फूलबारीमा समाजसेवी अधिकारीको श्रद्धाञ्जली सभा

समाधान संवाददाता २०८१ कार्तिक २ गते १६:५१

पोखरा । कास्कीको कालिका चितेपानीबाट बसाइँ सरेर पोखरा ११ फूलबारीमा बस्दै आएका गोविन्दप्रसाद अधिकारीको १३ औं दिनको पुण्यतिथिकिा अवसरमा शुक्रबार श्रद्धाञ्जली सभा गरिएको छ । अधिकारी परिवार र उमानाथ प्रतिष्ठानको संयुक्त आयोजनामा दिवंगत अधिकारीको निवास फूलबारीमा श्रद्धाञ्जली सभा गरिएको हो ।

Advertisement

गोविन्द अधिकारीले समाजका लागि पु¥याएको योगदान, उनको नातागोत र कुलकुटुम्बसँगको सम्बन्ध, टोल छिमेकप्रतिको लगाव लगायत विषयमा उक्त अवसरमा परिचर्चा गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसीले अधिकारी दुखमा आत्तिने र सुखमा नमात्तिने स्वभावको रहेको भन्दै स्मरण गरे । शीतलादेवी मावि पोखराका प्रधानाध्यापक बाबुराम अधिकारीले दिवंगत अधिकारीको जीवनी र व्यक्तित्वका बारेमा चर्चा गरे ।

ज्ञानेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २८ की जनप्रतिनिधि एवं प्रगति टोल विकास समिति फूलबारीकी पूर्व अध्यक्ष डाल्डादेवी भुजेलले अधिकारीको स्मृतिमा रचेको कविता गिती लयमा वाचन गरिन् । उक्त अवसरमा माधव बास्तोला, वन अधिकृत हरि गौतम, मोदी ५ का वडाध्यक्ष हुमनाथ अधिकारी, निर्मलप्रसाद गौतम, मुक्ति अधिकारी, उमानाथ प्रतिष्ठानका सदस्य एवं शिक्षासेवी रत्नमान गुरुङ, रुद्र अधिकारी लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement

अधिकारीका छोरी ज्वाइँ उमानाथ प्रतिष्ठानका संस्थापक एवं वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलले मृत्यु संस्कार प्रक्रियालाई छरितो बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले सासुआमा बाटुली अधिकारीको स्मृतिमा बाटुली स्मृति कोष स्थापना गरिएको जानकारी दिए । १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित सुरु गरिएको कोषमा अधिकारीका जेठा छोरा चुडामणिले अहिले ५० हजार रुपैयाँ थप गरेको वरिष्ठ अधिवक्ता पौडेलले जानकारी गराए ।

विसं १९९४ मंसिर २० मा जन्मेका अधिकारीको असोज २० गते निधन भएको हो । उनका २ छोरा, २ छोरी छन् । पत्नी बाटुलीको निधन भइसकेको छ । जेठा छोरा चुडामणि र बुहारी निर्मला अधिकारी परिवारसहित अस्ट्रेलिया बस्दै आएका छन् । कान्छा छोरा ऋषिराम पोखराकै जनप्रिय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हुन् । कान्छी बुहारी हरिमाया शिक्षण पेसामा छन् । जेठी छोरी पिमला अधिकारी अधिवक्ता हुन् भने जेठा ज्वाइँ मुकुन्द शर्मा पौडेल वरिष्ठ अधिवक्ता एवं त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन् । कान्छी छोरी कमला पौडेल र ज्वाइँ सूर्यप्रसाद पौडेल हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया