पृथ्वी होटल व्यवसायीको सभा

समाधान संवाददाता २०८१ भदौ १६ गते ११:३२

पोखरा ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले निजी क्षेत्रको पीरमर्का सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।

Advertisement


‘म पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएको हुँ । व्यवसायीका पीरमर्कासँग जानकार छु । व्यवसायी मैत्री कानुन निर्माणमा प्रदेश सरकार लागिरहेको छ’, उनले भने । निजी क्षेत्रसँगै सरकार हातेमालो गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।


मन्त्री थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न प्रदेश सरकारले ताकेता गरिरहेको र छलफलका कार्यक्रमसमेत अगाडि बढेको जानकारी गराए । पोखरेली सबैको साझा प्रयासबाट अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै अब उडानसमेत सबैको साझा प्रयासबाट नै हुने भनाइ उनको छ ।

Advertisement


भारतीय र चिनिया पर्यटकलाई आर्कषित गर्दै उनीहरुबाट लाभ लिन सक्ने खालका पूर्वाधार निर्माणमा सरकार लागिरहेको उनले बताए । पोखरा बसपार्क निर्माणमा केही समस्या देखिए पनि ती समस्या समाधान गर्ने बाटोमा तीनै तहको सरकार अग्रसर रहेको उनको भनाइ छ ।


पोखरामा बन्ने कोसेली घर अन्तर्राष्ट्रिय स्तरको हुनुपर्ने र प्रदेशभित्र उत्पादन हुने वस्तुको बजारीकरणमा र प्रदर्शनमा समेत ख्याल गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

Advertisement


होटल व्यवसाय महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले पैसा लगानी गरेरमात्र व्यवसाय प्रवद्र्धन नहुने भएकाले यसमा सरकारले नै चासो दिनुपर्ने उल्लेख गरेका छन् । साना तथा मझौला होटल व्यवसायीको हितबमोजिम प्रदेश सरकारले नीति निर्माणमा ध्यान दिनुपर्ने भनाइ उनको छ ।


वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौलाले प्रहरी व्यवसायीसँग मिलेर काम गर्न इच्छुक रहेको उल्लेख गरे । उनले व्यवसायीले पनि प्रहरीलाई सहयोग पुग्ने काम गर्नुपर्ने बताए ।


पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अमृत घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स अध्यक्ष ओमराज बास्तोला र पोखरा उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष अर्जुन पोखरेलले बोलेका थिए ।

तपाईको प्रतिक्रिया