मालेपाटनमा तीज विशेष कार्यक्रम

समाधान संवाददाता २०८१ भदौ २३ गते १०:५३

पोखरा ।
हरितालिका तीजको पर्वको सन्दर्भमा सूर्यचन्द्र विकास समाज पोखरा ५ ले १० औं मालेपाटन खुला तीज गीत प्रतियोगिता आयोजना गरेको छ ।

Advertisement

‘प्रतियोगितालाई भव्य बनाऔं, संस्कृतिको जगेर्ना गरौं, उद्योग तथा व्यापारिक प्रतिष्ठानको प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ बाराही माविको खेल मैदानमा २०८१ भदौ १७ देखि २१ गतेसम्म अन्तर मावि स्तरीय छात्रा भलिबल प्रतियोगितासहित तीज विशेष कार्यक्रम गरेको समाजका अध्यक्ष कमला गौतमले जानकारी दिइन् ।


तीजगीत प्रतियोगितामा सक्षम अभियान नेपाल अर्चलबोट प्रथम भएको छ । प्रतियोगितामा बाराही मावि पोखरा ५ द्वितीय, सफल महिला समूह पोखरा २५ हेमजा तृतीय, एकलधारा सिर्जनशील मिलन समाजले सान्त्वना पुुरस्कार पाएका छन् । तीज गीत प्रतियोगितामा कास्की जिल्ला भित्रका १८ टिमले प्रतिस्पर्धा गरेका छन् ।

Advertisement


प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना स्थान गर्ने टिमलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट नृत्यतर्फ पोखरेली दिदीबहिनी समूह तथा भेषभूषातर्फ दृष्टिविहीन दिदीबहिनी समूह अमरसिंह माविलाई नगद पुरस्कार प्रदान गरिएको संस्थामा महासचिव हेमराज भण्डारीले जानकारी दिए । प्रतियोगितामा १६ समूहले प्रतिस्पर्धा गरेका थिए ।


प्रतियोगिताका निर्णायकमा प्रेमराज अधिकारी, नवराज अधिकारी र लक्ष्मी नेपाली थिए । कार्यक्रममा नारी स्रष्टा सम्मानबाट धर्मस्थली आधारभूत विद्यालयका प्रधानाध्यापक वदनकुमारी शर्मालाई दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ । समाजको सहिद स्मृति पुस्तकालय सञ्चालनका लागि अक्षयकोषमा सहयोग गर्ने डा भोजराज न्यौपाने, भेकबहादुर थापा, निर्मल खत्री, उज्वल खत्री लक्ष्मी श्रेष्ठ र प्रकाश कमला गौतमलाई दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।

Advertisement


प्रतिनिधि सभाका सदस्य दामोदर पौडेल वैरागीले प्रतियोगिता उद्घाटन गर्दै नेपालको सांस्कृतिक तीज पर्व महिलाको मुक्ति र सशक्तीकरणसँग जोडिएको बताए । उत्पादन, जीवनशैली र सांस्कृतिलाई जोडेर अगाडि बढाउनुपर्ने उनले उल्लेख गरे ।
उनले मालेपाटन र हेमजाको खेल मैदानको स्तरोन्नत्ति हुन लागेको जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले समाजका उपयोगी परम्परागत संस्कार र संस्कृति जोगाई राख्नुपर्ने बताए ।


कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ५ का कार्यवहाक अध्यक्ष गोविन्दप्रसाद पराजुलीले समग्र वडाको तर्फबाट बर्सेनि गरिने मालेपाटन तीज विशेष कार्यक्रमलाई वडा कार्यालयको सहयोग भएको जनाए ।


विस २०५१ मा स्थापना भएको समाजले ‘भड्कीलो तीज मुक्त क्षेत्र, वडा नम्बर ५ मालेपाटनको घोषणालाई कार्यान्वयन गरौं’ भन्ने अभियान चलाएको छ । समाजले मौलिक लोक संस्कृतिको जगेर्ना गर्न तथा युवालाई गीत र नृत्यको माध्यमबाट सामाजिक सन्देश प्रवाह गर्न सबै सरोकारवालालाई जुटाएर तीज विशेष कार्यक्रम गरेको अध्यक्ष गौतमले बताइन् ।


कार्यक्रममा पोखरा ५ का पूर्व वडा अध्यक्ष धनबहादुर नेपाली, लोक तथा दोहोरी गायक जीवन दाहाल, समाजका पूर्व अध्यक्ष गायत्री भुत्र्याल, उपाध्यक्ष सावित्री कोइराला, महासचिव हेमराज भण्डारी लगायतले तीज पर्वका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया