पर्वतमा दुई दशकदेखि करोडौं लगानीको वायु ऊर्जा आयाेजना अलपत्र

पर्वत ।
झन्डै दुई दशकदेखि अलपत्र बनेको पर्वतको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । महाशिला गाउँपालिका–६ फलामखानीमा करोडौं रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो ।
दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समयसमयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन भएको छैन । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् ।
लथालिंग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । विसं २०६० मा स्थापना भएको केन्द्र २०६३ सालमा तीन वर्षपछि नै बन्द भएको थियो । टिटिबिजी नामक संस्थाले एक करोड रुपैयाँभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजना निर्माण गरेको थियो ।
संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि वायु ऊर्जा अयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय ठाकुर रसाइलीले जानकारी दिए । त्यसमा भएको लगानी पनि डुबेको उनको भनाइ छ ।
फलामखानीका वडाध्यक्ष गोविन्द विश्वकर्माका अनुसार समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाँडामा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो । वायु ऊर्जा सञ्चालनमा आएपछि फलामखानी, भँगरा लगायतका सयौँ घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । अहिले अलपत्र परेको अवस्थामा टुलुटुलु हेरेर बस्न परेको उनको भनाइ छ ।
त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् । हावाको मापनसमेत गर्न सकिने उक्त डाँडोमा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने विश्वकर्माले बताए । उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, ऊर्जा मन्त्रालय लगायतसँग माग गरिएको अध्यक्ष विश्वकर्माले बताए ।
संयुक्तराष्ट्र संघीय वातावरण कार्यक्रमले तयार पारेको एक रिपोर्टअनुसार नेपालमा तीन हजार मेगावाट विद्युत् हावाबाट उत्पादन गर्न सकिन्छ । उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो ।
वायु ऊर्जा आयोजना पुनर्निर्माण गर्न सकेमा फलामखानी करिब तीन सय घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ । महाशिला गाउँपालिकाले उक्त वायु ऊर्जा आयोजनाका बारेमा विस्तृत अध्ययन गरी पुनः सञ्चालनका लागि कार्ययोजना बनाउने तयारी गरेको अध्यक्ष ईश्वरी भुसालले बताइन् । चालु आर्थिक वर्षदेखि नै अलपत्र आयोजनाको व्यवस्थापनमा लाग्ने उनले बताइन् ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया