२ वर्षको बसपार्क ठेक्का ७ महिनामै रद्द

समाधान संवाददाता २०८१ असोज २१ गते १९:२२

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकाले गाउँपालिका अन्तर्गत संञ्चालनमा रहेको २ वटा बस पार्कको ठेक्का सम्झौता तोडेको छ । घरपझोङ गाउँपालिकाको आईतबार बसेको कार्यपालिका बैठकले बस पार्क ठेक्का लिने दोश्रो पक्षले सम्झौता शर्त अनुसार भाडा बुझाउन नसकेको उल्लेख गर्दै दोश्रो पक्षसंग गरेको जोमसोमको २ बस पार्क सञ्चालनको ठेक्का सम्झौता रद्द गरेको जनाएको छ ।

यसअघि मुस्ताङको घरपझोङ गाउँपालिका गाउँपालिकाको वडा नं. ३ र ४ मा निर्माण सम्पन्न भएको २ बस पार्क संञ्चालन तथा व्यवस्थापनका लागि २०८० ।०८र१२ गते सिलबन्दी दरभाउपत्रको सूचना प्रकाशित गरेको थियो । प्रकाशित गाउँपालिकाको सूचना अनुसार ठेक्का सम्झौता गर्दा घरपझोङ—४ का स्थानीय सुरेश शेरचनले वार्षिक २० लाख २५ हजार गाउँपालिकालाई बुझाउने शर्त बमोजिम बस पार्क संञ्चालन तथा व्यवस्थापनको जिम्मा लिए । त्यस समय बस पार्क ठेक्का लिने स्थानीय शेरचनले घरपझोङ बस पार्क संञ्चालन तथा व्यवस्थापन सम्वन्धि कार्यविधि २०८० बमोजिम ३ महिनाको बस पार्क अंग्रिम गाउँपालिकालाई बुझाउनु पर्ने र ३ महिनाको अंग्रिम भाडा बमोजिक एक महिना कटेमा गाउँपालिका आफैले ठेक्का सम्झौता रद्द गर्न सक्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सोही सम्झौता बमोजिम २ वर्षका लागि बस पार्क ठेक्का लिएका शेरचनले सुरुवाती ३ महिनाको एकमुष्ट भाडा धरौटी ५ लाख ५ हजार २२५ रुपैया र सम्झौता अवधि २ वर्षको भाडाको ५ प्रतिशत हुन आउने रकम २ लाख २ हजार ५ सय रुपैया गरी ७ लाख ८ हजार ७५० रुपैया गाउँपालिकालाई बुझाए ।
२०८०।१२।१५ गते घरपझोङमा अवस्थित २ बसपार्कको व्यवस्थापन तथा संञ्चालनको जिम्मा लिने ठेक्का सम्झौता दुई पक्षिय सम्झौता भएको थियो । सम्झौतामा गाउँपालिकाले बस पार्क संञ्चालन तथा व्यवस्थापनका लागि न्यूनमत पूर्वाधारको व्यवस्थापन गर्ने र बस पार्क सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने भनीएको थियो । यसै प्रयोजनार्थ गाउँपालिकाले बस पार्क कार्यान्वयनलाई प्रभावकारी बनाउन २ जना नगरप्रहरी समेत भर्ना गरेको थियो । गाउँपालिकाका कर्मचारी,जनप्रतिनिधि,प्रहरी ,प्रशासन,यातायात व्यवसायी र आम सरोकारवालाहरुबिच पटक पटक छलफल तथा अन्तरक्रिया समेत भएको थियो । यतिसम्मकी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी लगायतको टोली बस पार्क कार्यान्वयनका लागि यातायात व्यवसायीसंग सहजीकरण तथा आफै फिल्डमा खटिएर लागे । गाउँपालिकाले ठेक्का सम्झौता गर्ने व्यक्तिकोे माग अनुसार बिद्युत ,सिसी क्यामेरा र खान्ेपानी लगायतका पूर्वाधार समेत गाउँपालिकाले व्यवस्थापन गरिदियो ।
घरपझोङका २ बसपार्कको आवश्यकीय भौतिक संरचना निर्माण तथा बस पार्क संञ्चालन तथा व्यवस्थापका सेवा सुविधाको पहुँच स्थापित गाउँपालिकाले गरिदा समेत ठेक्का सम्झौता गर्ने व्यक्ति शेरचनले नियमित रुपमा बस पार्क संञ्चालन गर्न पहल नगरेको गाउँपालिकाको भनाई छ । त्यसो त ठेक्का सम्झौता गर्ने व्यक्ति शेरचनले बस पार्क संञ्चालन तथा व्यवस्थापन कार्यविधिका शर्त अनुसार ३ महिना कटेर लामो समय बितिसक्दा समेत त्यस उपरको भाडा गाउँपालिकामा दाखिला नगरेको उल्लेख छ ।
गत चैत्र १५ गतेदेखि लागु हुने बस पार्कको ठेक्का लिएका शेरचनले रितपूर्वक बसपार्कको भाडा अपडेट नगरेको उल्लेख गर्दै बस संञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० को बुदाँ ५ मा उल्लेख भएअनुसार गाउँकार्यपालिकाको बैठकले आईतबार दोश्रो पक्षसंग ठेक्का सम्झौता रद्द गरेको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । उनले बसपार्क कार्यान्वयनमा सम्वन्धित व्यक्तिले चाँसो नदिएको र भाडा पनि नबुझाएकाले पूर्व बस पार्क ठेक्का सम्झौता रद्द गर्नु परेको उल्लेख गरे ।
घरपझोङले २ वर्षका लागि २ बसपार्कको ठेक्का लगाएकोमा ७ महिना नबित्दै बसपार्कको ठेक्का सम्झौता रद्द भएको हो । गाउँपालिकाको अभिलेख अनुसार बस पार्क ठेक्का लिएका शेरचनले गत चैत्र १५ देखि हालसम्मको बुझाउनु पर्ने भाडा १० लाख ४० हजार ६२५ र १० प्रतिशत जरिवाना रकम गरी कुल ११ लाख ४४ हजार ६८८ रुपैया देखिन्छ । उक्त रकममा ठेक्कावाला शेरचनले ठेक्का सम्झौता वापत बुझाएको ७ लाख ८ हजार ७५० बाट असुल उपर गर्ने र अपुग रकम ४ लाख ३५ हजार ९३८ रुपैया कानुन बमोजिम असुल उपरको प्रकृया बढाउने गाउँपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
यता , घरपझोङको २ बसपार्कको ठेक्का लिएका स्थानीय शेरचनले २०८१।०५।०६ गते एकपक्षिय रुपमा आफुले ठेक्का सम्झौता रद्द गरेको स्वघोषणा पत्र गाउँपालिकामा पेश गरेका थिए । बसपार्क ठेकेदार शेरचनले गाउँपालिकाले ठेक्का सम्झौता अनुसार गाउँपालिकाले बस पार्कका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापनमा असहयोग गरेको आरोप लगाएका छन् । उनले बस पार्क संञ्चालन तथा व्यवस्थापनका लागि आफुहरुलाई गाउँपालिकाले असहयोग गरेको र त्यसले गर्दा आर्थिक क्षति हुन पुगेको स्वघोषणा पत्रमा उल्लेख गरेका छन् । उनले बसपार्कको जिम्मा आफुले लिएको तर गाउँपालिकाको असहयोगलाई आर्थिक क्षति भएको र त्यसको क्षतिपूर्ती गाउँपालिकाले व्यवहोर्नु पर्ने पत्रमा उल्लेख गरेका छन् ।

