोकारवाला सबैको ध्यानाकर्षण गराइएको शर्माको भनाइ छ । यो आर्थिक वर्ष संघीय खानेपानी मन्त्रालयले खानेपानी उपभोक्ता संस्थालाई करिब ४ करोड बजेट विनियोजन गरेको छ ।
अहिलेको गिउजे खोलाको आयोजानको मुहान नजिकै थप १५ रोपनी जग्गा किनेर पानी पोखरीमा थिग्राएर पठाउने योजना एकातिर छ भने अर्कातिर मादी–७ कै लोकमार्गभन्दा माथि वन क्षेत्रबाट गिउजे खोलाबाट पानी ल्याउने विकल्प पनि छ । उपभोक्ता संस्थाका सल्लाहकार विश्वप्रकाश लामिछाने लेखनाथ क्षेत्रमा खानेपानीको दिगो आपूर्तिका लागि मूल सार्नुको विकल्प नभएको उल्लेख गर्छन् ।
‘लोकमार्गभन्दा माथि मुहान सार्नुको विकल्प छैन । त्यहाँवरपर बस्ती पनि छैन । लेखनाथ क्षेत्रलाई पुग्ने पानी पनि छ,’ उनी भन्छन् । संघीय मन्त्रालयले दिएको बजेट र उपभोक्ता संस्थासँगै भएको कोषबाट त्यसो गर्नुको विकल्प नभएको उनको दाबी छ । उनी भन्छन्, ‘अब केही वर्षसम्म त्यहाँ सानातिना पहिरो आइरहन्छन्, मुहान पुरिइरहन्छ । त्यसैले मुहान नै स्थानान्तरण गर्नुको विकल्प छैन ।’
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख शम्भु आचार्यले खानेपानी उपभोक्ता संस्थाको पत्र प्राप्त भएको र समस्या समाधानका लागि उचित विकल्प निकालिने उल्लेख गरे । उपभोक्ता संस्थाले खानेपानीको बढ्दो माग पूरा गर्न आयोजनाको क्षमता तब्बर बनाउन काम गरिरहेको छ ।
४४ करोड लगानी हुने अनुमान गरिएको आयोजना पूरा नहुँदै लोकमार्गका कारण मुख्य मुल नै सार्नुपर्ने अवस्था आएको छ । मादी–७ का बासिन्दा लालबहादुर गुरुङ लोकमार्गका कारण ठाउँ ठाउँमा पहिरो गएको र केही ठाउँमा सडक खनिएको बाटो पनि खोलामा पुगेको बताउँछन् । ‘चाँडै अहिलेको मूल सफा हुने अवस्था छैन, लोकमार्गको सुरुआती ट्याक खुलेको हो, चाक्लो बनाउन अझै बाँकी छ,’ उनले भने ।
गुरुङले लोकमार्गका कारण आफ्नै घरसमेत जोखिममा परेको सुनाउँदै चक्ल्याउने क्रममा थप माटो तल झर्ने र पहिराको संख्या पनि थपिने आकलन गरे । उनी भन्छन्, ‘अहिले स्थानीयहरुसँग सहकार्य गरी लगिएको पानीको मुहानले अब काम गर्न सक्ने देखिएको छैन ।’ लेखनाथबासीले पनि पर्याप्त पानी नभएको गुनासो गरेका छन् । संस्थामा आवश्यक रहेको भएको जनाउँदै उनीहरुले सरकारले लगानी नगरे वा कम लगानी गरे पनि संस्थाको लगानीमा विकल्प खोज्नुपर्नेमा जोड दिन्छन् ।









विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया