भरतपोखरीमा देउसीभैलो स्पर्धा

पोखरा ।
नेपालीको महान चाड तिहारको अवसरमा भरतपोखरी विकास मञ्चको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानमा खुला देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान कार्यक्रम भएको छ । तिहारको अवसरमा परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने उद्देश्यका साथ सातौं संस्करणको प्रतियोगिताको आयोजना गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले बताए ।
प्रतियोगितामा अन्तर्गत देउसीभैलोमा सरस्वती सिस्ने महिला समूह प्रथम, सरस्वती टीका माध्यमिक विद्यालय द्वितीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशु कल्याण माध्यमिक विद्यालय खल्याण गण्डकीबेसीले सान्त्वना स्थान प्राप्त गरेका छन् । विजयी हुने समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्रबाट सम्मान गरियो ।
पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी तथा भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बराल लगायतले उनीहरुलाई पुरस्कृत गरेका हुन् । एकल नृत्यतर्फ स्वतिका आचार्य प्रथम, शिरिषा मल्ल ठकुरी द्वितीय, बिपासा विक तृतीय र सुनिता अधिकारीले सान्त्वना स्थान प्राप्त गरेका छन् । विजयी हुनेलाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद सहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा देउसीभैलोतर्फ ११ समूह तथा एकल नृत्यतर्फ १४ जनाको सहभागिता थियोे ।
कार्यक्रमकै अवसरमा नेपाली मौलिक कला सहित्य संगित र अभिनयका लगायतका क्षेत्रमा संलग्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । जस अन्तर्गत गण्डकी साहित्य संगमका अध्यक्ष साहित्यकार भीम रानाभाटलाई साहित्यिक क्षेत्रमा, सनिशा भट्टराईलाई अभिनयका क्षेत्रमा, चेस खेलाडी पूजा भण्डारीलाई राष्ट्रिय एवं अन्तराष्ट्रिय चेस खेलाडीका रुपमा र युवा कलाकार सुरेशमल्ल ठकुरी (टुकी) लाई गायन एवं सांगीतिक क्षेत्रमा योगदान पुर्याएकोमा सम्मान गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय लोक दोहरी गायक तुलसा क्षेत्री, रामजी पौडेल, शिवहरि ढुंगाना, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेश सदस्य रामप्रसाद ढकाल र रमा गौतमका विभिन्न सांगीतिक प्रस्तुति रहेको कार्यक्रम संयोजक चेतबहादुर महतले जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्ष अधिकारीले भरतपोखरी विकास मञ्चले सामाजिक तथा मानवीय सेवाका साथै मौलिक कला, संस्कृति र साहित्यिक विकासमा योगदान गर्ने स्रस्टाहरुको सम्मानका लागि खेलेको भूमिका अनुकरणीय भएको बताए ।
सो अवसरमा कार्यक्रम संयोजक चेतबहादुर महत र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेश सदस्य रामप्रसाद ढकाल, कार्यसमिति सदस्य विजया भण्डारी, सहयोगदाताहरूको तर्फबाट टुल्कनाथ आचार्य, संस्थाका सल्लाहकारहरु केशरप्रसाद निर्दोषी लगायतले बोलेका थिए ।
उक्त अवसरमा सचेतनामुलक लागुऔषध दुव्यर्सनी नियन्त्रण एवं डेङ्गु रोग नियन्त्रण विषय सचेतना गराइएको थियो । मञ्चले पोखराका ग्रामीण क्षेत्रलाई केन्द्रित गरी छिट्टै ऐम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
तपाईको प्रतिक्रिया