घरपझोङ ३ एक्लेभट्टीमा गाउँपालिका आफैले ४८ लाख लागतमा बसपार्क निर्माण गरेको थियो । घरपझोङ —४ जोमसोममा सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले एकिकृत पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ५० वटा बस अट्ने क्षमताको बसपार्क निर्माण गरेको थियो । झन्डै ३ करोड बढी लागतमा निर्माण भएको जोमसोम बसपार्क सघन सहरी विकास तथा भवन निर्माण कार्यालय बाग्लुङले घरपझोङ गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।
यही २ बसपार्कलाई समुचित रुपमा संञ्चालन तथा व्यवस्थापन गर्ने र सदरमुकाम जोमसोमको अव्यवस्थित पार्किङलाई व्यवस्थित तुल्याउने गरी गाउँपालिकाले २ बसपार्क ठेक्का लगाएको थियो । बसपार्क ठेक्का लगाएपछि विभिन्न सवारी साधनको पार्किङ शुल्क तय गरिएको थियो भने बसपार्क भित्र आधा दर्जन यातायात व्यवसायीका टिकट बुकिङ काउन्टर स्थापना गरिएको थियो ।
गाउँपालिकाले २ बसपार्कको ठेक्का रद्द गरेसंगै सदरमुकाम जोमसोममा सवारी व्यवस्थापन थप चुनौती बनेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया