मगर संघका संस्थापक अध्यक्ष पुनमगरको स्मृति दिवस

समाधान संवाददाता २०८१ असोज १ गते १२:१९

पोखरा ।
नेपाल मगर संघका संस्थापक अध्यक्ष तथा मगर एकताको प्रतिकको रुपमा रहेका हेमबहादुर पुनमगरको २० औं स्मृति दिवस सोमबार मनाइएको छ ।

Advertisement


नेपाल मगर संघ कास्की र हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा संस्थापक अध्यक्ष पुनको जीवनी ‘जिउँदो इतिहास’ का लेखक बालासिंह काउछामगरलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।

गण्डकी प्रदेश सभाका उपसभामुख बिनाकुमारी थापाले संस्थापक अध्यक्ष पुनले सबै मगरलाई एकताबद्ध गरेको जानकारी दिइन् । ‘फुटाउने समूहबाट सजग र सतर्क भएर मगर संघमा एकता कायम गर्नु पर्छ,’ उनले भनिन्, ‘अग्रज नेता पुनको स्मृति दिवसको सन्दर्भमा उहाँको योगदानको कदर गर्दै संघले देश भरका सबै मगरलाई एकाकार गर्नु पर्छ ।’

Advertisement


एकतामा शक्ति हुने उल्लेख गर्दै उनले मगर संघमा एकता कायम भएको खण्डमा हक अधिकार सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गरिन् । मगर राजनीतिमा कम चासो भएको समुदाय भएको जानकारी दिँदै उपसभामुख थापाले हेमबहादुर पुनले मगर समुदायमा राजनीतिक सचेतना बढाउने काम गरेको उल्लेख गरिन् ।

पूर्वमन्त्री तथा प्रतिष्ठानका संरक्षक उत्तम पुनले सबै मगर समुदायको साथ र सहयोगमा प्रतिष्ठान खोलेको जानकारी दिए । उनले सञ्चालन र व्यवस्थापनमा ध्यान दिएर प्रतिष्ठानलाई अलपत्र हुन नदिने उल्लेख गरे ।

Advertisement


नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालासिंह काउछामगरले राज्यका निकायले प्रतिष्ठानलाई सहयोग गर्नु पर्ने बताए । नेपाल पुन मगर समाजका अध्यक्ष हर्कबहादुर पुनमगरले संस्थापक अध्यक्ष पुन सबै मगरले गौरव गर्ने व्यक्ति भएको जानकारी दिए । नेपाल मगर संघका केन्द्रीय उपमहासचिव खेमबहादुर पुनमगरले संस्थापक अध्यक्ष पुनले सबै मगर समुदायलाई एउटै मालामा उनेको बताए । उनले एकतामा बल र समृद्धिको सम्भावना हुने उल्लेख गरे । उनले राजनीतिक रुपमा सचेत र संगठित नभएसम्म हक अधिकार सुनिश्चित हुन नसक्ने तर्क गरे ।


‘समृद्ध मगर समाज निर्माणको लागि सम्पूर्ण मगरहरु एक होऔं’ भन्ने नाराका साथ भएको कार्यक्रममा नेपाल मगर संघ गण्डकीका अध्यक्ष तारामाया थापामगर, कास्कीका अध्यक्ष रामबहादुर थापामगर, हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालका महासचिव मेजन पुन लगायतले मगर समुदायको एकतामा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया