सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुरामलाई

समाधान संवाददाता २०८१ भदौ २७ गते १५:५३

पोखरा ।
यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता शर्मालाई छनोट गरेको हो । उक्त सिफारिस सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

Advertisement


२०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध उनी नेशनल एफएम, तालचोकका अध्यक्षसमेत छन् । नेपाल टेलिभिजन उत्कृष्ट संवाददाता पुरस्कार चारपल्टसम्म पाएका उनलाई भिटोफ सम्मान, लेखनाथ पत्रकारिता पुरस्कार, तत्कालीन जिविसको पुरस्कार लगायत दर्जन बढी सम्मान तथा पुरस्कारबाट सम्मान गरिएको छ । शर्मा लेखनाथ उपल्लो पुँडीटार निवासी हुन् ।


छनोट समिति सदस्यमा क्लब सल्लाहकार दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, निवर्तमान अध्यक्ष हरिराम गुरुङ, पूर्वअध्यक्ष केशवबहादुर थापा, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ तथा पदेनसदस्यमा अध्यक्ष केशवराज बराल र महासचिव रामजीप्रसाद अधिकारी थिए ।

Advertisement


सहारा उत्कृष्ट सदस्य सम्मान लिलबहादुर थापालाई प्रदान गरिने भएको छ । थापा क्लबमा २ कार्यकालसम्म सहकोषाध्यक्ष भएर काम गरेका छन् । सहारा फुटबल एकेडेमीको व्यवस्थापन समितिका सदस्य उनी आफ्नो काम सधैँ क्रियाशील भइ गर्छन् ।


महासचिव अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिमा बिनु राना र सुशील रिमाल सदस्य थिए । भदौ ३० गते सहारा क्लब स्थापनाको २६ औं वार्षिकोत्सव अवसरमा पुरस्कार तथा सम्मान अर्पण गरिने क्लबले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया