ऋषिलीला पत्रकारिता पुरस्कार पौडेललाई

समाधान संवाददाता २०८१ असोज २ गते १२:५०

पोखरा ।
पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार वासुदेव पौडेललाई सम्मान गरिने भएको छ । ज्येष्ठ नागरिकका क्षेत्रमा विशेष योगदान दिएका कस्कीका ज्येष्ठ नागरिकहरु र सम्मानित हुन लागेका पत्रकार पौडेललाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८१ असोज १५ गते सम्मान गरिने भएको हो ।

Advertisement


पोखराका शैक्षिक एवम सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याएका प्रजातन्त्र सेनानी एवम पोखरा वृद्धाश्रम, सीतापाइलाका संस्थापक अध्यक्ष स्वर्गीय ऋषिकेशव पराजुली र उनकी धर्मपत्नी लीलादेवी पराजुलीको स्मृतिमा उनका छोरा कुसुमकेशव पराजुलीद्वारा स्थापित उक्त पुरस्कार राष्ट्रिय समाचार समिति गण्डकी प्रदेशका प्रमुख समेत रहेका पौडेललाई प्रदान गर्न लागिएको छ ।


पुरस्कारका लागि व्यक्तित्व छनोट गर्न पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र वास्तोलाको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा अधिवक्ता वेदनाथ भण्डारी, पोखरा १५ का पुर्व वडासदस्य पार्वती थापा एवं पदेन सदस्यमा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुली र सचिव धर्मबहादुर गुरुङ थिए । उक्त समितिको सिफारिसलाई पोखरा वृद्धाश्रम सञ्चालक समितिको बैठकले अनुमोदन गरेको वृद्धाश्रमका सचिव धर्मबहादुर गुरुङले जानकारी दिए ।

Advertisement


पत्रकारिताका माध्यमबाट पोखरा वृद्धाश्रमको समग्र उन्नयनका साथै ज्येष्ठ नागरिकको हक अधिकार संरक्षणका पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई वृद्धाश्रमले सम्मान गर्दै आएको पोखरा वृद्धाश्रमका कोषाध्यक्ष भीमप्रसाद सुवेदीले बताए । कोषाध्यक्ष सुवेदीका अनुसार पत्रकार वासुदेव पौडेललाई ५० हजार रुपैयाँ नगद प्रदान सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिने जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया