मुक्ति समाज गण्डकीद्वारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र, एमाले गण्डकीलाई ध्यानाकर्षण

समाधान संवाददाता २०८१ असोज १४ गते १८:५१

पोखरा । नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकीले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसमक्ष १४ बुँदे माग समेटिएको ज्ञापन पत्र बुझाएको छ । गण्डकी प्रदेश कमिटी अध्यक्ष निर्मल दियालीले प्रत्यक्ष मागपत्र पढेर सुनाए भने केन्द्रीय सचिव गण्डकी प्रदेश इन्चार्ज धनबहादुर नेपालीले दलित अधिकार सम्बन्धी विधेयक मस्यौदा पेस गरे ।

Advertisement

मुक्ति समाज केन्द्रीय कमिटी अध्यक्ष मनोहर बी पौडेलको आतिथ्यतामा गएको प्रतिनिधि मण्डलबिच अध्यक्ष पौडेलले संविधानमा उत्पीडित दलितका हक अधिकार लेखिए पनि व्यवहारमा लागू नभएको, विभेदका घटनामा न्याय पाउन नसकेको अवस्था एवं राज्यको विभिन्न तहमा समानुपातिक समावेशिता नभएको प्रष्ट पारे ।

ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकार दलित अधिकारका लागि दलित अधिकार विधेयक ल्याउन तयारी गरिरहेको र कानून बनाएर अघि बढ्न संकल्प प्रस्ताव अघि सारेको बताए । अहिले पनि समाजमा विभेदजन्य घटना घट्नु सभ्य समाज र लोकतान्त्रिक मुलुकका लागि अशोभनिय भएको र कानुन विपरित हुने विचार व्यक्त गरे । ज्ञापनपत्रलाई गण्डकी प्रदेश सरकारले भविष्यमा कार्यान्वयन गर्दै जाने विचार व्यक्त गरे ।
त्यसैगरी सोही टोलीले नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मालाई पोखरा न्यूरोडस्थित गण्डकी प्रदेश कार्यालयमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टी अध्यक्ष शर्माले ध्यानाकर्षण पत्रले पार्टीलाई महत्वपूर्ण सुझाव मिलेको चर्चा गर्दै सबैखाले विभेद विरुद्ध लडाई जित्दै राष्ट्र विकास र समृद्धिमा पुग्ने विचार राख्दै हरेकले मानसिकताबाट विभेदकारी सोच हटाउन जरुरी भएको बताए ।

Advertisement

प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, उपसचिव दामबहादुर विकले प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे ।

ज्ञापनपत्रमा मन्त्रिपरिषदमा दलित मन्त्री समावेश गरिनुपर्ने, उत्पीडित दलित विद्यार्थीमा सहुलियत, उत्पीडित दलितलाई सिपवान बनाउने र व्यवसायमा आधुनिकीकरण गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, राजनीतिक नियुक्तिमा प्राथमिकता दिनुपर्ने लगायतका सवाल समावेश रहेका छन् ।

Advertisement

ज्ञापनपत्र बुझाउने प्रतिनिधिमा मुक्ति समाज केन्द्रीय अध्यक्ष मनोहर वि पौडेल, गण्डकी प्रदेश सांसद गोविन्द नेपाली, सांसद नन्दकला नेपाली, मुक्ति समाज केन्द्रीय सचिव धन बहादुर नेपाली, स्थायी समिति सदस्य लाल बहादुर परियार, केन्द्रीय सचिवालय सदस्य प्रेम वि.क. सहित केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहकारहरु, केन्द्रीय विभाग सदस्यहरु, मुक्ति समाज प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, जनप्रतिनिधिहरु, महानगर अध्यक्ष लगायत मुक्ति समाज कास्कीका अग्रजहरु सहभागी थिए ।
मुक्ति समाजका सातवटै प्रदेश कमिटीहरुले प्रदेश सरकार समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश कमिटीले प्रदेश सरकार समक्ष ज्ञापनपत्र बुझाइसकेका छन् ।

तपाईको प्रतिक्रिया