उडान पोखरा सार्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई पत्राचार

कात्तिकदेखि त्रिभुवन विमानस्थल ५ महिना मर्मत हुँदै

समाधान संवाददाता २०८१ भदौ १२ गते १०:४९
default

पोखरा ।
नेपालमा अहिले ३० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान गर्दै आएका छन् । सबैले काठमाडौंको त्रिभुवन विमास्थलमै उडान—अवतरण गर्छन् । कात्तिकदेखि ५ महिनासम्म त्रिभुवन विमानस्थल दैनिक १० घन्टा बन्द हुने भएको छ । अहिले दैनिक २१ घन्टा चलिरहेको विमानस्थल १० घन्टा बन्द हुने भएकाले केही प्रतिशत उडान पोखरा र भैरहवा विमानस्थल सार्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई नागरिक उड्डयन प्राधिकरणले पत्राचार गरेको छ ।

Advertisement


प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले अन्तर्राष्ट्रिय र आन्तरिक सबै विमान कम्पनीहरुलाई ४० प्रतिशत उडान त्रिभुवन विमानस्थलबाट पोखरा र भैरहवाका लागि सार्न पत्राचार गरिएको जानकारी समाधानलाई दिए । सोही अनुसार उडान पुनर्तालिकीकरण गर्न उनीहरुलाई भनिएको हो ।


त्रिभुवन विमानस्थलको ट्याक्सी वे मर्मत गर्न दैनिक १० घन्टा विमानस्थल बन्द हुने भएको छ । मर्मतको समय ५ महिना भनिएको छ । ‘अहिले हुँदै आइरहेको उडानको ४० प्रतिशत अन्त नसारीे मर्मतका बेला त्रिभुवन विमानस्थलले सेवा दिन सक्दैन,’ भुलले भने । विकल्पमा प्राधिकरणले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल देखाउँदै वायुसेवा कम्पनीहरुलाई पत्राचार गरेको छ । नेपालमा ३० अन्तर्राष्ट्रिय सँगै ९ आन्तरिक वायुसेवा र ९ हेलिकोप्टर कम्पनीको उडान रहेको प्रवक्ता भुलले जनाए ।


भुलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे मर्मतका कारण विमानस्थल राति १० बजेदेखि विहान ८ बजेसम्म बन्द हुने छ । यो समयमा काठमाडौं विमानस्थलबाट हुने कम्पनीमा ३३ प्रतिशत उडान कटौती गर्नुपर्ने भएको छ । त्यसका लागि यो विमानस्थलबाट उडान गर्ने सबै वायुसेवालाई पत्राचार गरेर ४० प्रतिशत उडान पुनर्तालिकीकरण गर्न अनुरोध गरेको उनले बताए ।


नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर इन्डिया, भिस्तारा, चाइना साउदर्न, एयर चाइना, क्याथे प्यासिफिक, श्रीलंकन एयर, कतार एयरवेज, मलेसिया एयरलाइन्स, मालिन्दो एयर, थाइ एयरवेज, फ्लाइ दुबाई, कोरियन एयर, सिंगापुर एयरलाइन्स, भुटान एरवेज, ड्रुक एयर लगायतथ वायुसेवाले अन्तर्राष्ट्रिय उडान सेवा दिँदै आएका छन् ।

Advertisement


हाल २१ घण्टासम्म सञ्चालन हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान १० घण्टासम्म बन्द गर्नुपर्ने भएको छ । यो भनेको हालको उडान संख्याको ६६ प्रतिशत काठमाडौंबाट हुन सक्छ भने ३३ प्रतिशत बाहिरबाटै गर्नुपर्न हुन्छ । धावनमार्ग बन्द हुँदा ४ वटा उडान तालिका भएका वायुसेवाले २ वटा काठमाडौं बाहिरबाट गर्नुपर्ने हुन्छ । प्राधिकरणका अनुसार अब कात्तिकबाट ५ महिना काठमाडौंबाट हुने उडान अवतरणका लागि सम्बन्धित वायुसेवाले रिसेड्युल गर्नुपर्छ ।


मर्मतका बेला अवधिमा काठमाडौंबाट हुने चार्टर र हाल नियमित उडान गरिरहेका वायुसेवाको लागि अतिरिक्त उडानसमेत बन्द हुने छ । प्राधिकरणले काठमाडौं विमानस्थलको चाप घटाउन र पोखरा तथा भैरहवा विमानस्थल सञ्चालन गर्न काठमाडौं बाहिर उडान गराउनैपर्ने बाध्यात्मक अवस्था आएकाले उडानमा सहजीकरण गर्न खोजेको हो ।

यो बाध्यात्मक उडानसँगै प्राधिकरणले पोखरा र भैरहवाबाट हुने उडानमा शतप्रतिशत छुट दिएर उडान गराएर ती दुबै विमानस्थसमेत सञ्चालन गर्ने रणनीति बनाउने भएको छ । नेपाल सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि छुट दिने व्यवस्थासहित कार्ययोजना बनाइसकेको छ ।


सँगसँगै सरकारले आउँदो वर्ष १६ लाख पर्यटक भित्रयाउने लक्ष्य लिएको छ । त्यसका लागि त्रिभुवन विमानस्थलको चाप बाहिर सार्ने पनि तयारी सरकारको थियो । सरकारले झन्डै एक हजारको संख्यामा रहेका म्यानपावर व्यवसायीलाई भैरहवा र पोखरामा शाखा कार्यालय खोल्न आग्रह गरिसकेको छ ।


यसैबीच मंगलबार नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरु डाकेर छलफल गरेका छन् । उनको आग्रह पनि पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिदिनुपर्‍यो भन्ने थियो ।


परराष्ट्रमन्त्री डा राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरेकी छन् । पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरूलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि उनले आग्रह गरिन् । यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने बताए ।

तपाईको प्रतिक्रिया