फूलपातीमा सराङकोटमा सरुन खेल हुने

समाधान संवाददाता २०८१ असोज २३ गते ९:०४

पोखरा । पोखरा–१८, सराङकोटमा सरुन खेल र विशेष फूलपाति बढाइ कार्यक्रम हुने भएको छ ।

Advertisement

नेपालको इतिहास राज्य एकीकरणमा युद्धकौशलसँग जोडिएको सरुन नाचलाई खेलको रुपमा करिब ७ सय वर्ष पुरानो शाहबंशीय राजा कुलमण्डल शाहको पालादेखि गरिँदैआएकोमा क्षत्री समाज नेपाल पोखरा १८ को अगुवाइमा पुन सक्रिय पारिने भएको हो ।

सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीले नेपालको ऐतिहासिक सँस्कृति संरक्षणमा नयाँ पुस्तालाई सहभागी गरिने उद्देश्यसहित यस पालिदेखि निरन्तरता दिन लागिएको बताए ।

Advertisement

पूर्वपश्चिम उचाइ भएको सराङकोट हतियार भण्डारण क्षेत्रको रुपमा परिचित रहेको मानिन्छ । हाल सराङकोटमा विशाल शिव मन्दिर पञ्चमुखी गणेशको मूतिसँगै परापूर्वकालदेखि मानिँदैआएको भूमे कालिका देवी भैरव, चण्डी मन्दिरको पुनर्निर्माण भैसकेको छ । हालसम्म ३० करोड खर्च भएको र भ्यूटावरले पर्यटकलाई आकर्षण दिइरहेको छ ।

क्षत्री समाज नेपालका महासचिव कृष्णबहादुर थापाले नेपालको संस्कृति परम्परा सबै जातिभन्दा माथि रहेकाले सरुन खेललाई धार्मिक पर्यटनसँग जोडी युवापुस्तालाई सहभागी गराउन सके सराङकोटको पहिचान विश्वमाझ थप परिचित हुने अपेक्षा गरे ।

Advertisement

फूलपाति बढाइलाई पुन सक्रिय गराई विजयदशमीको फूलपाती अर्थात २४ असोजमा सराङकोट क्षेत्रमा विशेषरुपले मनाइने योजना रहेको पोखरा १८ का अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले बताए ।

क्षत्री समाज नेपाल पोखरा १८ सराङकोट अध्यक्ष अमरबहादुर थापा पनि इतिहासको खोजीसँगै सबै जातिको सहभागितामा सरुन नियमित गर्दै संरक्षण गरिने योजना रहेको बताउँछन् ।

कार्यक्रम सफल पार्न पोखरा १८ मा रहेका सामाजिक, धार्मिक संघसंस्था समेटी बृहत् आयोजक समिति गठन गरिएको छ ।

सराङकोटका १० देखि ७० वर्ष उमेर समूहका गरी ५० जनाले भाग लिएको सरुन खेल प्रशिक्षणलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया