पोखरा विमानस्थल चलाउन अनेकथरी छुट

समाधान संवाददाता २०८१ भदौ १९ गते १०:४४

पोखरा ।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तीव्रताका साथ अघि बढाएको छ । विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने कार्ययोजना मन्त्रिपरिषद्ले यसअघि नै स्वीकृत गरे पनि अहिले सार्वजनिक भएको छ । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई फुल फेजमा सञ्चालन गर्न सरकारले कार्ययोजना बनाएको हो । एयरलायन्स कम्पनीलाई विभिन्न शीर्षकमा सरकारले सेवा शुल्कमा छुट दिएको छ ।

Advertisement


कार्य योजनामा के छ ?
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने यात्रु सेवा, पार्किङ ल्यान्डिङ र नेभिगेसन सेवा शुल्कमा पूर्ण छुट दिइने कार्ययोजनामा उल्लेख छ । कार्ययोजनाले वायु सेवा कम्पनीहरू मागलाई सम्बोधन गरेको छ ।


पर्यटन शुल्क नलिने, ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशत छुट दिने व्यवस्था कार्ययोजनामा छ । हाल अन्तर्राष्ट्रिय हवाई उडान टिकटमा ३ हजार र पर्यटन शुल्क १ हजार रूपैयाँ लाग्ने व्यवस्था छ ।


कार्ययोजनाले अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुलाई प्रोत्साहन गर्ने सम्बन्धमा हवाई टिकटमा लगाइने भ्याट छुट वा फिर्ता सम्बन्धमा २ महिनाभित्र अर्थ मन्त्रालयलाई सबै व्यवस्था मिलाउन भनेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुबै विमानस्थलमा भिसा सेन्टर स्थापना गर्न प्राथमिकताका आधारमा गन्तव्य मुलुक छनोट गरी परराष्ट्र मन्त्रालयमा तुरून्त पत्राचार कार्ययोजनामा उल्लेख छ ।


नेपालमा दर्ता भई अन्तर्राष्ट्रिय हवाई उडान गर्ने वायु सेवा कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई उडानमा प्रोत्साहन गर्न दुबै विमानस्थलबाट आन्तरिक उडानको सुविधा प्रदान गर्न आगामी ४ महिनाभित्र आवश्यक नीतिगत व्यवस्था गर्ने उक्त कार्ययोजनामा उल्लेख छ । परराष्ट्रले कूटनीतिक पहलमार्फत् रोजगारका मुख्य गन्तव्य मुलुकमा जानका लागि आवश्यक पर्ने भिसा दुबै विमानस्थलबाटै आवेदन गर्न र प्राप्त गर्न सक्ने व्यवस्था तत्काल र निरन्तर गर्नुपर्ने कार्ययोजनामा छ ।

Advertisement

इन्धन, पार्किङ, ल्यान्डिङ र नेभिगेसन सेवासहित विभिन्न छुट दिएको सरकारले मुख्य रोजगार गन्तव्य जान चाहिने भिसा विमानस्थलबाटै दिने भएको छ


कृषि तथा पशुपन्छी मन्त्रालयले १५ दिनभित्र जनशक्ति तथा उपकरण सहितको क्वारेन्टाइन कार्यालय स्थापना गर्नुपर्ने छ । उद्योग मन्त्रालयले एक साताभित्र दुबै विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य ‘ब्रेक इभेन पोइन्ट’ निर्धारण गरी बिक्री गर्ने व्यवस्था र पारवहन सुविधाको व्यवस्था मिलाउनुपर्ने छ ।


जसमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम रोजगार तथा सुरक्षा मन्त्रालय, संघीय मामिला तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, पर्यटन बोर्ड, वैदेशिक रोजगार विभाग लगायतलाई जिम्मेवारी कार्ययोजनामा तोकिएको छ । यी दुबै विमानस्थल दिगो रूपमा सञ्चालन गर्ने तयारीसहित बनाइएको कार्ययोजना गत साउन २८ गते मन्त्रिपरिषदबाट स्वीकृत भएको थियो ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आन्तरिक उडानकै भर छ । कुनै पनि अन्तर्राष्ट्रिय उडान भएका छैनन् । चार्टर्ड फ्लाइट छिटफुट भए पनि नियमित उडान नहुँदा विमानस्थलको अपरेटिङ कस्टसमेत तिर्न विमानस्थलको आम्दानीले सकिएको छैन । अहिले मन्त्रिपरिषद्ले यी दुवै दुबै विमानस्थलको सेवा सुविधमा छुट र सहुलियत दिएपछि अन्तर्राष्ट्रिय उडान गर्न विभिन्न वायु सेवा कम्पनीले चासो देखाउन थालेका छन् ।

केही समयअघि बंगलादेशको एयरलाइन्स एयर एस्ट्राले ढाकाबाट पोखरा उडान गर्न चासो देखाएको थियो । विमान अवतरण शुल्क, इन्धन कर, पार्किङ शुल्क लगायतमा छुट लगायतका माग राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयलाई अनुरोध गरेको थियो ।

तपाईको प्रतिक्रिया