साङ्तामा सञ्चार पहुँच पुर्‍याइँदै

समाधान संवाददाता २०८१ कार्तिक १ गते १६:१५

जोमसोम ।
हिमाली जिल्ला मुस्ताङ र डोल्पाको सिमावर्ती गाउँ साङ्तामा सञ्चारको पहुँच स्थापित हुने पक्का भएको छ । नेपाल दूरसञ्चार प्राविधिकरण अन्तर्गत नेपाल टेलिकमको समन्वयमा मुस्ताङको अति दुर्गम बस्ती साङ्तामा सञ्चारको पहुँच स्थापित गर्ने तयारी गरिएको हो ।

Advertisement


वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङको पहलमा नेपाल टेलिकमले साङ्ता गाउँमा सञ्चारको पहुँच पु¥याउन हालै प्रारम्भिक सम्पन्न गरेको जनाएको छ । यसका लागि नेपाल टेलिकमले वारागुङ ५ को घिउँला डाँडामा रहेको माइक्रो वेभ रेडियो लिंकको रिपिटर टावरबाट साङ्ता गाउँमा टेलिफोन तथा थ्रिजी इन्टरनेट चलाउनका लागि बेस्ट ट्रान्समिसन स्टेसन (बिटीएस) सँगको सेटलाइट रेडियो लिंक छनोट गर्न थप एक रिपिटर टावर स्थापना गरिने जनाइएको छ ।


नेपाल टेलिकम जोमसोमका प्राविधिक उदयबहादुर पुर्जाले साङ्ता गाउँमा टेलिफोन सेवा पुर्‍याउन सर्भे पूरा भएको बताए । उनले साङ्तामा बिटिएस टावर्मार्फत सञ्चारको पहुँच जोड्न साङ्ता गाउँ र घिउला डाँडाको बिचमा माइक्रो वेभ रेडियो लिंकको रिपिटर टावर राख्ने निर्णय भएको जनाए ।

Advertisement


साङ्ता गाउँमा बिटिएस टावरको लिंक जोड्नका लागि बिचको स्थानमा सञ्चार उपकरण राख्ने रिपिटर गृह आवश्यक पर्ने छ । यस्तै, साङ्ता गाउँमा बिटिएस टावरका लागि बिटिएस उपकरण व्यवस्थापन गर्न बिटिएस गृहको भौतिक सञ्चार आवश्यक पर्दछ ।


यसै प्रयोजनका लागि वारागुङ ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङको पहलमा स्थानीय नागरिक साङ्ता र घिउँला डाँडाबिचको स्थानमा रेडियो लिंकको रिपिटर टावर गृह निर्माणमा जुटेका छन् । रिपिटर टावर गृह निर्माणको काम स्थानीय जनश्रमदानबाट अन्तिम चरणमा पुगेको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

Advertisement

साङ्ता र घिउँला डाँडाबिचको स्थानमा रेडियो लिंकको रिपिटर टावर बनाउन स्थानीय जनश्रमदान गरिरहेका छन्


रिपिटर टावर गृह अन्तिम चरणमा पुगेको र त्यसपछि तत्कालै साङ्ता गाउँमा पनि बिटिएस टावर गृह निर्माणको प्रक्रिया सुरु गरिने बताए । मुस्ताङको ९६ वटा गाउँ बस्तीमध्ये मुस्ताङको साङ्ता गाउँमा सञ्ञ्चारको पहुँच स्थापित हुन सकेको छैन ।


गाउँमा टेलिफोन र इन्टरनेट सुविधा जोडिने भएपछि त्यहाँका स्थानीय निकै उत्साहित छन् । वडाध्यक्ष गुरुङ भन्छन्, ‘साङ्तामा सञ्चार सुविधा स्थापित हुने भएकाले स्थानीय नागरिक खुसी भएका छन् । त्यसका लागि स्थानीय स्वतःस्फूर्त श्रमदान गर्न लागेका छन् ।’


भौगोलिक रुपले अत्यन्तै विकट साङ्ता गाउँ मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्र अन्तर्गत पर्दछ । नेपालकै पछि पत्ता लागेको कान्छो गाउँ भनिएको साङ्ता गाउँमा नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्रै सञ्चारको पहुँच स्थापित गर्ने गरी पहल अघि बढाएको छ । साङ्ता गाउँ र उपल्लो डोल्पाका नागरिकलाई मुस्ताङ आउजाउ गर्दा आवश्यक पर्ने सञ्चारको सुविधा नहुँदा त्यस क्षेत्रका स्थानीय इन्टरनेट र टेलिफोन सुविधाबाट बञ्चित थिए ।


नेपाल टेलिकमले रिडियो लिंकमार्फत साङ्तामा बिटिएस प्रविधिमार्फत सञ्चार सुविधाको पहुँच जोड्न पहल गरेकाले त्यहाँका स्थानीयले न्यूनतम रुपमा प्राप्त गर्ने सञ्चार सुविधाको उपयोग गर्न पाउने पक्का भएको हो । साङ्ता गाउँमा ३ महिनाअघि मात्रै १० किलोवाट क्षमताको सौय ऊर्जा पुगेको छ ।


गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले मुस्ताङको साङ्ता गाउँमा सोलार जडान गरेर त्यहाँका १३ घुरधुरीलाई लक्षित गरी विद्युतीकरण गरेको उनले बताए । सौर्य ऊर्जा जडानका लागि आवश्यक उपकरण व्यवस्थापन गर्न गाउँपालिकाले सौर्य ऊर्जा विद्युत गृह निर्माण गरेको वडाध्यक्ष गुरुङको भनाइ छ ।


गत वर्षसम्म मुस्ताङको साङ्ता गाउँमा विद्युत र सञ्चारको पहुँच नहुँदा त्यहाँका नागरिक अन्धकार बस्नुपर्ने अवस्था थियो । साङ्तामा सौर्य ऊर्जा जडानपछि त्यहाँका नागरिकले बिजुलीबाट केही सहजता महसुस गरेका छन् ।


वडाध्यक्ष गुरुङले आफू निर्वाचित भएपछि साङ्ता गाउँमा विद्युत र सञ्चारको पहुँच स्थापित गर्न अहोरात्र जुटिरहेको सुनाए । साङ्ता गाउँमा १३ घरधुरी छन् । भौगोलिक विकटता र कम जनसंख्या भएकै कारण यहाँका बासिन्दालाई आवश्यक पर्ने विद्युत र सञ्चारको सुविधा पु¥याउन कठिना परेको थियो । मुस्ताङबाट उपल्लो डोल्पाको पदमार्गसमेत रहेको साङ्ता गाउँमा संघीय सरकारले पछिल्लो ५ वर्षदेखि डोल्पा जोड्ने कच्ची सडक विस्तार गरिरहेको छ ।

तपाईको प्रतिक्रिया