पोखरा रोयल सहकारीको २३ औं वार्षिक साधारण सभा

समाधान संवाददाता २०८१ असोज ८ गते २०:३७
पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारण सभा भएको छ ।

सभाले सहकारी क्षेत्रमा देखिएका समसामयिक समस्या समाधान गर्न र सदस्य सेवाका लागि १० वटा संकल्प प्रस्ताव र सदस्यहरुलाई ९.४८ प्रतिशत शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

Advertisement

कारोबारको आधारमा बचत तर्फको कारोबारमा २.१३ प्रतिशत र ऋण तर्फको कारोबारमा २.२३ प्रतिशत अतिरिक्त लाभ वितरण गर्ने प्रस्ताव पारित गरेको छ । तीन वटा एकाई सभाहरु मार्फत सञ्चालन गरिएको वार्षिक साधारण सभा २०८१ असोज ३ गतेदेखि शुरु भई असोज ७ गते एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणीकरण सभा गरी सम्पन्न भएको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी गराए।

पहिलो रोजाईको संस्था बनाउने संकल्प प्रस्ताव पारित

सभाले सदस्यहरुबाट प्राप्त सुझावहरुलाई मार्गदर्शनको रुपमा ग्रहण गर्ने, नियामक निकायबाट जारी निर्देशनको पालना गर्ने, सुखी सदस्य दिगो सहकारीको परिकल्पनालाई साकार पार्ने, वित्तीय सुशासनलाई पहिलो प्राथमिकतामा राख्ने, नीति, विधि र प्रविधिको उच्चतम प्रयोग गर्ने, वर्तमान असहज वित्तीय अवस्थालाई अवसरमा बदल्ने र पोखरा रोयल सहकारीलाई समुदायको पहिलो रोजाइको संस्था बनाउने जस्ता संकल्प प्रस्तावहरु पारित गरेको छ ।

यसरी नै संस्थाले सदस्य वृद्धि, बचत वृद्धि, ऋण वृद्धि र कूल वासलात वृद्धि गर्न मिसन १०० जस्ता गतिविधि गर्ने समेत सभाले निर्णय गरेको छ ।

Advertisement

यसैबीच सभाले उत्कृष्ठ कारोबार गर्ने सदस्य, उत्कृष्ठ कार्य गर्ने कर्मचारी र सहकारी अभियानमा योगदान गर्ने अभियन्ताहरुलाई समेत सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ वर्ष २०२४ को उत्कृष्ठ सिइओ (नेफ्स्कुन) घोषणा, केशवप्रसाद ढकाल कास्की बचत तथा ऋण सहकारी संघको लेखा समितिको संयोजकमा निर्वाचित, मुख्य प्रवन्धक मीलन ढकाल, प्रवन्धक परमेश्वर दाहाल र अधिकृत उमनाथ आचार्यलाई २५ वर्ष सेवा गरे वापत रजत सेवा पदक, अधिकृत विजया श्रेष्ठ, सुपरिवेक्षक मन्जु दाहाल र म्यासेन्जर पूजा गुरुङ्लाई दशक सेवा पदकबाट सम्मान गरिएको छ ।

त्यसैगरि मदन कुमारी गुरुङ र झमान सिंह गुरुङ्लाई वर्ष उत्कृष्ठ सदस्य र म्यासेन्जर संगीता गुरुङ वर्ष उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित भए ।

लघु बचत समूह तर्फबाट उत्कृष्ठ हुने केन्द्रहरुमा स्वाभिमान रोयल केन्द्र, वनपोखरी रोयल केन्द्र र अम्बिका रोयल केन्द्र रहेका छन् भने उत्कृष्ठ सेवाकेन्द्र तर्फ दुलेगौंडा सेवाकेन्द्र र उत्कृष्ठ बाल बचत तर्फ रोवेन थापालाई नगद र प्रमाणपत्रबाट सम्मान गरिएको सूचना अधिकारी ढकालले बताए।

संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको एकाई प्रतिनिधीहरुको निर्णय प्रमाणीकरण सभामा उपाध्यक्ष क्या चन्द्रप्रसाद गुरुङ, सचिव केशवप्रसाद ढकाल, लेखा समिति संयोजक हर्कबहादुर गुरुङ, प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ, सल्लाहकार एकनारायण शर्मा ढकाल, मुख्य प्रवन्धक मीलन ढकाल तथा युवा उपसमिति संयोजक रोजिना श्रेष्ठ लगायतका वक्ताहरुले समितिको प्रतिवेदन, एकाई सभाको जानकारी र समसामयिक विषयमा प्रस्ट पारेका थिए ।

हाल संस्थाका सदस्य ९ हजार ३५६ जना छन् । संस्थाको कूल वासलात २ अर्ब ५२ करोड छ ।

तपाईको प्रतिक्रिया