बैदाम प्रहरी चौकीले १५ दिन गैरकानुनी थुनामा राखेको आरोप

समाधान संवाददाता २०८१ असोज १४ गते १५:५५

काठमाडौं । रोयल काठमाडौं ट्राभलका सवारीचालक लोकबहादुर महतले वडा प्रहरी कार्यालय वैदामले आफूलाई गैरकानुनी थुनामा राखेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई थुनुवा पुर्जी पनि नदिइ र अदालतबाट अनुमतिसमेत नलिइ १५ दिन गैरकानुनी हिरासतमा राखेको बताएका हुन् ।

Advertisement

पीडित महतका अनुसार गत असार ४ गते पोखराको बैदामस्थित् खाना खान गाडी रोकिरहेको अवस्थामा विपरीत दिशाबाट आएको मोटरसाइकलले गाडीमा ठक्कर दिएको थियो । सो दुर्घटनामा मोटरसाइकलमा सवार २ जनामध्ये १ जना साधारण घाइते भएको र अर्का एकजना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका मोटर साइकलमा सवार १ जनाले ललितपुरको मेडिसिटी अस्पतालमा आएर आफ्नै खर्चमा उपचार गराएको पनि उनले बताए ।

उक्त दुर्घटनापछि आफू बैदाम चौकीमा गएको उनले सुनाए । बैदाम चौकीले आफूलाई थुनुवा पुर्जी नदिएको र १५ दिनसम्म हिरासतमा राखेर अदालतमा पनि उपस्थित नगराएको उनको आरोप छ ।

Advertisement

ट्राभल एजेन्सीको अनुरोधमा १५ दिनपछि चौकीले आफूलाई छोडिदिएको उनले सुनाए । सो दुर्घटनामा प्रहरीले आफूलाई कुनै मुद्दासमेत नलगाएको उनको दाबी छ । पीडित महतका अनुसार प्रहरीको हिरासतबाट मुक्त भएपछि आफूलाई गैरकानुनी थुनामा राखेको भनी उनले मानव अधिकार आयोग, गण्डकीमा उजुरी दिएका थिए ।

पीडित महतका अनुसार अहिले उक्त उजुरी फिर्ता लिन भन्दै प्रहरीले फोन गरेर टर्चर दिइरहेको छ । प्रहरीले आफूलाई ‘एक दिन नियन्त्रणमा लिएर छोडेको हो भन, उजुरी फिर्ता लेउ’ भनेर दवाब र धम्कीपूर्ण फोनहरु आउने गरेको उनले सुनाए ।

Advertisement

वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नावय उपरीक्षक (डिएसपी) सन्तोष निरौलाले महतलाई दुर्घटनापछि नियन्त्रणमा लिएको रेकर्ड कार्यालयमा रहेको बताए । आफू त्यसभन्दा पछि इन्चार्ज भएर आएको बताउँदै उनले अन्य कुरा थाहा नभएको सुनाए । ‘कार्यलयको रेकर्डमा उनलाई दुर्घटनापछि नियन्त्रणमा लिएको देखिन्छ । म त्यसभन्दा पछि कार्यालय प्रमुख भएर आएको हो । बाँकी कुरा अहिले थाहा भएन,’– डिएसपी निरौलाले भने ।

तपाईको प्रतिक्रिया